सहमति भो पोखराको बजार क्षेत्रमा मात्रै मिटरमा ट्याक्सी ! ट्याक्सी व्यवसायी भन्छन्ः शर्त छ, नमाने चलाउन्नौं

सहमति भो पोखराको बजार क्षेत्रमा मात्रै मिटरमा ट्याक्सी ! ट्याक्सी व्यवसायी भन्छन्ः शर्त छ, नमाने चलाउन्नौं

26229791_10156086596523336_8358774631823435900_n

रञ्जन अधिकारी पोखरा, २८ पुस । लामो समयदेखि प्रयास भएपनि लागू हुन नसकेको ट्याक्सी मिटर प्रणाली यसपटक पनि उपलब्धीमूलक नबन्ने देखिएको छ । प्रशासन र व्यवसायीबीच शुक्रबार ट्याक्सी मिटरमा सञ्चालन गर्ने सहमति त भयो तर ट्याक्सी व्यवसायीले यसलाई कार्यान्वयन गर्नेमा शंका देखिएको छ । व्यवसायीले आफ्ना पनि केहि शर्त रहेको जनाउँदै सो बमोजिम नभएको खण्डमा मिटरमा गुड्न बाध्य नहुने प्रतिक्रिया दिए ।

मंगलबारदेखि आन्दोलित ट्याक्सी व्यवसायीले प्रहरी प्रशासनको हस्तक्षेप भन्दै तीन दिन ट्याक्सी घर÷ग्यारेजमै थन्काए । समस्या समाधानका लागि विहीबार प्रशासनसँगको छलफल टुंगोमा पुगेन । दोस्रो बसाईंमा शुक्रबार दिउँसो शहरी क्षेत्रमा मिटरमा चलाउन ट्याक्सी व्यवसायी राजी भए । भाडा समायोजनको लागि यातायात व्यवस्था कार्यालय (गण्डकी) र जिल्ला प्रशासन कार्यालय कास्कीले सरकारसमक्ष सिफारिस गर्ने प्रक्रिया अघि बढाउने लिखित सहमति पनि भएको छ ।

ट्याक्सी व्यवसाय समिति पोखराका अध्यक्ष प्रकाशमणि तिवारीले ट्याक्सी मिटरमा चलाउन व्यवसायी राजी रहेको तर पूर्वाधारसँगै ट्याक्सी व्यवसायलाई मारमा पार्ने गरी भएका गलत हर्कत बन्द गर्न आफूहरुले स्पष्टताका साथ प्रशासनसमक्ष कुरा राखेको जनाए ।

‘लेकसाईडमा मोटरसाईकल भाडामा लगाईन्छ । पोखरा उपत्यका बाहिर पर्मिट लिएका जिपहरु यहीं गुड्छन् । काठमाण्डुदेखि चल्ने माईक्रो हाईसले बसपार्कमा छाड्ने हो तर घरघरमा पु¥याउँछन् । राता प्लेटका गाडीहरु भाडामा चल्छन् । यसले हाम्रो पेशालाई असर पुगेको छ ।’ उनले भने– ‘यी चार लगायत भाडा समायोजन, टु वे मिटरमा चल्न सक्ने बाटोको व्यवस्थाकै कारण हामीले घाटा व्यहोरेर सक्दैनौं भनेका हौं । प्रशासनले गर्न सक्ने चार वटा अवैधानिक काम बन्द गरोस् । भाडा समायोजन भएमा हामी मिटरमा चलाउँछौं ।’

शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंह सहित ट्याक्सी व्यवसाय समिति पदाधिकारीहरु, यातायात व्यवसाय प्रतिनिधि, यातायात कार्यालयका प्रतिनिधि, नागरिक समाज तथा पत्रकारका तर्फबाट प्रतिनिधि सहभागी थिए ।

मंगलबार १८ जना ट्याक्सी चालक पक्राउ गरेपछि बुधबार पोखराका पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक जस्ता मुख्य चोकहरुमा ट्याक्सी तेर्साएर आन्दोलन सुरु गरेका उनीहरुलाई प्रहरीले बलजफ्ती दिउँसो हटाएपछि विहीबार र शुक्रबार दिउँसो सम्म घरमै ट्याक्सी थन्काए । बुधबार थप १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । विहीबार बस व्यवसायीले समेत साथ दिँदै सार्वजनिक सवारी चलाएनन् ।

प्रहरीले यात्रु ठगी गरेको पाईए कारबाही गर्ने भन्दै जुनसुकै हालतमा मिटर ट्याक्सी चलाउनुपर्ने अडान राखेको थियो । सहमतिपछि पोखराका ट्याक्सी चल्न थालेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ