पोखरा । प्रदेश नम्बर ४ मा प्रत्यक्षको प्रतिनिधि सभा तथा प्रदेश सभा र समानुपातिककोसमेत स्याङ्जाबाहेक सबै जिल्लाको मत परिणाम आइसकेको छ । निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेसँगै प्रदेशमा कसको सरकार कसरी बन्छ ? भन्ने हिसाबकिताब र आंकलन भइरहेका छन् ।
प्रदेश नम्बर ४ को अहिलेसम्मको परिणाम हेर्दा कसको सरकार बन्दैछ ? भन्ने स्पष्ट भइसकेको छ । वाम गठबन्धनले ५१ प्रतिशत मत पाएकाले दुई तिहाइ बहुमतको सरकार बन्ने पक्का भइसकेको छ । समाधान दैनिकका लागि अमृत सुवेदीको न्युज छ ।
प्रदेश नम्बर ४ मा देशकै कान्छो जिल्ला नवलपुरसहित ११ जिल्ला छन् । यी जिल्लाका प्रत्यक्षतर्फ प्रदेश सभाका १७ सिटमा एमालेले कब्जा जमाएको छ भने दोस्रो ९ सिट माओवादी, ६ सिट जितेर कांग्रेस तेस्रो भएको छ । २ सिट जितेको जनमोर्चा चौथो र १ सिट जितेको नयाँ शक्ति पाँचौ पार्टी बनेको छ भने मनाङ प्रदेश सभा २ मा एमाले समर्थनले जीवन गुरुङ स्वतन्त्रबाट सांसद बनेका छन् ।
१५ लाख ६८ हजार ९ सय १७ कुल मतदाता रहेको यो प्रदेशमा सरदर ७० प्रतिशत अर्थात १० लाख ९८ हजार २ सयको हाराहारिमा मत खसेको थियो । जसमा बिहीबार रातिसम्म ९ लाख १६ हजार गणना भइसकेको छ । जसमा एमाले र कांग्रेसको ४० प्रतिशतको हाराहारीमा बराबरी मतपरिणाम आएको छ भने माओवादीको १३, नयाँशक्ति २ र जनमोर्चा करिब डेढ प्रतिशतभन्दा माथि र बाँकी अन्यको छ ।
प्रदेशको बिहीबार रातिसम्मको मतपरिणाम हेर्दा एमालेको ३ लाख ५५ हजार ३ सय ५७, कांग्रेसको ३ लाख ४८ हजार ५ सय ४४, माओवादीको १ लाख १६ हजार ६ सय २४ मत आएको छ । नयाँ शक्तिले २४ हजार ४ सय ७२ ल्याउँदा जनमोर्चाले १९ हजार २ सय ७४ ल्याएको छ भने अन्य पार्टीहरुको पक्षमा ५३ हजार ४ सय ६० मत छ । यसैलाई आधार मानेर हेर्दा सामानुपातिकबाट ९/१० को हाराहारीमा कांग्रेस, एमाले र ३ सिट माओवादीले सांसद पाउन सक्छन् भने नयाँ शक्ति र जनमोर्चाले समानुपातिकबाट १/१ सांसद हात पार्न सक्छन् ।
प्रत्यक्षमा ३६ र समानुपातिकमा २४ गरी ६० सदस्यीय हुने प्रदेश सभामा वाम गठबन्धनले दुई तिहाइ बहुमतको सरकार निर्माण हुने देखिएको छ । एमाले, माओवादी, जनमोर्चा र एक जना एमालेकै समर्थनले स्वतन्त्रमा चुनाव जितेका उम्मेदवारसमेत गरी वाम गठबन्धनको प्रत्यक्षबाट २९ सिट पुगिसकेको छ । त्यसमा एमालेबाट ९, माओवादीबाट ३ र जनमोर्चाबाट १ सिट समानुपातिकबाट थपिने संकेत छ । यसरी हेर्दा यो प्रदेशमा वाम गठबन्धनको आरामसाथ दुई तिहाइको सरकार बन्ने लगभग पक्का जस्तै देखिन्छ । दुई तिहाइ बहुमतको प्रदेश सरकारका लागि ४० सिट चाहिन्छ ।
वाम गठबन्धनलाई ५१ प्रतिशत मत
नेपाली कांग्रेसले प्रदेश नम्बर ४ लाई मजबुत ठानेको थियो । तर प्रदेशबाट उक्त पार्टीले प्रतिनिधिसभाका १८ मध्ये जम्मा १ सिटमा चित्त बुझाउनुपर्यो । कांग्रेस महामन्त्री शशांक कोइराला नवलपरासी पूर्वको क्षेत्र नम्बर १ बाट विजयी भए । गण्डकी र धवलागिरीका १० जिल्लाबाट कांग्रेसले प्रतिनिधि सभामा १ जना पनि पठाउन सकेन ।
प्रदेश नम्बर ४ मा धवलागिरीका मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत जिल्ला पर्छन् । गण्डकीका, मनाङ, लमजुङ, गोरखा, तनहुँ, कास्की र स्याङ्जा र लुम्बिनीको नवलपुर क्षेत्र पर्छन् ।
गोरखाबाट नयाँ शक्तिका बाबुराम भट्टराई, लमजुङबाट माओवादी केन्द्रका देव गुरुङ र बागलुङ २ बाट माओवादीकै देवेन्द्र पौडेल विजयी भए । बाँकी १४ सिटमा एमालेले जीत हासिल गरेको छ । प्रतिनिधिसभामा १८ मध्ये १६ सिट जितेको वाम गठवन्धनले यो प्रदेशमा खसेको सदर मतमध्ये ५१ प्रतिशत मत ल्याएको छ । १ सिट मात्र जितेको कांग्रेसले गठवन्धनलाई पछ्याउँदै ३९ प्रतिशत मत ल्याएको छ । यसमा नयाँ शक्तिका बाबुराम भट्टराइले ल्याएको ३१ हजार ८ सय ७ मत जोडिएको छैन । भट्टराईले ल्याएको मत जोड्दा ४२ प्रतिशत हुन आउँछ ।
निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर ४ का ११ जिल्लामा १० लाख ६० हजार ४ सय ३९ मत सदर भएको थियो । जसमध्ये वाम गठवन्धनले ५ लाख ४१ हजार ७ सय ४४ र कांग्रेस एक्लैले ४ लाख १८ हजार ७६ मत ल्याएको छ ।
सम्बन्धित खबर
पोखराको अमरसिंह चोकका व्यापारिक सटर हटाइने, विद्यालयले दियो ३५ दिनको समय
स्वास्थ्य सचिवबाट विनोदविन्दुलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश
पाँचौं टाइगर कपको ट्रफि अनावरण, पहिलो खेल भोलि १० बजे
छात्रलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
गोरखामा कुवामा डुबेर एक वृद्धाको मृत्यु
स्याङ्जामा विद्यालय कोठामा बालयौन दुरुपयोग गरेको आरोपमा एकजना पक्राउ
यो पनि पढौँ
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पुम्दीकोट जाने बाटो अब एकतर्फी
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए