पोखरामा चारै नाकाबाट यसरी भित्रिन्छ ‘ड्रग्स’

पोखरामा चारै नाकाबाट यसरी भित्रिन्छ ‘ड्रग्स’

Samadhan Samay

समाधान ‘समय’

पाेखरा / पूर्वको काँकडभिट्टा, दक्षिणको रक्सौल र सुनौलीमात्र हैन पश्चिमको कृष्णनगरदेखि पोखरामा लागुऔषध भित्रिने गरेको छ । यतिमात्र हैन, उत्तरी भेगबाटसमेत ज्यानमारा ‘कालो’ पदार्थ महानगरमा आइपुग्छ ।

पोखरामा भित्रिने यस्ता ड्रग्स लगभग सबै प्रकारका छन् । पोखरामा गाँजा, चरेस, ब्राउन सुगर, सुइजन्य लागुऔषध र औषधिजन्य ट्याब्लेटहरु बढी प्रयोग भएको पाइएको छ । गाँजा, चरेसजस्ता लागुपदार्थ उत्तरी क्षेत्र बागलुङ, म्याग्दी, पर्वतबाट आउने गरेको छ भने धादिङ र मकवानपुरको ग्रामीण भेगबाट समेत भित्रिने गरेको छ । यसभन्दा महंगा लागुपदार्थहरु नेपाल भारतबीचको दक्षिणी सीमाबाट पोखरा आइपुग्छ ।

तीन प्रमुख राजमार्गसँग जोडिएको महानगर लागुऔषधका धन्दा गर्नेलाई स्वर्ग भएको छ । यसैपनि, नेपाल लागुपदार्थ उत्पादन र ओसारपसार गर्ने गोल्डेन ट्रयांगलको नजिक हुँदा कारोबारीहरुले यहाँको सहज उपयोग गरिरहेका छन् । पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र भूपि शेरचन राजमार्गलगायत अन्य भित्री बाटाहरु तस्करका रुट हुन् । विभिन्न मार्गबाट पोखरा भित्रिनेमात्र हैन, यहाँबाट राजधानी हुँदै बाह्य देसमा समेत लागुऔषध पुग्ने गरेको छ ।

केन्द्रीय तथ्यांक विभागको सर्वेक्षणअनुसार राजधानी र सुनसरीपछि कास्कीमा लागुऔषध दुव्र्यसनीको संख्या बढी छ । पछिल्लो समय महंगो मूल्य र विदेसीहरुले प्रयोग गर्ने एलएसडी नामक लागुऔषधसमेत पोखरामा पाइने गरेको छ । महिलाले लगाउने ठूलो टीकाको आकारमा पाइने एलएसडीलाई चार भागमा विभाजन गरी बेचबिखन गरिन्छ । यसको प्रयोग रेभ पार्टीमा हुने भएकाले यसको असर ३६ घण्टासम्म पर्न सक्छ ।

पोखराका दुव्र्यसनीहरुले बढी प्रयोग गर्ने लागुऔषध सिरिञ्जमार्फत लिने गरेका छन् । फेनरागन, डाइजेपाम र नर्फिन मिसाएर बनाइने लागुऔषधमा दुव्र्यसनीहरुको आकर्षण छ । र, पोखराको समस्या नै यही हो । टिनेजर्सदेखि पाकासम्म र विद्यार्थीदेखि उच्चघरानाका व्यक्तिसमेत यसको प्रयोगकर्ता भएको पाइएको छ ।

विभागको पछिल्लो तथ्यांकले नेपालमा ९१ हजार ५३४ जना दुव्र्यसनी रहेको जनाएको छ । जसमध्ये कास्कीमा ६ हजार ४१४ पुरुष र ५ सय महिला रहेका छन् । सर्वेक्षणलाई नै आधार मान्ने हो भने यसको वार्षिक वृद्धि दर ११ प्रतिशत छ । यो आंकडाले हालसम्म जिल्लामा ९ हजार बढी दुव्र्यसनी भएको देखाउँछ ।

विद्यालयमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थी पनि दुव्र्यसनी छन् । कास्कीमा कूल लागुऔषध प्रयोकर्तामध्ये ८२ प्रतिशत १३ देखि १९ वर्षका रहेको लागुऔषध नियन्त्रण ब्यूरो पोखराको रेकर्ड छ । कास्कीमा विद्यालय तहसम्म सरकारी र निजी गरी ६ सय ११ शिक्षण संस्था छन् । जहाँ १ लाख ४३ हजारको हाराहारीमा विद्यार्थी छन् । प्रतिशतलाई आधार मान्ने हो भने करिब ३६ हजार बढी विद्यार्थी लागुपदार्थको जोखिम समूहमा रहेको मान्न सकिन्छ ।

कास्कीकै लागुऔषधको आपराधिक तथ्यांकलाई हेर्ने हो भने लगभग ६० प्रतिशत मुद्दा लागुऔषधसँग सम्बन्धित छ । त्यस्तै, जिल्ला कारागार कास्कीका थुनुवामध्ये ३० प्रतिशत लागुऔषध मुद्दामा सजाय काटिरहेका छन् ।

पोखरा आफैमा पर्यटकीय नगरी भएको र बढ्दो शहरीकरणसँगै पश्चिमी संस्कृतिको प्रभावले दुव्र्यसनीको संख्यामा कमी नआएको ब्यूरोको ठहर छ । त्यस्तै, आर्थिक अवस्था, आवश्यक शिक्षाको कमी र लागुऔषधप्रतिको दृष्टिकोणले प्रयोगकर्ताको संख्यामा कमी आउन नसकेको बताउछन् ब्यूरोका प्रहरी निरीक्षक रविन्द्रमान गुरुङ ।

लागुऔषध प्रयोगकर्तामध्ये १३ प्रतिशतले सिरिञ्ज साटासाट गर्ने पाइएको छ । असुरक्षित सुई प्रयोगबाट एचआइभी, हेपाटाइटिस बी÷सी तथा अन्य रगतजन्य रोग सर्ने सम्भावना रहन्छ । त्यस्तै, लागुऔषध प्रयोगकर्ताबाट हुने असुरक्षित यौनसम्पर्कले अन्य प्राणघातक रोग सर्न सक्ने ब्यूरोको अनुन्धानमा उल्लेख छ ।

लागुऔषधको प्रयोगलाई एकैपटक नियन्त्रण गर्न नसकिने र प्रयोकर्तालाई तुरुन्तै सुधार्न नसकिने बाध्यता सरकार र सम्बन्धित निकाय दुबैलाई छ । शरिरमा लागुऔषधको मात्रा परेपछि एकैपटक छुटाउन खोज्दा त्यसको नकारात्मक असर पर्न सक्छ । यसको उपचार भनेको प्रयोकर्तालाई लागुऔषधको मात्रा कम दिँदै जानु हो ।

‘लागुऔषध प्रयोग दुव्र्यसन नभइ रोग हो’ भन्ने मान्यता सरकारको छ । यही पक्षलाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयले प्रयोगकर्ताको पहिचान गरी मेथाडोन उपलब्ध गराउँदै आएको छ । पोखरामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले हरेक बिहान प्रयोगकर्तालाई मेथाडोन खुवाउछ । यद्यपि, यो कार्यक्रम सफल हुन सकेको छैन । कतिपय दुव्र्यसनीहरु सहजरुपमा मेथाडोन उपलब्ध हुने भएपछि झनै नियमित सेवनकर्ता भएका छन् ।

पार्सलमा ड्रग्स

लागुऔषध नियन्त्रणमा प्रहरी जति सक्रिय हुन्छ तस्करहरुको दिमाग उत्तिनै चल्छ । प्रहरी सक्रियतामा जति लागुऔषध समातिए त्यो संख्या पोखरा भित्रिएको तुलनामा अत्यन्तै न्यून हो । भारतीय सीमादेखि पोखरा ओसारपसार गर्नेहरु गाडी फेर्दै यात्रा गर्छन् । भने एउटा नाका कटेपछि अर्काे नाका कटाउन मोटरसाइकल प्रयोग गर्छन् । ठूलो मात्रामा लागुऔषध ओसारपसार गर्दा कतिले निजी सवारी साधन र कतिपयले ट्याक्सी प्रयोग गरी अघिपछि मोटरसाइकलले स्कर्टिङ गरेको प्रहरी अनुभव छ ।

सार्वजनिक सवारीका चालक र सहयोगीसमेत ओसारपसारमा संलग्न हुँदा नियन्त्रण र पक्राउमा सम्बन्धित निकाय हायलकायल भएको छ । चरेस र ब्राउन सुगरको मूल्य धेरै हुने र यो सहजै लुकाएर ल्याउन सकिन्छ । प्रहरीले चेकजाँच गर्दा लागुऔषध कतै फालेर सुरक्षित हुन सजिलो भएकाले पनि यसको नियन्त्रणमा कमी आउन सकेको छैन ।

चेकजाँचकोक्रममा बसको डिक्कीमा लागुऔषध भेटिने तर तस्करको पहिचान गर्न नसकिने समस्या प्रहरीको लागि सामान्यप्रायः भएको छ । भारतीय डिलरसँग सामान लिएर ओसारपसार र बिक्रीमा संलग्नहरुले हाल मनी ट्रान्सफरबाट पैसा पठाउने र पोखरामै पार्सलमार्फत सामान बुझ्ने नौलो शैली अपनाउने गरेका छन् । हालै विशेष सुराकीको सहयोगमा लागुऔषध र तस्कलाई पक्राउ गरेपछि यस्तो शैली अपनाएको भेट्दा ब्यूरो चकित परेको छ ।

लागुऔषधका सेवनकर्ता कारोबारमासमेत संलग्न छ । केहिअघि पोखराका एक चिकित्सक यहि आरोपमा पक्राउ परेका थिए भने पोखराका एक व्यवसायी एवं राजनीतिज्ञका छोरासमेत कारोबारी र सेवनकर्ताको आरोपमा हाल प्रहरी हिरासतमा छन् । बालकदेखि अधवैशै र सडक बालबालिकादेखि समाजमा शान, मान भएकासम्म लागुऔषधको कारोबारमा छन् ।

अविश्वसनीय तथ्यांकः निरीक्षक गुरुङ

केन्द्रीय तथ्यांक विभागले देसभर ८९ हजार दुव्र्यसनी भएको संख्या सार्वजनिक गर्दा पोखरा ६ हजार ९ सय भएको हिसाब निकाल्यो । २०६९ को सर्वेक्षण अनुसार निकालिएको यस तथ्यांकमा दुव्र्यसनीको संख्या वार्षिक ११.३६ प्रतिशतले बढ्दै गएको उल्लेख छ ।
सो प्रतिशतको आधारमा हाल कास्कीमा ९ हजारको हाराहारीमा दुव्र्यसनी हुनुपर्छ । तर, यो सर्वेक्षण र प्रक्षेपणमाथि शंका गर्छन्, लागुऔषध नियन्त्रण ब्यूरो पोखराका निरीक्षक रविन्द्रमान गुरुङ ।

निरीक्षक गुरुङले ब्यूरो सम्हालेको ३ वर्ष भइसक्यो । यसअघि उनी पोखराकै रामबजार वडा कार्यालयका प्रमुख थिए । यसक्षेत्रमा ५ वर्ष बिताइसकेको उनको अनुभवले पोखरामा दुव्र्यसनीको संख्या यतिबिघ्न पक्कै छैन । गुरुङ दाबीका साथ भन्छन्, ‘कि दुव्र्यसनीको संख्या ह्वात्तै घट्यो, कि त सर्वेक्षणको तथ्यांक नै गलत छ ।’

सर्वेक्षणमा उल्लेखित संख्या हेर्ने हो भने पोखराका ३३ वडामा २ सय ५० को अनुपातमा दुव्र्यसनी हुनुपर्छ । तथ्यांक विभागले सर्वेक्षण गर्ने जिम्मा एनजीओलाई दिएकाले गुरुङको विश्लेषणमा यो संख्या ‘अविश्वसनीय’ छ । प्रहरी अपरेशन, निरन्तरको निगरानी, टोलटोलमा गठित आमा समूह र सामुदायिक प्रहरीको सक्रियताले पोखरामा हाल दुव्र्यसनीको संख्या मुस्किलले १ हजार ५ सय रहेको उनको अनुमान छ ।

तर, पूनस्थापना केन्द्र गेटवे फाउण्डेसन कास्कीका कार्यक्रम संयोजक इश्वर गुरुङको भनाइलाई विश्वास गर्ने हो भने तथ्यांक विभागको संख्या मान्न करै लाग्छ । गुरुङका अनुसार कास्कीका दर्जन पूनस्थापना केन्द्रमा हाल ६ सयको हाराहारीमा लागुऔषध प्रयोगकर्ता सुधारिने बाटोमा छन् । यद्यपि, प्रयोकर्ताहरु सुध्रिने सम्भावना न्यून नै छ ।
हालसम्म पूनस्थापनामा समय बिताएकामध्ये पचास प्रतिशत पूनः सोही धन्दामा लागेका छन् । केही समय उनीहरु सुध्रिएपनि अन्ततः लत छाड्न नसकेकाहरुको संख्यामा कमी छैन । यसर्थ, कास्कीमा तथ्यांक विभागको आँकडाअनुरुप ९ हजारकै हाराहारीमा दुव्र्यसनी छन् ।

दैनिक कारोबार कति होला ?

०६९ कै तथ्यांकलाई हेर्दा पोखरामा ६ हजार ९ सय दुव्र्यसनी छन् । उनीहरुमध्ये प्रायः सिरिञ्जबाट लागुऔषध लिन्छन् । जसमा फेनरागन, डाइजेपाम र नर्फिनको सम्मिश्रण हुन्छ ।

भारतीय बजारमा बढीमा ३ सय रुपैयाँ पर्ने सिंगल सटको मूल्य पोखरामा २ हजार रुपैयाँ छ । उल्लेखित सेवनकर्ताको ३० प्रतिशतले मात्रै प्रयोग गरे भने पनि त्यो संख्या २ हजार हुन्छ ।

यसलाई हिसाब गर्दा दैनिक ४० लाख रुपैयाँको कारोबार हुने तथ्याँक निस्कन्छ । त्यस्तै, सेवनकोरुपमा लिइने गाँजा, चरेस र विभिन्न ट्याब्लेटको मूल्य सोही अनुसार कम र बढी हुने गरेको छ । उत्तरी भेगबाट आउने गाँजाको धुलो एक पुडियाको मूल्य ५ सय रुपैयाँमा बिक्री हुने गरेको पाइएको छ ।

यसैगरी, ब्राउन सुगर पोखराका धनाढ्यले प्रयोग गर्ने र म्याजिक मसरुम र एलएसडीजस्ता लागुपदार्थका प्रयोगकर्ता बढी विदेसी छन् । यसरी लेखाजोखा गर्दा पोखरामा प्रतिदिन ठूलो धनराशी लागुपदार्थमा खर्च भइरहेको देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ