काठमाडौं, ३ मंसिर। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ ।
उनको आइतबार बिहान हृदयघातपछि नर्भिक अस्पताल थापाथली ल्याउँदा ल्याउँदै निधन भएको अस्पतालको उच्चस्रोतले जनाएको छ । तर, अस्पतालले भने औपचारिक जानकारीका लागि केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ । लाजिम्पाट स्थित निजी निवासमै प्रकाशलाई हृदयघात भएको थियो ।
दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो ।सधैं प्रचण्डसँगै हिँड्ने गरेका उनी मलाई सन्चो छैन भनेर चितवनको चुनावी कार्यक्रमलाई बीचमै छाडेर काठमाडौं फर्किएका थिए । उनी प्रचण्डसँग गोरखा, बाग्लुङ, झापा लगायत स्थानका कार्यक्रममा गएका थिएनन् । उनी काठमाडौंमा आमासँग बसेका थिए ।
दाहालको निधनपछि नर्भिक अस्पतालमा पुगेका पत्नी सिर्जना त्रिपाठी र भाञ्जीहरू राेइरहेकाे कारूणिक दृश्य देखिएका छन् ।

छोराको निधन भएपछि चुनावी अभियानमा झापा विर्तामोड पुगेका दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्केका छन् ।
छोराको निधन भएको खबरपछि दाहाल आइतबार मोरङको विराटचोकमा हुने वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छाडेर काठमाडौं फर्केका हुन् ।भरतपुर महानरपालिका मेयर रहेकी प्रचण्ड पुत्री रेणु दाहाल पनि काठमाडौँ पुगेको पारिवारिक स्रोतले जानकारी दियो।

को थिए प्रकाश दाहाल ?
प्रकाश पूर्वप्रधानमन्त्री समेत रहेका दाहालका एकमात्र छोरा हुन् । उनी दाहाल प्रधानमन्त्री हुँदा स्वकीय सचिवका रुपमा नियुक्त भएका थिए । २०३८ सालमा जन्मेका प्रकाश दाहालका दुई श्रीमती र दुई छोरा छन् । उनका पोखरामा रहेकी श्रीमती सिर्जना छोरासहित नर्भिक अस्पतालमा पुगेकी छिन् । माओवादी केन्द्रका नेता पोष्टबहादुर बागेगटीकी छोरी प्रभा बोगटीसँगको पहिलो बिहे भने सम्बन्ध विच्छेदमा टुंगिएको थियो ।

माओवादीले चलाएको सशस्त्र युद्धमा सानैदेखि लागेका दाहाल पार्टी महाधिवेशन आयोजक समिति सदस्य थिए । उनी बुबा पुष्पकमल दाहालको स्वास्थ्य, सुरक्षा र सञ्चार व्यवस्थापनमा खटिँदै आएका थिए ।
प्रकाशलाई एक कुशल व्यवस्थापकको रुपमा लिइन्छ । आफ्नो भन्दा पनि बुवा प्रचण्ड, पार्टी र राष्ट्रिय हित एवं स्वार्थका बारेमा बढी सोच्ने व्यक्तिका रुपमा निकट रहेकाहरुले बताउने गरेका छन् । प्रचण्डका दुई छोरी र एक छोरामध्ये जेठी छोरी ज्ञानुको क्यान्सरका कारण यसअघि नै निधन भएको थियो ।
जसले आफैं फेसबुकको फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाए
प्रकाश दाहालले अब कहिल्यै फेसबुक चलाउने छैनन् । प्रकाशको फेसबुकमा रहेको प्रोफाइल तस्वीरसमेत ‘ब्ल्याक एण्ड ह्वाइट’ बनिसकेको छ ।

संयोग पनि कस्तो ! मृत्युपूर्व अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राख्न भ्याएका छन् ।
कृष्णबहादुर महरासहितको सामुहिक रंगीन तस्वीर हटाएर प्रकाशले अघिल्लो साता नै आफ्नो प्रोफाइल तस्वीर ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाएका थिए । नेपाली संस्कारअनुसार, मृत्यु भइसकेकाे मानिसकाे तस्वीर श्यामश्वेत बनाउने चलन छ ।
आफ्नो फेसबुकको अन्तिम पोष्टिङमा भने प्रकाश दाहालले केही पनि नलेखिकन छोराको तस्वीर राखेका थिए ।
दाहालले आफ्नो फेसबुकको कभर फोटोमा बलिरहेको दीयो राखेका छन् । त्यहा उनी छोराका साथमा देखिन्छन् । र, उनले दशैं, तिहार र छठमा स्वदेश र विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरुलाई दिएको शुभकामना नै जीवनको अन्तिम शुभकामना बन्न पुगेको छ ।

प्रकाश पत्नी मगर तीन वर्षीय छोरासहित काठमाडौं आउँदै
पति प्रकाश दाहालको निधनको खबरसँगै उनकी पत्नी बिना मगर छोरासहित काठमाडौं फर्केका छन् ।
कञ्चनपुर क्षेत्र नम्बर १ मा बाम गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेकी मगर धनगढीबाट काठमाडौंका लागि उडेकी हुन्। उनी तीन वर्षीय छोरासहित काठमाडौं फर्केका छन्। प्रकाश दाहाल निधनको खबरसँगै मगरलाई कञ्चनपुरबाट प्रहरीले विमानस्थल पुर्याएको थियो।
ओली पनि प्रचण्डसँगै झापाबाट काठमाडौँमा
प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पनि हेलिकप्टरमा झापाबाट काठमाडौँ आएका छन्।
झापाबाट काठमाडौँ उडेका ‘प्रचण्ड’, ओली बल्खुस्थित बयोधा अस्पतालको हेलिप्याडमा अवतरण गरेरका छन्। हेलिकप्टरमार्फत बल्खुमा ओर्लने भए पछि बल्खुदेखि थापाथलीसम्मको सडक खाली बनाइएको छ।
बाबुराम भट्टराई पनि काठमाडौं
काठमाडौं / माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको असमायिक निधनको खबरले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई स्तब्ध भएका छन्।
चुनावी प्रचारका लागि गोरखामा रहेका भट्टराई अन्तिम श्रदाञ्जली दिन काठमाडौं आउने भएका छन्। एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायत नेताहरु नर्भिकमै छन् । अस्पतालमा माओवादी नेताहरु आउने क्रम जारी रहेको छ । राम बहादुर थापा ‘बादल’ तथा गिरिराज मणि पोखरेल अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जली अर्पण
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाश दाहालको निधनप्रति श्रदाञ्जली अर्पण गरेका छन्। उनले ट्विटमार्फत् श्रद्धाञ्जली अर्पण गरेका हुन्।
‘पूर्वप्रधानमन्त्री एवं मेरा मित्र पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खबरले मर्माहत भएको छु। मृतकप्रति हार्दिक श्रदाञ्जली र शोकाकुल परिवारजनलाई यस दुःखद घडीमा हार्दिक समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री देउवाले लेखेका छन्।
यसैबीच अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। माओवादी केन्द्रका नेता तथा कार्यकर्ता, आफन्त, सुभेच्छुकसंगै अन्य दलका नेताहरुसमेत पुग्ने क्रम सुरू भएसँगै अस्पतालमा सुरक्षा कडा गरिएको हो।
नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीको टोलीले अस्पताल परिसरमा सुरक्षा दिइरहेको छ।

सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो