दोबिल्लाको क्रसर फेरि अर्को बस्ती छेउमै सारिँदै, स्थानीय किन रोक्न सक्दैनन् ?

दोबिल्लाको क्रसर फेरि अर्को बस्ती छेउमै सारिँदै, स्थानीय किन रोक्न सक्दैनन् ?

dobilla-crosser

पोखरा / पोखरा–२१ निर्मलपोखरी दोबिल्लाको क्रसर उद्योग फेरि अर्को बस्ती छेउमै सार्ने तयारी भएको छ । दोबिल्लाबाट पोखरा–३३ बागमारा पुष्पबस्ती छेउमै क्रसर सारिन लागेपछि स्थानीय गुनासिएका छन् । समाधान दैनिकका लागि अर्जुन गिरीको समाचार छ ।

सिम्रोन कन्स्ट्रक्सनका सञ्चालक तथा नेपाल निर्माण व्यवसायी संघ कास्कीका उपाध्यक्ष बलबहादुर राना ‘महत गौंडे कान्छा’ ले उक्त क्रसर उद्योग बागमारा पुष्प बास्तीमा सार्न भौतिक संरचना समेत तयार पारेका छन् । निर्मलपोखरीमा रहेको क्रसर उद्योगको अवधि सकिएपछि कान्छाले बागमारामा सार्ने तयारी गरेका हुन् ।

क्रसर उद्योगका लागि छनोट गरिएको ठाउँ र पुष्प बस्तीको दुरी १ सय मिटर पनि छैन । त्यस बस्तीमा १५÷२० घर छन् । त्यहाँ करिब ६० जना मान्छे बस्छन् । क्रसर उद्योगका लागि आवश्यक पर्ने बाटो समेत तयार पारेर गिट्टी थुपार्ने काम भइसकेको छ । यसबारे भने जनप्रतिनिधि बेखबर छन् । ‘बाटो पिच गर्दिर्ने आश्वासन बस्तीका केही अगुवाले क्रसर उद्योगका सञ्चालकबाट पाएका छन् ।

पुष्प बस्तीभन्दामाथिपट्टि पर्ने शान्ति टोलका बासिन्दा समेतलाई क्रसरको बारेमा केही थाहा छैन् । पुष्प बस्तीका एक स्थानीयले क्रसर राख्ने भनेर कुरा समेत भएको बताए । ‘एक पटक कुरा चलेको थियो,’ उनले भने, ‘बस्तीको आडमै क्रसर उद्योग राख्न हँुदैन भनेका त छौं तर हाम्रो के लाग्ला र खै ?’

जग्गाधनीले क्रसरकै लागि भनेर जग्गा भाडामा दिएको ती स्थानीय बताउँछन् । ‘पैसा पाएर क्रसर उद्योग चलाउन दिएपछि हामी बोलेर केही हुन्छ र ?,’ उनले भने, ‘पूर्व गाविस अध्यक्ष यज्ञप्रसाद अधिकारीले जग्गा भाडामा दिएका रहेछन् ।’ दोबिल्लबाट बागमारामा क्रसर उद्योग सार्न लागेको सिम्रोन कन्स्ट्रक्सनका सञ्चालक कान्छाले बताए । ‘त्यहाँबाट बागमारा पुष्प बस्ती नजिकै सार्न लागेको हो,’ उनले भने, ‘तर बस्तीबाट ८ सय मिटर पर पर्छ ।’

क्रसर उद्योग राख्ने विषयमा कसैले कुरा नगरेको पोखरा–३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले बताए । ‘अहिलेसम्म कसैले क्रसर उद्योग राख्छु भनेर भन्न आएको छैन्,’ उनले भने, ‘आए भने पनि म मेरो वडाबासीहरुको स्वास्थ्यमा खेलवाड गरेर क्रसर उद्योग राख्न दिन्न । क्रसर होस् या अरु कुनै पनि उद्योग त्यसको मापदण्ड पुग्छ भने हुन्छ नत्र मापदण्ड विपरीत कुनै पनि काम मेरो वडामा हुँदैन् ।’

यसअघि पनि रानाले निर्मलपोखरीमा राखेको क्रसर उद्योगले एउटा पनि मापदण्ड पालना गरेको थिएन । खोला किनारबाट ५ सय मिटर, वन, बस्तीबाट २ किलोमिटर परिधिभित्र क्रसर उद्योग सञ्चालन गर्न नपाइने नियम छ । तर मापदण्ड विपरीत दोबिल्लामा क्रसर उद्योग चलेको थियो ।

अहिले जनप्रतिनिधि आएपछि क्रसरको अवधि थप्न नदिएपछि बागमारातिर तयारी भएको हो । पोखरा–२१ का वडाध्यक्ष खगराज आचार्यले क्रसर उद्योग चलाउन नदिने भनेर कडा निर्देशन दिएपछि उद्योगीले अर्को उपाय अपनाएका हुन् । निर्मलपोखरी र दोबिल्ला जोड्ने पुल सेती नदीका कारण जोखिममा परेका बेला ठूलाठूला ट्रिपर त्यही बाटो चल्दासमेत वडा अध्यक्ष आचार्यले नै रोकेका थिए ।

अहिले क्रसर उद्योग बन्द भएपछि दोबिल्लाका ५० परिवारका करिब २ सय जना स्थानीय खुसी छन् । आडैको सहारा एकेडेमीका बालक, ओशो उप–वनमा ध्यान गर्न आउने साधक र नयाँ मण्डली चर्चमा आउनेहरु पनि क्रसर बन्द हुँदा खुसी हुनेमै पर्छन् ।

हुन पनि क्रसर उद्योगबाट अत्यधिक धुलो निस्कन्छ । मानव स्वास्थ्यका लागि धुलो ठूलो समस्या हो । क्रसर उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा नै मानिसलाई हानि पु¥याएको हुन्छ । धुलोले विशेष गरी श्वास प्रश्वास गर्न निकै अप्ठ्यारो बनाउँछ ।

क्रसरले पानी पनि दूषित बनाउँछ । श्वास फेर्दा स–साना कण सोझै मानिसको श्वास नलीमा पुगी अवरोध उत्पन्न गर्छ । उद्योगबाट निस्कने धुलोले मानव स्वास्थ्यमा विषादीको काम गर्छ । त्यसै कारण नै बस्तीभन्दा धेरै टाढा हुनुपर्ने मापदण्ड सरकारले बनाएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds