आदरणीय आमाबुबा दाजुभाई , दिदिबहिनीहरु ।
स्याङजा जिल्ला थुप्रै सम्भावना बोकेको जिल्ला हो । साढे तीन सय देखि पच्चिस सय मिटरको फराकिलो उचाईको बिचमा फैलिएको स्याङ्जामा जन्मिएर हुर्किएका हामीहरु तिनै सम्भावनाहरुलाई पुजीकृत गर्नुपर्ने चुनौतीपूर्ण अवसरको दोसाँधमा छौँ । राजनीतिक आन्दोलनको केन्द्र, साँस्कृतिक सम्पदाको संयोजन र आर्थिक सम्भावनाको प्रचुरता हाम्रा परिचय मात्र होइनन् समृद्धिका स्रोत समेत हुन् ।
नेपालकै पहिलो होमस्टे सिरुवारी देखि पञ्चासेको मनोरम दृश्य अनि भिरकोटको प्याराग्लाइडिङ् देखि साल्मेडाँडाको ऐतिहासिकताले स्याङ्जा क्षेत्र नम्बर १ मा विकासका नयाँ सम्भावनाहरु खोल्नेछन् । यि क्षेत्रका अतिरिक्त सतौँचण्डी, नुवाकोट, खैरिकोट, गह्रैकोट, हुनिकोट, समेतलाई समेटेर पर्यटकीय सर्किट निर्माण गर्ने दिशामा हाम्रो ध्यान जानेछ । यहाँका मन्दिर र मस्जिद अनि गुम्बा र चर्चको विकासलाई मैले धार्मिक पर्यटनको प्रवद्र्धन र सामाजिक एकताको सुदृढीकरणका आधारको रुपमा लिएको छु । सिचाईको अभावले धाँजा फाटेका फाँटहरुमा सिचाईको उचित प्रबन्धका लागि ज्याग्दी खोला, आधिखोला, सेती खोला, दरौंखोला, सुरौदिखोला लगायत खोला र नदिमा बृहत सिचाई आयोजनाहरु निर्माणका लागि सम्भाव्यता अध्ययन गरी कार्य अगाडि बढाउन ढिला भै सकेको छ ।
पञ्चासे र डहरेको डाँडामा जडिबुटी सुकेर जाने तर अर्जुनचौपारी र वयरघारीका जनता उपचार गर्न पोखरा र काठमाडौँ जानुपर्ने दुर्दशापूर्ण अवस्थाको अन्त्य गर्न जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने तर्फ आवश्यक कदम अगाडि बढाइनेछ । जिल्ला अस्पताललाई अत्याधुनिक अस्पतालको रुपमा विकास गर्ने तथा स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुमा क्षमतावान् जनशक्तिको व्यवस्था गर्ने विषयमा हामी गम्भीर हुन जरुरी छ । स्याङ्जा क्षेत्र नम्बर एक भित्र आर्थिक, सामाजिक तथा पर्यावरणीय दृष्टीले उपयुक्त स्थानको छनौट गरी कम्तीमा पनि एउटा औद्योगिक क्षेत्र शिघ्र स्थापना गरिनेछ । यसले यस क्षेत्रका आर्थिक सम्भावनाहरुलाई मूल्यमा परिणत गर्नेछ भने मुटुमा गाँठो पारेर विदेशी भूमीमा पसिना बगाउन बाध्य स्याङ्जाली दाजुभाई दिदिबहिनीको लागि रोजगारीको सिर्जना गर्नेछ ।
स्याङ्जालीको घर बनाउन बुटवलको इँटा, हेटौँडाको सिमेन्ट अनि सिमापारको रड खपत भैरहेको छ तर यहाँको माटो र ढुंगो बाढी र भेल सँगै बगेर बंगालको खाडीमा पुगेको छ । तसर्थ क्षमतावान् सिमेन्ट उद्योग स्थापनाका लागि लगानी जुटाउने तर्फ घनीभूत ढंगले लागिनेछ । स्याङ्जाका विशाल पहाडमा खनिज पदार्थहरुको प्रचुरता रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । तिनको उत्खननका लागि उच्चस्तरीय प्रविधि भित्र्याउन काम गरिनेछ ।जन जनको आत्मनिर्भरताले नै देशको आत्मनिर्भरतालाई बलियो बनाउँछ ।
हरेक व्यक्तिको सिप क्षमता र ज्ञानलाई उद्यमशिलता र आर्थिक उपार्जनसँग जोड्न घरेलु तथा साना उद्योगलाई सहुलियतपूर्ण ऋण दिने कार्यलाई प्रभावकारी बनाइनेछ । स्याङ्जाको कृषकले ४० रुपैयाँमा बेचेको एक किलो गोलभेडा पोखरा बस्ने उसको छोरा र छोरीले २०० रुपैयामा किनेर खाइरहेको दुखद यथार्थ हाम्रा सामू छिपेको छैन । स्याङ्जा जिल्लाका कृषि उत्पादनहरुलाई मूल्य अभिवृद्धि हुने गरी उपभोग्य वस्तुमा रुपान्तरण तथा बजारीकरण गर्न कृषि संकलन तथा प्रशोधन केन्द्रहरु निर्माण गर्नु आजको पहिलो अवश्यकता हो । एक गाउँ एक उत्पादन, एक वडा एक बजारको अवधारणालाई व्यवहारमा नै स्थापित गर्न स्थानीय तहहरुसँगको सहकार्यमा काम अगाडि बढाइनेछ ।आफ्नो सन्तानको वियोगमा बगेका आशुले सिन्चित भएको स्याङ्जाको माटोमा न त कुनै बृद्धाश्रम खोलिने छ न कुनै बुवा र आमा रुदै हिड्नु पर्नेछ ।
बृद्ध बुवा आमा, एकल महिला तथा अपांग दाजुभाई दिदिबहिनीलाई सम्मानसाथ पाल्ने जिम्मा यो राज्यले लिने व्यवस्थाको निर्माण र अवस्थाको सिर्जनाका लागि हामी लड्ने छौँ । जसका लागि सामाजिक सुरक्षाका क्षेत्रमा लगानी बढाउन कन्जुस्याईँ गर्नेहरुसँग जोगिन आवश्यक छ ।स्याङ्जा जिल्लाले थुप्रै खानेपानी आयोजनाहरु सञ्चालन गर्ने सामथ्र्य राख्छ । तर घरको छेउमा रहेको मूहानको उचित उपयोग हुन नसक्दा जनताले थुक निलेर प्यास मेटाउन बाध्य भएको यथार्थसँग म अनविज्ञ छैन । बढ्दो सहरीकरण र बजार विस्तारसँगै वृद्धि हुने फोहोरलाई मोहोरमा परिणत गर्न फोहोर प्रशोधन गर्ने उद्योगहरु खोल्ने तर्फ हाम्रो ध्यान जानेछ । प्राविधिक शिक्षाको क्षेत्रमा युगान्तकारी परिवर्तन आइरहेको पृष्ठभूमीमा स्याङ्जामा मेडिकल कलेज तथा ईन्जिनियरिंग कलेजहरु खोल्नका लागि विभिन्न विश्वविद्यालयहरुसँग समन्वय गरी आवश्यक वातावरण बनाइनेछ ।
सिटिइभिटी सँग सहकार्य गरी हरेक स्थानीय तहमा प्राविधिक शिक्षालयहरु स्थापना गर्न तत्काल काम गर्नु आजको प्राथमिकता हो । ग्रामिण कृषि सडकहरुको स्तरबृद्धि गर्न र राष्ट्रिय योजनामा समावेश गर्नको लागि सम्बन्धित निकायमा दबाब दिन सबैको साझा पहल आवश्यक छ । कालिगण्डकी करिडोरको शाखाको रुपमा आधिखोला करिडोरको विकास गर्ने र त्यसलाई सम्भावित केरुङ्–काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गसँग आवद्ध गर्ने काममा उच्चस्तरीय पहल गर्न जरुरी छ ।
युवालाई उचित शिक्षा दिक्षा तथा रोजगारीको प्रत्याभूती गरेर गुण्डागर्दी एवम् सामाजिक विकृतीका कार्यहरुमा लाग्नबाट रोकिनेछ । सिमित मान्छेको स्वार्थका लागि उर्जाशील युवाहरुलाई अपराधीकरण गर्ने र उनीहरुको भविष्य बर्बाद पार्ने तत्वहरुसँग हामी सजक छौँ । वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सलाई लघु जलविद्युत् जस्ता औद्योगिक उत्पादनका क्षेत्रहरुमा प्रवाहित गराउने वातावरण बनाईनेछ ।स्याङ्जालाई स्पोर्ट हबको रुपमा विकास गर्न क्रिकेट मैदान र फुटबल एकेडेमी तथा मैदानहरुको निर्माणमा जोड दिइनेछ । यहाँका पहाड र पहराहरुलाई साहसिक यात्राका गन्तव्यको रुपमा विकास गरेर राष्ट्रिय अर्थतन्त्रसँग जोडिनेछ ।
स्याङ्जालाई औद्योगिक तथा पर्यटकीय नगरी पोखरा र बुटवल बिच ओहोर दोहोर गर्ने बाटोको रुपमा मात्र नभई प्रदेश नम्बर ४ र ५ लाई जोड्ने सामरिक स्वार्थ सहितको आर्थिक पुलको रुपमा विकास गरिनेछ । सिद्धार्थ राजमार्गको भरपुर उपयोग गरी यहाँका उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा प्रवाहित गराउने तर्फ पहल आवश्यक छ । जनताले पाउने सेवालाई मध्यनजर गरी प्रदेश स्तरका विभिन्न विभाग, कार्यालय तथा सेवा केन्द्रहरु स्याङ्जा क्षेत्र नम्बर १ का विभिन्न स्थानमा स्थापना गर्नका लागि पहल गर्ने काम हुनेछ ।आदरणीय आमा बुबा दाजुभाई तथा दिदीबहिनीहरु,यहाँका खोला र खोल्साहरुमा पानी मात्र बगेको छैन । तपाईँ हाम्रो रगत र पसिना अनि बाध्यता र विवशताको आँशु पनि बगेको छ ।
म, हाम्रो पार्टी नेकपा एमाले र बाम गठबन्धन यस बिषयमा संवेदनशील छौँ कि ः हाम्रो राज्य प्रणालीले त्यसको मूल्य चुक्ता गर्ने सामथ्र्य राख्नुपर्दछ । जनताको प्रतिनिधि केवल तालि पड्काउन र भत्ता पचाउनका लागि होइन राष्टिय राजनीतिमा हस्तक्षेपकारी भूमीका खेल्न र स्थानीय तहमा विकासको मूल फुटाउन घनघोर ढंगले लाग्नुपर्ने कुरामा मेरो जोड छ । जिल्लामा जनताको खुसी अनि राष्टमा देशको अस्मिता हाम्रो समृद्धिका सूचक हुन् । यो भन्दा फरक उद्देश्य र लक्ष्य मेरो थिएन, छैन र हुनेछैन ।
मेरो उम्मेदवारी समृद्ध स्याङ्जा अनि सुखी स्याङ्जालीका लागि हो । म स्याङ्गजाको यही माटोमा जन्मिए, हुर्किय, यस जिल्ला र क्षेत्रको समृद्धिको लागी निरन्तर लागीरहे । नेकपा एमालेको कार्यकर्ता हुदैँ २०७० सालको निवार्चनमा उमेदवारको रुपमा यँहाहरु समक्ष आएको थिए । यहाँहरुको अपार माया हुँदा हुँदै निर्वाचित नभएतापनि यहाँहरुको घर आँगनमा निरन्तर आइरहे र यही कर्म क्षेत्रमा खटीरहे । अहिले पुनः बाम प्रगतिशिल गठबन्धनकोे उमेदवारको रुपमा उपस्थित भएको छु ।
भोलि पनि मेरो अन्त जाने कुनै ठाँउ अनि सोच छैन र कदापी हुने छैन । म यही माटो र बाटोमा सदैव खटीरहने प्रतिवद्धता व्यक्त गर्दछु । आशा छ यो पटक यही साझा लक्ष्य प्राप्तीका लागि प्रतिनिधि सभा निर्वाचनमा सुर्य चिन्हमा यहाँहरुको अमुल्य मत प्राप्त गरि सेवा गर्ने अवसर प्राप्त गर्ने छु । हार्दिक अभिवादन सहित ।
नारायण प्रसाद मरासिनी
उम्मेदवार, बाम प्रगतिशिल गठबन्धन
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १, स्याङ्जा
…………………………………….
नारायण प्रसाद मरासिनी
ठेगाना ः पुतलीबजार नगरपालिका – ०१, नारायणस्थान, स्याङ्गजा
उमेर ः ४९ वर्ष
बाबुको नाम ः डण्डपाण्ी उपाध्याय मरासिनी
आमाको नाम ः हरिकला मरासिनी
शैक्षिक योग्यता ः एम. एस्सी (भौतिकशास्त्र)
पार्टी सम्पर्क र जिम्मेवारी ः
– विद्यार्थी आन्दोलनमा अनेरास्ववियूको तर्फबाट सक्रिय सहभागी (२०३५–०३६) ,
– पृथ्वीनारायण क्याम्पस, पोखरामा अनेरास्ववियूमा सक्रिय (२०४१–२०४३¬),
– अनेरास्ववियू अमृत साइन्स क्याम्पस प्रा. क. सदस्य (२०४४–२०४६)
– अनेरास्ववियू त्रिभुवन विश्वविद्यालय कमिटि सदस्य (२०४७)
– नेकपा एमाले स्याङ्गजा काठमाडौं सम्पर्क मञ्चको सचिव (२०४८)
– नेकपा एमाले पुतलीवजार गा. क. सचिव,
– नेकपा एमाले पुतलीवजार नगरपालिका सचिव,
– नेकपा एमाले जिल्ला कमिटी सदस्य,
– नेकपा एमाले क्षेत्रिय कमिटी अध्यक्ष,
– नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुदैँ हाल नेकपा एमाले प्रदेश संगठन कमिटी सदस्य, प्रदेश नं ४ ।
सार्वजनिक पद/सम्मानः
– नेकपा एमालेको तर्फवाट पुतलीबजार नगरपालिकाको उपमेयरमा निवार्चित (२०५४)
– शिक्षा क्षेत्रको योगदानको कदर गर्दे जे.पी. प्रतिष्ठान, काठमाडौँ लगाएत विभिन्न सामाजिक संघ संस्थाबाट सम्मानित ।
सामाजिक संघ संस्थामा संलग्नता ः
– रोशनी अंग्रेजी आवासीय विद्यालयको संस्थापक प्रिन्सिपल हुदैं प्रबन्ध निर्देशक,
– नेपाल रेडक्रस सोसाइटिको आजीवन सदस्य,
– स्याङ्गजा साहित्य प्रतिष्ठानको आजीवन सदस्य,
– सामुदायिक प्रहरी सेवा केन्द्र, प्रगतीनगरको सल्लाहकार सदस्य,
– इनर्जेटिक क्लव, प्रगतीनगरको सल्लाहकार सदस्य,
– नवरत्न वचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष,
– सामुदायिक रेडियो स्याङ्गजा एफ. एम. को पूर्व उपाध्यक्ष,
– कालिक सामुदायिक अस्पताल, हेलुको आजीवन सदस्य,
– त्रिभुवन आर्दश बहुमुखी क्पाम्पस, स्याङ्गजाको आजीवन सदस्य,
– सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पस, फेदिखोलाको आजीवन सदस्य,
– वालिङ्ग बहुमुखी क्पाम्पस, वालिङ्गको आजीवन सदस्य ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १, स्याङ्गजाका बाम प्रगतिशिल गठबन्धनका उमेद्वार नारायण प्रसाद मरासिनी
सम्बन्धित खबर
कहाँ हराएको छ हाम्रो खुसी ?
मगर समुदायको माघेसंक्रान्ति र पुतली नाँच: योमाखार र पेल्माखारसंग सम्बन्ध
‘मैले देखेको पोखरामा हाम्रो भूमिका’
मर्दी बेस क्याम्प यात्रा संस्मरण: झरीको कष्टकर यात्रा बिर्साउने त्यो घुम्टो उघारेको हिमाल
पोखरामा अवस्था खराब बन्दा मेरो ‘कोरोना अनुभव’
मानुङ्गले दिएको सन्देश र व्यासको पर्यटन सम्भाव्यता
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते