उपभोग्य वस्तुमा मासुको खपत उच्च हुन्छ । त्यसमा पनि कुखुराको मासु अन्य मासुको तुलनामा बढी खपत हुन्छ । तर, अधिकांशको भान्छामा पाक्ने यही कुखुराको मासु सोचेजस्तो स्वच्छ भने छैन ।
भेटेरिनरी गुणस्तर तथा औषधि व्यवस्थापन विभागले गरेको प्रयोगशाला नमूना परीक्षणले कुखुराको मासुमा एन्टिवायोटिकको प्रयोग भयावह रहेको देखाएको छ । कार्यालयले उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तथा चितवनमा कुखुराको मासुको नमूना परीक्षण गरेको थियो ।
कार्यालयले गत आर्थिक वर्ष २०७३/७४ मा कुखुराको मासुको एक सय ८० वटा नमूना परीक्षण गर्दा एक सय १५ वटामा एन्टिवायोटिकको अवशेष भेटिएको थियो । एन्टिवायोटिकको अवशेष देखिएको मासुको उपभोग मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
कार्यालयका पशु चिकित्सक शशिधर सेढार्इँका अनुसार कुखुरामा रोग लाग्नबाट रोक्न र महामारीको सम्भावित प्रकोप रोक्ने प्रयोजनका लागि एन्टिवायोटिकको प्रयोग गरिन्छ । यसबाहेक सम्भावित रोग र महामारी रोक्न दानामै पनि एन्टिबायोटिक प्रयोग गर्ने गरेको देखिएको कार्यालय बताउँछ ।
तर, समुचित ढंगले एन्टिवायोटिकको प्रयोग नगर्दा मासु उपभोग गर्ने उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने सेढाईँ बताउँछन् ।
‘मासु उपभोग गरिने कुनै पनि पशु तथा पंक्षीलाई एन्टिवायोटिक लगाउँदा त्यसको स्वास्थ्य अवस्थाको पहिचान गरेर प्रयोग गर्ने तरिका, मात्रा र समयमा ध्यान दिनुपर्छ,’ उनी भन्छन् ।
एन्टिवायोटिक लगाइए पनि त्यसको निश्चित अवधिसम्म सम्बन्धित पशुपंक्षीको मासु उपभोग गर्नु मानव स्वास्थ्यका लागि हानिकारक हुने उनी बताउँछन् । तर, कार्यालयकै प्रयोगशाला परीक्षणले भने बजारमा बेच्न राखिएका मासुमा पनि प्रशस्त मात्रामा एन्टिवायोटिकको अवशेष देखिएको देखाउँछ ।
एन्टिवायोटिक प्रयोग गरिएको मासुको उपभोगले शरीरमा हानिकारक असर पर्ने चिकित्सकहरूको भनाई छ । एन्टिवायोटिक प्रयोग भएको खाद्य वस्तुको उपभोगले क्यान्सर जस्तो घातक रोगको जोखिम समेत निम्तिने विज्ञहरूको मत छ ।
शरीरका हानिकारक जिवाणु समूहविरुद्ध प्रयोग गरिने औषधि समूह एन्टिवायोटिक हो ।
एन्टिवायोटिकको प्रयोगमा सर्तकता र न्यूनीकरण गर्न कार्यालयले जैविक सुरक्षा तथा असल सुरक्षा व्यवस्थापन अभ्यास, जिल्लास्तरमा गुणस्तरसम्बन्धि जनचेतना लगायतका कार्यक्रम सञ्चालन गरिरहेको कार्यालयले जनाएको छ ।
खसीबोका, राँगा लगायतका पशुपंक्षीमा पनि यस्तो एन्टिवायोटिक प्रयोग हुन थालेको कार्यालय बताउँछ ।
दूधमा पनि एन्टिवायोटिकको अवशेष
कार्यालयका अनुसार दूधमा पनि एन्टिवायोटिकको अवशेष देखिएको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ३७ वटा नमूना परिक्षण गर्दा पाँच वटामा एन्टिवायोटिकको अवशेष देखिएको कार्यालयले जनाएको छ ।
कार्यालयले पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङका फर्म तथा किसानबाट लिएको गाई र भैंसीको दूधको नमूना परिक्षण गरेको थियो ।
उक्त नमूना परिक्षण गर्दा २ वटा नमूना परीक्षणमा जेन्टामाइसिन बाँकी ३ वटा नमूना परीक्षणमा फ्लोरोकुइनोलोन नामक दुई खालका एन्टिवायोटिक देखिएको कार्यालय बताउँछ ।
गत आवमा मासुमा नै गरिएको यस्तो प्रयोगशाला परिक्षणमा १५ वटा दूधका नमूनामा एन्टिवायोटिक देखिएको थियो । उक्त अवधिमा कार्यालयले कुल २ सय १८ वटा दूधका नमूना परीक्षण गरेको थियो ।

– अनलाइनखबर
सम्बन्धित खबर
स्याङ्जामा १९७ क्षयरोगका बिरामी, ७ को मृत्यु
युआरएलमा अपोलोका सेवा सुरु
बरिष्ठ बालरोग विशेषज्ञ डा. बास्तोला ‘प्रमुख कन्सल्टेण्ट पेडियाट्रिसियन’ पदमा बढुवा
पाठेघरको क्यान्सर विरूद्धको १५ दिने एचपीभी खोप अभियानको आज छैठौं दिन
स्याङ्जामा सत प्रतिशत किशोरीलाई एचपिभी खोप लगाइयो
स्याङ्जामा एचपिभी खोप अभियान सुरू, पहिलो दिन ४२ प्रतिशतले लगाए
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर