पोखरा, ९ माघ / ट्राफिक तथा नेपाल प्रहरी सिठी फुक्दै आएपछि नयाँ बजारमा एकैछिन हंगामा नै भयो । भ्यान सँगै लिएर आएको प्रहरीले धमाधम मोटरसाइकल उठाउने तथा गाडीमा चेनलक गरेपछि आफ्ना सवारी साधन जोगाउन सोमबार नयाँबजारमा दौडधुप नै चल्यो ।
एक्कासी ट्राफिक तथा नेपाल प्रहरीले त्यसै यसो गरेको भने होइन । जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी कार्यालय र पोखरा महानगरपालिकाले संयुक्त रुपमा पोखराका फुटपाथ सफाचट पार्नका लागि यस्तो गरेको हो । पैदलयात्रुका लागि बनाइएको फुटपाथमा मोटरसाइकल तथा गाडी रोकेर कब्जा गरिएपछि धमाधम कारबाही थालिएको हो ।
‘पैदलयात्रु हिँड्नका लागि बनाइएको फुथपाथमा मोटरसाइकल तथा गाडी रोकेर कुरुप बनाइएपछि हामीले यो अभियान थालेका हौं,’ पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले भने । मोटरसाइकल तथा गाडीमात्रै होइन फुटपाथ कब्जा गरेर व्यापार गर्नेलाई समेत कडाइ गरिएको हो ।
पोखराका विभिन्न स्थानमा आफ्नो मोटरसाइकल तथा स्कुटर राखेर आआफ्नो काममा लाग्नेले यतिबेला हैरानी खेपिरहेका छन् । ‘बिहान आफ्नै अफिस अगाडि राखेर दिउँसो फर्किँदा मोटरसाइकल नै छैन,’ सहकारीका कर्मचारी शशी कोइरालाले भने, ‘हरायो भनेर हारगुहार गर्दै हिँडे । पछि थाहा पाएँ प्रहरीले पो लगेको रहेछ ।’
पोखराका मुख्य स्थानहरु पृथ्विचोक, सभागृहचोक, सिर्जनाचोक, नयाँबजार तथा न्युरोड र चिप्लेढुंगा आसपासमा फुटपाथ र नो पार्किङमा पार्क गरी राखिएका सवारी साधन उठाएर धमाधम चौकी लगिएको छ ।
बिना सूचना कारबाही गरिएको गुनासो
बिना सूचना प्रहरीले सवारी साधन उठाएर लगेको भन्दै पीडितले प्रहरी कार्यालयदेखि महानगरपालिकासम्म गुनासो लिएर पुगेका छन् । पहिलेदेखि नै पार्किङ गर्दै आइएको स्थलबाट बिना सूचना सवारी साधन हराउँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको नयाँबजारका रामबहादुर श्रेष्ठले बताए ।
आफ्नै अफिस अगाडिसमेत आफ्ना सवारी साधन रोक्न नदिएको भन्दै गुनासो महानगरपालिकासम्म पुगेको छ । पूर्वाधारको निर्माण नगरी बिना सूचना उठाउनु र जरिवाना तिराउनु कुनै विकल्प नभइ सर्वसाधारणलाई दुख दिने कार्य भएको उनीहरुको गुनासो छ ।
महानगरले नो पार्कीङ बोर्ड नराखेको, आवश्यक पूर्वसूचना नदिएको उनीहरुको गुनासो थियो । प्रहरीले भने सूचित गराउँदै आएको बताएको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख वसन्त शर्माले बिगत दुई तीन दिनदेखि नै प्रहरीले यसरी पार्कीङ नगर्न अनुरोध गरिरहेको र अटेर गरी पार्किङ गर्नेलाइ जरिवाना गरिएको बताए ।
पैदलयात्रु हिँड्ने फुटपाथमा सवारी साधन राख्नु हुँदैन भन्ने कुरा सूचित गराउने कुरा नभइ विवेक प्रयोग गर्नुपर्ने कुरा भएको प्रहरी नायव निरीक्षक सही शिव थापाले बताए ।
आफ्नै पसल तथा कार्यालयबाट सवारी साधन उठाउने तथा चेनलक हुन थालेपछि व्यवसायीहरु गुनासो लिएर महानगरपालिका पुगेका छन् । विकल्पसहित कारबाही थाल्न उनीहरुको माग छ ।
पोखरामा सडकै पार्किङस्थल ताकेर शुल्क उठाउने जिम्मा महानगरपालिकाले निजी कम्पनीलाई दिएको छ । ठेक्कामा दिइएको पार्किङलाई समेत व्यवस्थित बनाउन वान साइड पार्किङलाई जोड दिइएको छ ।
कुनै ठाउँमा मोटरसाइकलका लागि छुट्याइएको छ भने कुनै ठाउँमा मोटरसाइकलका लागि । तर, तोकिएको ठाउँभन्दा बाहिर पार्किङ गरे प्रहरीले कारबाही बढाएको छ ।
एकै दिन १ सय ९५ कारबाहीमा, डेढ लाख राजश्व
जिल्ला ट्राफिक प्रहरी कार्यालयले फुटपाथ तथा नो पार्किङ जोनमा रोक्ने झन्डै २ सय सवारी साधनलाई कारबाही गरेको छ । कतिपय सवारी साधनलाई उठाएर ट्राफिक तथा प्रहरी कार्यालय पुर्याएर कारबाही गरिएको थियो भने कतिपय तस्थानमै कारबाही गरिएको हो ।
कारबाहीमा परेका सवारी साधनबाट एकै दिन १ लाख ५३ हजार राजश्व संकलन भएको ट्राफिकमा सही शिव थापाले बताए । यसरी उठाएर लगिएका सवारी साधनमार्फत उठाएर लगेको २०० र जरिवाना शुल्क १००० रुपैयाँ लिने गरिएको छ ।
सोमबार १ सय ६५ सवारी साधनलाई कारबाही गर्दा १ लाख ३४ हजार राजस्व उठेको थियो । जुन सवारी साधन पार्किङ गर्न तोकिएको छ सोही ठाउँमा पार्किङ गर्न अनुरोध गर्र्दै नियम विपरित गरे आफूले छोड्न नसक्ने बताए ।
पोखराका फुटपाथ सबैभन्दा बढी व्यवसायीबाट कब्जा हुने गरेको छ । अटो क्षेत्रको रुपमा चिनिएको नयाँ बजारमा सोरुमका मोटरसाइकल राख्न फुटपाथ प्रयोग गरिने गरिएको छ ।
मोटरसाइकल तथा गाडीका बिक्रेता, गाडीका ग्यारेज लगायतले नयाँबजारको फुटपाथ बढी कब्जा हुँदा प्रदलयात्रुले सास्ती खेप्पु परेको हो । न्युरोड, चिप्लेढुंगा, सभागृहचोक लगायतका क्षेत्रमा पनि निर्माण समाग्री तथा विभिन्न व्यावसायिक प्रतिष्ठानले फुटपाथ कब्जा गर्दा हैरानी खेप्नु परेको हो ।
अहिले फुटपाथमा रोक्ने सवारी साधनलाई प्रहरी र फुटपाथमा राखिएका सामाग्रीलाई महानगरले उठाउन थालेको हो ।
पोखरामा सडकका फुटपाथ साना व्यवसायीले व्यापार थलो बनाएपछि पोखरा उपमहानगरपालिकाले सडकबाट हटाएर ठाउँ तोकेर व्यवस्थापन गरेको थियो । अहिले फेरि फुटपाथमा साना व्यापारीले कब्जा जमाउन थालेका छन् ।
मिटरमा नचल्ने ट्याक्सीलाई पनि कारबाही
ट्याक्सी मिटरमा चलाउने पर्ने नियम उल्लंघन गर्नेमाथि पनि प्रहरीले निगरानी बढाएको छ । प्रहरीले मिटरमा नचल्ने ट्याक्सीमाति दिनहुँ कारबाही गरिरहेको छ ।
पोखरामा केही दिनअघिमात्र ट्याक्सी मिटरमा चलाउने सहमति भए भएको थियो । तर, ट्याक्सी व्यवसायीले अटेरी गरिरहेका छन् । सोमबार प्रहरीले त्यस्ता ३ ट्याक्सीलाई पनि कारबाही गरेको छ । आइतबार पनि यस्ता तीन ट्याक्सी कारबाहीमा परेका थिए ।
समाधान दैनिकबाट
सम्बन्धित खबर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
पूर्व सहकारी रजिस्ट्रार पराजुली १ करोड ५ लाख घुस खाएको खुलेपछि फरार
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी