तनावपूर्ण खेलमा बंगलादेशी क्लब विजयी, एकै खेलमा १० कार्ड, आजको खेल आर्मी Vs धरान

तनावपूर्ण खेलमा बंगलादेशी क्लब विजयी, एकै खेलमा १० कार्ड, आजको खेल आर्मी Vs धरान

Bangali

रञ्जन अधिकारी पोखरा, १३ माघ / तनावपूर्ण खेलमा सुदुरपश्चिम स्पोर्टिङ क्लब विरुद्ध २–१ गोलको जीत निकाल्दै पाहुना टोली उत्तर बरिन्धरा क्लब १६ औं आहा ! रारा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । अन्तिम समयमा एक पछि अर्को खेलाडी गुमाएको बरिन्धरालाई आगामी खेलमा असर पर्नेछ । अब बरिन्धराले माघ १५ गते हुने नेपाल पुलिस र थ्रीस्टार क्लबबीचको खेलको विजेतासँग माघ १७ गते खेल्नेछ ।

पोखरा रंगशालामा भएको निकै प्रतिष्पर्धात्मक खेलमा ७४ औं मिनेटमा मिडो मासाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । म्यान अफ दि म्याच समेत रहेका उनले सिल्ला सोन्लेमेनको पासमा फष्र्ट बार च्याप्दै गोल गरेका हुन् । चार मिनेटपछि नै सुदुरपश्चिमले बराबरी गर्ने मौका गुमाएपछि खेलमा नतिजा नै उल्टिएको हो । बंगलादेशका जिन्टु मोहम्मदले डिबक्स भित्र फाउल गरेपछि रेफ्री सुदीश पाण्डेले सुदुरपश्चिमलाई पेनाल्टी दिएका थिए । तर सब्स्टिच्युट खेलाडी पोखराकै धिरज गुरुङ पेनाल्टीमा चुके । गुरुङले किपरको दायाँ साइड च्यापेर गरेर फितलो प्रहार बंगलादेशका गोलकिपर ओसमान गोनीले सहजै नियन्त्रणमा लिए ।

त्यसपछि दबाबमा रहेको सुदुरपश्चिम विरुद्ध बरिन्धराले ८३ औं मिनेटमा अग्रता दोब्बर बनायो । पहिलो गोलका सहयोगी सिल्ला सोन्लेमेनले दोश्रो गरेका हुन् । विपक्षी डिफेन्सको कमजोरीको फाइदा उठाउँदै उनले मोनिर आलमको पासमा बललाई सिधै जाली चुमाए ।

सुदूर पश्चिमका लागि ८८ औं मिनेटमा विनोद केसीले सान्त्वना गोल गरे । पेनाल्टी बक्स भित्रबाट मनिराम चौधरीले निकालिदिएको पासमा बिपक्षी रक्षकलाई छलाएर उनले गोल गरेका थिए । खेलमा सुदुरपश्चिम हावी रह्यो तर स्कोर गर्ने आधा दर्जन बढी मौका गुमाउँदा यसपटक दोस्रो खेलबाटै बाहिरन बाध्य भएको हो । सुदूर पश्चिमले खेलको पाँचौं मिनेटदेखि नै गोल गर्ने मौका गुमाएको थियो ।

एकै खेलमा १० कार्ड

सम्भवतः एकै टीमका खेलाडीलाई यति धेरै कार्ड पहिलो पटक पोखरा रंगशालामा प्रयोग भएको छ । तनावपूर्ण खेलमा ८ पहेंलो कार्ड र २ रेड कार्ड प्रयोग भएको छ । श्रवण लामा चोटपछि १८ औं मिनेटमा बाहिरिएसँगै सो जिम्मेवारी लिएका रेफ्री सुदीशकुमार पाण्डेले बंगलादेशका ६ खेलाडीलाई पहेँलो कार्ड देखाउँदा यी मध्ये जनाले २ रातो कार्ड पाए भने सुदूरपश्चिमका २ खेलाडीले पहेंलो कार्ड व्यहोरे ।

दुई गोलले अग्रता लिएपछि सम्हालिनुपर्ने बंगलादेश उल्टै आक्रामक बन्यो । बल प्रहार गर्दा बिपक्षीलाई लडाउने तथा तान्ने गरेपछि रेफ्री पाण्डेले ९० मिनेटको निर्धारित समय सकिएर थपिएको ५ मिनेटको पहिलो मिनेटमा बंगलादेशका काण्डे लानसानेलाई दोस्रो पहेँलो कार्ड दिँदै मैदान बाहिर पठाए ।

काण्डेलाई रातो कार्ड दिएकोमा रिसाएका बंगलादेशी खेलाडी एक पछि अर्को गरी कार्ड पाए । गलत ट्याकल गरेपछि पहेँलो कार्ड ब्यहोरिसकेका सिल्ला सोन्लेमेनले अन्तिम इन्जुरी मिनेटमा रेफ्रीलाई अपशब्द बोलेपछि उनलाई सिधै रातो कार्ड देखाईएको थियो ।

लगातार दुई खेलाडीले लगातार रातो कार्ड पाएपछि बंगलादेशी खेलाडीहरुले विरोध जनाउँदै खेल छाड्ने चेतावनी दिए भने बंगलादेशी अफिसियल बिरोध जनाउँदै मैदान प्रवेश गर्ने प्रयास गरे । यो विवादले खेल नै रोकियो । विवादपछि ईन्जुरी समयमा थपिएको ५ मिनेटको खेल धेरै बेर खेलाएकाले बंगलादेशी खेलाडीको आपत्ति रह्यो ।

बंगलादेशका प्रशिक्षक महबुब आलम मनिकले खेल राम्रो भएपनि रेफ्रीले एकतर्फी खेल खेलाएको आरोप लगाए । केहि बोल्ने वित्तिकै वा सामान्य ट्याकलमा पनि कार्ड दिएर खेलाडीलाई उत्तेजित बनाएको उनको आरोप थियो ।

टीम कोओर्डिनेटर हसन अहमदले खेल राम्रो भएपनि अन्तिममा रेफ्रीले गलत निर्णय गरेको आरोप लगाए । उनले खेलाडीहरुले रेफ्रीलाई नराम्रो नगरेको तर रेफ्रीले गलत निर्णय गर्दा स्वभाविक रुपमा विरोध जनाएको दाबी गरे । पोखरामा पहिलो पटक आएको उक्त क्लबका पदाधिकारीले आफूहरुलाई चित्त नबुझेको गुनासो गरे । अब बंगलादेशी टीमका दुई मुख्य खेलाडी आगामी खेलमा हुनेछैन ।

सुदूर पश्चिमका प्रशिक्षक सुरेश हमालले खेल राम्रो खेलेपनि फिनिसिङ कमजोरीका कारण हार बेहोर्नुपरेको प्रतिक्रिया दिए । पेनाल्टी गुमाउँदा नै नतिजा ठ्याक्कै उल्टियो नि ? भन्ने प्रश्नमा उनले पोखराकै भएका कारण धिरज गुरुङलाई दिएको, बुबाआमा नभएको उदयीमान युवाले आफ्नो होमग्राउण्डमा छाप छाडोस् भन्ने मौका दिएपनि सदुपयोग नहुँदा दुःख नलागेको उनको भनाई थियो ।

प्रतियोगिता अन्तर्गत आइतबार दोश्रो क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लव र धरान फुटवल क्लब सुनसरीबीच प्रतिष्पर्धा हुनेछ । धरानको यो १४ औं सहभागिता हो । उसले पहिलो खेलमा पाहुना टोली युनाईटेड सिक्किम एफसीलाई ३–० गोलले पराजित गरेको थियो । आर्मी भने सिधै बाइ पाएर पहिलो खेल खेल्दैछ । गत वर्ष आयोजक सहारा क्लबसँग सेमिफाईनलमा टाईब्रेकरमा हारेको आर्मीको यो ११ औं सहभागिता हो । १४ औं, सातौं र आठौं संस्करणमा गरी आर्मीले तीन पटक फाईनल खेलेपनि उपाधि विमुख छ ।

आजको खेल
त्रिभुवन आर्मी क्लब र धरान फुटबल क्लब

Pic. Goalnepal.com

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ