रञ्जन अधिकारी पोखरा, १५ माघ / दुई दिन अघि मात्रै इटहरी गोल्डकप जितेको थ्रीस्टारले पोखरा आएर सुखद सुरुवात गरेको छ । यद्यपी, उसलाई सशस्त्रको एपीएफ विरुद्ध सहज जित निकाल्न भने मुस्किल प¥यो । १६ औं आहा रारा गोल्डकपमा सिधै क्वार्टरफाईनल खेलेको थ्रीस्टारले एपीएफलाई टाईब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । इटहरी कपमा समेत थ्रीस्टारले सेमिफाईनलमा आर्मीलाई पेनाल्टीमै हराउँदै फाइनलमा मनाङसँग खेलेको थियो ।
चार पटकको विजेता थ्रीस्टारले फाइनल प्रवेशका लागि बिहीबार उत्तर बरिन्धरा क्लब बंगलादेशसँग पहिलो सेमिफाइनलमा माघ १७ गते प्रतिष्पर्धा गर्नेछ । पोखरा रंगशालामा निर्धारित ९० मिनेट र थपिएको २० मिनेटको समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल पेनाल्टी टाइब्रेकरतर्फ धकेलिएको थियो ।
पेनाल्टी सुटआउटमा थ्रीस्टारका पाँचै जनाले गोल गरे भने एपीएफका राजेन्द्र रावल चुके । दोस्रो क्रममा पेनाल्टी हानेका उनलाई विपक्षी गोलकिपर एलन न्यौपानेले विफल पारे । न्यौपाने खेलमा म्यान अफ द म्याच समेत बने । थ्रीस्टारका तर्फबाट रञ्जित धिमाल, निराजन खड्का, सुनिल बल, विक्रम लामा र विजय धिमालले गोल गरे । एपीएफका अञ्जन बिष्ट, नविन लामा र रञ्जन बिष्टले जाली चुमाए ।
थ्रीस्टार वर्क परमिट नभएपछि ३ विदेशी खेलाडी बिना नै मैदानमा उत्रिएको थियो । भरपर्दा स्ट्राइकर बिमल घर्ती मगर समेत भारतको मोहन बगानसँग आबद्ध भएपछि इटहरी गोल्डकप खेलेर सिधै कलकत्ता उडिसकेका छन् । थ्रीस्टारले गोल गर्न पाएको प्रशस्त अवसर सदुपयोग गर्न सकेन भने एपीएफले पनि उत्तिकै अवसर खेर फाल्यो ।
पोष्ट म्याच कन्फरेन्समा बोल्दै थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले वर्क परमिट नभएपछि ३ विदेशी खेलाडीलाई खेलाउन नपाउँदा खेल कठिन भएको बताए । थ्रीस्टारले आफ्नो खेल प्रदर्शन गर्न नसकेको स्विकार्दै उनले बिमल नभएपनि बाँकी विदेशी खेलाडी गुमाउनु टीमका लागि भारी भएको बताए । इटहरीमा फाइनल लगत्तैको यात्रापछिको थकान पनि खेल्न नसक्नुको कारण भएको केसीको भनाई थियो । बंगलादेशी टीम विरुद्ध अर्को खेलमा वर्क पर्मिट नविकरण गरी विदेशी खेलाडीलाई मैदानमा उतार्ने उनको भनाई छ । एघारौं पटक उपस्थित थ्रीस्टार पाँचौं, नवौं, ११ औं र १३ औं संस्करणको विजेता टीम हो ।
एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले पहिलो हाफमा खेलाडीहरुबीच तालमेल नमिलेको र दोश्रो हाफमा थ्रीस्टार आक्रामक बन्दा आफूहरु दवाबमा पर्दा उत्कृष्ट खेल्न नसकेको बताए । आहारारा गोल्डकपमा यो सहित १२ औं पटक सहभागी एपीएफ लगातार तीन वर्ष पहिलो खेलबाटै बाहिरिएको थियो । यसपटक दोस्रो चरण पुगेपनि टाइब्रेकरमा थ्रीस्टारसँग स्तब्ध बन्दा अघिल्लो चरणको यात्रा बन्द भयो । छैटौं संस्करणको फाइनल खेलेको एपिएफको त्यो नै उच्चतम सफलता हो ।
मंगलबार अन्तिम क्वार्टरफाइनल खेलमा मनाङ मस्याङ्दी क्लब र विभागीय टोली नेपाल पुलिसबीच खेल हुनेछ । साविक विजेता मनाङले पुलिससँगै सर्वाधिक पाँच पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । क्याराभान सहित आहा रारा गोल्डकपमा मनाङले सबैभन्दा बढी १० पटक फाइनल खेलेको छ । क्याराभान सहित १७ वर्ष पुग्दा छैटौं र सातौं बाहेक यो सहित १४ पटक सहभागिता जनाएको मनाङ यसअघि एकपटक मात्र क्वार्टरफाइनल पुग्न सकेन । प्रायः सिधै बाइ पाएर उसले क्वार्टरफाइनलबाटै खेल्दै आएको छ ।
नेपाल पुलिसले क्याराभान सहित पाँच पटक उपाधि उचालेको छ भने तीन पटक उपविजेतामा चित्त बुझाएको छ । पुलिसले २०५८ मा क्याराभान पश्चात् २०५९ मा पहिलो संस्करण जितेको थियो । त्यसपछि लगातार २०६०, ६१ र ६२ मा फाइनल हारेका ेपुलिस २०६३ मापोखरा आएन र त्यसपछि तीन पटक लगातार २०६४, ६५ र ६६ मा उपाधि जित्न सफल भयो । १० औं र ११ औं मा पहिलो खेलमै आउट पुुलिस यसअघि १४ औं र १५ औं संस्करणमा पनि लगातार पहिलो खेलबाटै बाहिरिएको थियो । यस पटक भने पहिलो खेलमा झापा ११ लाई १–० ले हराउँदै मनाङ मस्र्याङ्दीसँगको भेट पक्का गरेको हो ।
आजको खेल
मनाङ मस्र्याङ्दी क्लब Vs नेपाल पुलिस क्लब
सम्बन्धित खबर
प्रथम पिंक सिटी महोत्सव कप: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने
तेश्रो बेगनास कप सुरु
तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता जारी
पोखरा– १४ मा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता आजदेखि
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम