पोखरा : चुनावमा सबैजसो उम्मेदवारको मुखमा झुन्डिने नारा हो– विकास गर्छु, खानेपानी ल्याउँछु, बाटो ल्याउँछु, बिजुली ल्याउँछु। तर चुनाव जितेपछि विकास त कता हो कता उनकै नाकमुख देख्न पनि धेरै नेपालीलाई मुस्किल पर्छ। कास्कीको कृस्ती, निर्मलपोखरी र भरतपोखरी गाउँका बासिन्दा भने यस्ता भाग्यमानी जनता हुन् जसका जनप्रतिनिधिले घरघरमा पानीको धारा पुर्याउन निजी जमिन नै धितो राखेर योजना अघि बढाएका छन्।
पोखरा महानगरापलिकाको वडा नम्बर २१ का वडाध्यक्ष खगराज आचार्य त्यस्ता जनप्रतिनिधि हुन्। भरतपोखरी—निर्मल पोखरी–कृस्ती सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका लागि उपभोक्ताका तर्फबाट धरौटी राख्न तत्काललाई नपुगेको ४० लाख रुपैयाँ वडाध्यक्ष आचार्यले हालेका छन्। उक्त रकम हाल्न वडाध्यक्ष आचार्यले महानगरपालिका ३१ बेगनासताल नजिकैको १० आना घडेरी बिरुवा बचत तथा ऋण सहकारी संस्थामा धितो राखेका हुन्।
उनकै भनाइमा गाउँका लागि निजी जमिन धितो राखेर उनले पैसा निकालेको यो पहिलोपटक होइन। यसअघि पनि गाउँकै अर्को खानेपानी आयोजनाको अध्यक्ष रहिसकेका उनले भने, ‘पोखरा–१७ दोबिल्लाबाट निर्मलपोखरी गाउँसम्म साढे ४ किलोमिटर बाटो लैजाँदा पनि घर धितो राखेर डोजर लगेको थिएँ।’
खानेपानीका लागि सरकारले ल्याएको सहलगानीको अवधारणामा पोखरा २१ र ३३ का ती गाउँमा खानेपानी आयोजना सुरु हुँदैछ। २ हजार ७९ घरमा एक/एक धारा पुर्याउने गरी सुरु हुन लागेको आयोजनाका लागि उपभोक्ताले खानेपानी तथा ढल निकास विभाग मातहतको क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयसँग सम्झौता गर्नुपर्ने थियो। ३० करोड रुपैयाँको आयोजना सम्झौताका लागि उपभोक्ताका तर्फबाट १ करोड ५० लाख जुटाउनुपर्नेमा नपुगेको ४० लाख रुपैयाँ वडाध्यक्षले आफ्नै जग्गा धितो राखेर निकालेको आयोजनाका अध्यक्ष दाताराम शर्माले जानकारी दिए।
नपुग पैसा त्यसरी जुटाइएपछि उनै वडाध्यक्ष आचार्य र वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्य साक्षी रहेर आयोजनाका अध्यक्ष दाताराम शर्मा र खानेपानी तथा ढल निकास विभागअन्तर्गतको क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयका नन्दलाल बन्जाडेले बिहीबार सहमतिपत्रमा हस्ताक्षर गरे। सहलगानीको अवधारणा अनुसार उपभोक्ताले ५ प्रतिशत संकलन गर्नुपर्ने भएको हुँदा प्रत्येक घरधुरीबाट १५ हजार रुपैयाँका दरले उठाइएको आयोजनाका अध्यक्ष शर्माले बताए।
‘वडाध्यक्षले पैसा त्यसरी ननिकालेको भए आयोजनाको सहमति गर्न ढिला हुन्थ्यो, काम सुरु गर्न ढिला हुन्थ्यो’, शर्माले भने, ‘अब एक महिनापछि नै टेन्डर निकालेर बेलैमा आयोजना पूरा गर्छौँ।’ अहिलेसम्म १ हजार २ सय ७१ घरधुरीबाट पैसा संकलन गरिसकिएको र बाँकीबाट उठेपछि वडाध्यक्षको धितो फुकुवा गरिने जानकारी उनले दिए।
उनका अनुसार फुर्सेखोला किनारको जमिनमुनिको पानी लिफ्ट प्रविधिबाट डाँडामा पुर्याएर प्रशोधन गरी वडा नम्बर २१ र ३३ को टाकुरा र दक्षिणी भेगका घरघरमा पुर्याउने यो आयोजनाको लक्ष्य हो। सन् २०२० सम्म एक घर एक धारा पाउने सरकारी लक्ष्यअनुसार आएको अवधारणा ‘सहलगानी’को बाटो हुँदै गाउँमा पानी ल्याउने जुक्ति भने पूर्व सांसद रवीन्द्र अधिकारीले फुराएको आयोजना अध्यक्ष शर्माले बताए।
‘टेन्डर स्वीकृति भएको मितिले साढे २ वर्षभित्र आयोजना पूरा हुन्छ,’ उनले भने, ‘पानीको अभाव हुँदैन, सेवा र मर्मतका लागि कर्मचारी खटाइन्छ, पानी पुगेपछि कृषि र पर्यटनको विकास हुने विश्वास गरेका छौं।’ कृषि र पर्यटनको विकास हुँदा स्थानीयको आर्थिक अवस्था उकासिने विश्वास पनि उनले सुनाए।
उपभोक्ताले १०, स्थानीय तह र अन्य संघसंस्थाले २० र सरकारले ७० प्रतिशत पैसा हाल्ने सहलगानी अवधारणा रहेको आयोजनाका सचिव खेमराज भण्डारीले बताए। ‘पहिलो चरणका लागि हामीले उपभोक्ताले ५ प्रतिशत जुटाएका हौं’, उनले भने।
सम्बन्धित खबर
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम