प्रचण्डका उत्तराधिकारी प्रसिद्ध र प्रणव, बुबा जलिरहे, एकटकले हेरिरहे (भिडियो)

प्रचण्डका उत्तराधिकारी प्रसिद्ध र प्रणव, बुबा जलिरहे, एकटकले हेरिरहे (भिडियो)

prakash-putra-2

पोखरा / तीन वर्ष पनि भएको थिएन जेठी छोरी ज्ञानु बितेको । फेरि अर्को बज्रपात । एक्लो छोरो, स्वकिय सचिव, आफ्नो दाहिने हात, प्रकाश दाहाल । युवावस्थामै गुमाए प्रचण्डले । प्रचण्ड माओवादी आन्दोलनमा होमिएर जंगल पस्दा १४ वर्षको सानो उमेरबाट प्रचण्डलाई साथ दिएका प्रकाश अहिले उनीसामु छैनन् ।

बिहेको कारण प्रकाशलाई नराम्रो भनेपनि उनको कुनै पनि नराम्रो बानी नरहेको जानकार बताउँछन् । तीन बिहे तर दुई श्रीमतीबाट पहिलो पटकमै एक, एक गरी दुई छोरा । प्रचण्डलाई अब प्रकाश दाहालका दुई नाबालक छोराहरूले साथ दिनेछन् भनेर सबैले सहानुभुति दिन थालेका छन् । प्रचण्डका जेठो नाति प्रसिद्ध दाहालको पोखरा हेम्जा हो मामाघर, आमा सिर्जना त्रिपाठी दाहाल र बुबा प्रकाश दाहालबीच राम्रो सम्बन्ध नभए पछि प्रसिद्ध मामाघरमै थिए । हालैमात्र प्रसिद्धलाइ पढाउन काठमाण्डौ लगिएको छ ।

२०७४ कार्तिक १० गते पोखरा आएका प्रचण्ड र प्रकाश दाहाल पार्टीको कास्की जिल्ला कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आए । त्यो पत्रकार सम्मेलनमा एक घण्टा अघिदेखि नै आमा सिर्जना त्रिपाठीसँग प्रसिद्ध पनि आएका थिए । तर बुबा र हजुरबुबा भेट्नै पाएनन् प्रसिद्धले ।

लेखनाथमा आयोजित कार्यक्रमले ढिला भएका कारण प्रचण्ड र प्रकाश गाडीबाट सिधै प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा छिरे । सम्मेलन आयोजना हुने स्थल अगाडि नै पेटीमा प्रसिद्ध एक घण्टादेखि भुईंमै बसेर खानेकुरा खाँदै थिए । प्रसिद्धकी आमा सिर्जना त्रिपाठी कार्यक्रम स्थल वरपर नै थिईन् । उनले अन्यत्रै भेटे ।

प्रचण्ड परिवारको माया नपाएपनि सिर्जना माओवादी केन्द्रकै जिल्ला तहकी स्थानीय नेतृ हुन् । उनी पार्टीमै छिन् । प्रसिद्ध पनि बुझ्ने हुँदै गएका छन् । उनले फोटो खिच्ने बेला टाउको लुकाउने गर्दथे । प्रचण्ड र प्रकाश भित्र रहँदा प्रसिद्ध बाहिरै थिए । जानेबेला समेत उनले देख्न पाएनन् भने आउँदा समेत बुबा र हजुरबा देखेनन् ।

आईतबार प्रकाश दाहालको निधनपछि हस्पिटलमा प्रकाश देख्ने बित्तिकै सिर्जना बेहोस् भईन् । बिनालाई सबैले चिनेपनि सिर्जनालाई सिमित व्यक्तिहरुले मात्र पहिचान गर्न पाए। अस्पतालभित्र प्रवेश गरेर प्रकाशको अवस्था देख्नासाथ उनी त्यहिँ अचेत भइन्। उनी अचेत भएको हल्ला केहिबेरमै ‘एक कान, दुई कान, मैदान’ भइसकेको थियो। अर्धमुच्र्छित उनलाई नर्भिकमै ‘स्लाइन’ चढाएर राखियो।

एकाएक एक युवती गाडीबाट ओर्लिएर चिच्याउँदै दौडिएको देखियो। उनलाई वाइसिएल अध्यक्ष दिपशिखा लगायत चारपाँच व्यक्तिहरुले सहारा दिइरहेका थिए। भावविह्वल उनी सम्हालिनै सकिरहेकी थिइनन्। उनी प्रकाश पत्नी बिना मगर थिइन्। पतीको निधनमा विह्वल उनको आगमनले सबैलाई भावुक बनाइदियो। रुँदै, चिच्याउँदै, दौडिँदै गरेकी उनलाई केहि व्यक्तिहरुले सम्हालेर अस्पताल प्रवेश गराए।

बिना आउनुअगावै प्रकाशकी जेठी पत्नी सिर्जना अस्पताल प्रवेश गरिसकेकी थिइन।प्रचण्डले छोरा प्रकाशको पार्थिव शरीरमा दागबत्ती दिएर हिंडेपछि आर्यघाटको एक कुनामा देखिइन् सिर्जना । अर्धमुर्छित अवस्थामा देखिएकी उनीसँगै थिए प्रकाशपुत्र ।

प्रचण्ड पोखरा आउँदा नाति भेट्थे । प्रसिद्ध प्रकाशकै छोरो भनेर चिन्छन् किनकि उनको अनुहार ठ्याक्कै प्रकाश जस्तै छ । देख्नेहरु ‘आँटीकुटी बाबुजस्तै’ भन्दै थिए । अवोध बालक भावबिहवल अवस्थाकी आमाको अनुहारमा हेरेर अँध्यारो मुख लगाइरहेका थिए । पहिचान गर्न सक्ने केही फोटो पत्रकारका आँखा सिर्जनाका आमा–छोरामा परे । ‘क्लिक, क्लिक’, उनीहरुले तस्वीर लिए ।

केही आफन्तले किन खिच्नुप-यो फोटो ? भन्दै उनीहरुलाई क्यामेराको फ्रेमबाट लुकाए । माओवादी नेता डिलाराम आचार्यले प्रकाशका छोरा च्यापे । जलिरहेको श्रीमानको शव नजिकै चिताबाट सिर्जना एक अधवैंशे महिलाका साथ बाहिरिँदै थिइन् । प्रकाशपुत्र फरक्क फर्किए जहाँ उनका बाबुको शव चितामा जलिरहेको थियो ।

केहीबेर एकटकले हेरे । थाहा छैन उनले आफ्ना पिता त्यही आगोको धुवाँ र मुस्लोमा मिलिसकेको थाहा पाए वा पाएनन् । तर, बालकले धेरै भावुक भएर चितामा हेरेका थिए ।

माओवादीकै नेता पोष्टवहादुर बोगटीकी छोरी प्रभासंग गरेको जनवादी विवाह समझदारी मै विच्छेद गरेका प्रकाशले नौ वर्ष अघि पोखरा हेम्जाकी श्रृजना त्रिपाठीसँग मागी विवाह गरे । श्रृजनाबाट एक छोरा प्रसिद्ध हुन् । दाम्पत्य जीवनको चार वर्षमै बिना मगरसँग सगरमाथा आरोहणका क्रममा हिमचिम बढेपछि तेस्रो विवाह गरे । बिना तर्फबाट पनि छोरा जन्मियो । प्रणव तीन वर्षका भए ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ