– लालबाबु पण्डित
बिहान ७ बजेको थियो । म पुल्चोकस्थित क्वार्टरमै थिएँ । एक–दुई जना पार्टी कार्यकर्ता भेटघाटका लागि कुरेर बसेका थिए । भारतीय दूतावाससँग सम्बन्धित एक जना आइपुगे ।
‘भरत सुवेदीले जे जे भन्छ त्यो काम गरिदिनुस् । उसले भनेको काम नगरे राम्रो हुन्न,’ चेतावनीकै शैलीमा उनले भने ।
मैले कुरा सुनेँ । उनीसँग सवाल–जवाफ गर्नुपर्ने कुनै कारण थिएन । उनी गए ।
दिउँसो १२ बजे । म मन्त्रालयमै थिएँ । मेरो मोबाइलमा एसएमएसको घन्टी बज्यो । एसएमएस मलाई बिहान भेट्न आउने व्यक्तिले पठाएका रहेछन् ।
‘भरत सुवेदीलाई दुई घण्टाभित्र अर्थ मन्त्रालयमा सरुवा दिनुस् । त्यति समयभित्र सरुवा नदिए तपाईंले जे पनि भोग्नुपर्छ,’ एसएमएसमा भनिएको थियो ।
कर्मचारीले आफ्नो कामका लागि आफैं र राजनीतिक नेतामार्फत् दबाब दिनु त स्वाभाविक हो । तर आफ्नो सानो स्वार्थपूर्तिका लागि विदेशी मानिससमेत प्रयोग गर्नुजस्तो गैरजिम्मेवार र नीच हर्कत हुन्छ भन्ने सोचेको पनि थिइनँ । कर्मचारीको यस्तो प्रवृत्ति देखेर दु:ख लाग्यो ।
सुवेदी अर्थ मन्त्रालयअन्तर्गतका बढी आम्दानी हुने भन्सार र राजस्वमा लामो समय बसेका थिए । म मन्त्री भएपछि उनले त्यस्तै ठाउँ खोजेका थिए । अर्थ मन्त्रालयको राजस्वमा जान उनले प्रयास गरे । मैले रोकेको थिएँ । सुवेदीको विगत राम्रो नभएको सूचना मसँग थियो । एमालेका नेता, प्रधानमन्त्री सुशील कोइराला र अन्य मन्त्रीमार्फत् उनले दबाब सिर्जना गराएका थिए । मैले कसैको कुरा नसुनेपछि दूतावास गुहारेछन् ।
म दूतावासका कर्मचारीको धम्कीसँग किन डराउने ! मन्त्री हुन्जेलसम्मै सुवेदीले भनेको काम गरिनँ । म मन्त्री हुँदै उनले अवकाश पाए ।
***
म मन्त्री भएको केही समयपछि सुवेदी बढुवा भएर सामान्य प्रशासन मन्त्रालय आएका थिए । बढुवा भएकाहरूलाई जिम्मेवारी दिएर खटाउने काम सामान्य प्रशासन मन्त्रालयको हो । मलाई एमालेका केही नेताले ‘भरत सुवेदीले तपाईंसँग भेट्न खोजेका छन्, उनको कुरा सुनिदिनुस्’ भनेका थिए । म एमालेको कोटाबाट मन्त्री भएकाले पार्टीकै नेताहरूमार्फत् गयो भने आफ्नो काम गराउन सकिन्छ भन्ने उनलाई लागेको रहेछ ।
मन्त्रालयको आफ्नै कार्यकक्षमा थिएँ । त्यही बेला सुवेदी छिरे । उनका आफ्नै गुनासा थिए । एक महिनापछि मलाई भेट्न मन्त्री निवासमा आए ।
‘म तपाईंलाई सहयोग गर्छु, मेरो सरुवा मिलाइदिनुस्,’ उनले भने ।
मलाई उनीबारे त्यति धेरै थाहा थिएन । उनकै बारे कुरा चल्दै गर्दा अर्थ मन्त्रालयबाट सरुवा गरिदिने व्यहोराको चिठी आयो । त्यसपछि सोच्न थालेँ । चिठीबारे पनि बुझेँ । उनलाई किन अरू नभएर अर्थ मन्त्रालय नै चाहिने ?
मसँग सङ्गत भएकाहरूले सुवेदीको कुरा गर्न थाले । मलाई शङ्का लाग्न थाल्यो । मकहाँ आउने धेरै मान्छेले उनकै कुरा गर्थे । उनी सबै कहाँ पुग्दा रहेछन् । किन भरत सुवेदीको नाम सबैले लिन्छन् ? बुझ्दै जाँदा थाहा भयो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्रन खोजेका २२ जनाको सूचीमा उनको नाम पनि रहेछ । अर्थ मन्त्रालय, राजस्व विभाग, तातोपानी भन्सार कार्यालयलगायत जहाँ–जहाँ गए, त्यहाँ उनको आचरण राम्रो रहेनछ । उनले पठाएका मानिसहरू पनि उस्तै । यसले त मलाई झन् गम्भीर बनायो ।
सुवेदी भने घमण्डी थिए । कसैलाई नटेर्ने । सबैलाई आर्थिक प्रलोभनमा पारेर आफ्नो हातमा लिने बानी रहेछ । त्यो प्रयास मलाई पनि गरे ।
अर्थमन्त्री डा. रामशरण महतले उनलाई अर्थमा लैजान बढी जोड गर्नुभएको थियो ।
‘मैले अर्थमा पठाउन पत्र लेखेँ । तपाईंले त्यति काम पनि नगरिदिने ? सुवेदीलाई मकहाँ पठाइदिनुस्,’ मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. महतले धेरैपटक यस्तै भाषामा मलाई भन्नुभयो । मैले टेरिनँ । आफूले भनेको नभए आफू खुसी काम गर्ने प्रवृत्ति मन्त्री डा. महतको थियो ।
सामान्य प्रशासन मन्त्रालयमा भएर पनि सुवेदी हाजिर गर्दैनथे । उनलाई श्रमको तालिम केन्द्रमा पठाइदिएँ । श्रममा गएर पनिहाजिर गरेनन् । उनले ८९ औं दिनमा हाजिर गरे । ९० दिनसम्म हाजिर नगरे राष्ट्रसेवक स्वत: बर्खास्तगीमा पर्ने भएर उनले अन्तिम दिन हाजिर गरेका हुन् । उनी आफ्नो अहमता देखाउँदै हिँडेका थिए । उनलाई मन्त्री डा. महतले बढी संरक्षण गरेको पाएँ ।
‘म सामान्यको चिठी र सरुवा मान्दिनँ,’ उनी खुलमखुला बोल्दै हिँडे ।
‘९० दिन पुगेपछि म बर्खास्त गरिदिन्छु,’ मैले भनेँ ।
अर्थमन्त्रीले अर्थमा पठाउन भन्न छाड्नुभएको थिएन । ‘यो मेरो प्रतिष्ठाको विषय हो,’ उहाँले भन्नुभयो ।
‘पहिला हाजिर त होऊन्, त्यसपछि तपाईंले नै भनेको ठाउँमा पठाइदिन्छु,’ मैले भनेँ ।
म अर्थमन्त्रीसँग प्रक्रियाको कुरा गर्दै थिएँ । तर सुवेदी सरुवा नै नभई अर्थ मन्त्रालय गएछन् । थाहा पाएपछि मलाई जङ्ग चल्यो ।
मन्त्रिपरिषद् बैठकमा कुरा निकालेँ ।
‘अर्थ मन्त्रालयले सरुवा गर्ने कुन कानुन कुन देशको सिस्टममा छ ? सामान्यले बाहेक अरूले सरुवा गर्न मिल्दैन भन्ने थाहा हुँदाहुँदै अर्थले सरुवा गर्ने ?’ मैले भनेँ ।
अरू मन्त्री बोल्नुभएन । डा. महतले भने प्रतिवाद गर्नुभयो, ‘तपाईंलाई पटक–पटक भनेँ । काम नभएपछि मैले हाजिर गराएको हुँ ।’
‘कर्मचारीको सरुवा गर्ने अधिकार अर्थलाई छ ?’ मैले भनेँ ।
चर्काचर्की भयो ।
त्यसपछि ‘कुन अधिकार प्रयोग गरेर भरत सुवेदीलाई अर्थमा पठाइएको हो ?’ भनेर श्रमलाई चिठी लेखेँ । अर्थले माग गरेको हुनाले पठाइएको भन्ने जवाफ आयो । माग गरेकाले पठाउने अधिकार कुन दफामा छ भनेर सोधेँ ।
सुवेदी राजस्व विभागमा हाजिर भएका थिए । त्यही विभागका महानिर्देशकलाई बोलाएँ ।
‘तपाईंले कुन कानुनले हाजिर गराउनुभयो ?’ मैले भनेँ, ‘म तपाईंलाई पाँच दिनको समय दिन्छु । पाँच दिनभित्र सुवेदी फिर्ता नभए तपाईं डीजी रहनुहुन्न । म तपाईंलाई पनि बर्खास्त गरिदिन्छु । र, छैटौं दिन अर्थ मन्त्रालयको सचिव पनि रहँदैनन् । यो कुरा सचिवलाई सुनाइदिनू ।’
उनी अक्क न बक्क भए ।
पाँचौं दिनमा सुवेदीलाई श्रमको तालिम केन्द्रमा फिर्ता पठाइदिए । यही बीचमा मन्त्रिपरिषद् बैठक बस्यो । बैठकबाट सुवेदीको श्रम मन्त्रालयमा सरुवा भयो । उनी श्रम मन्त्रालय पनि जान मानेका थिएनन् । श्रममा नजाने हो भने के गर्नुपर्ने हो, त्यो गर्छु भनेर धम्क्याएपछि मात्र उनले हाजिर गरे । श्रमले वैदेशिक विभागको महानिर्देशक बनाएर पठाएछ । त्यो त श्रमको अधिकार क्षेत्रभित्रको कुरा हो ।
एक जना सामान्य कर्मचारीको विषयलाई लिएर भएको नियति हो यो । यसबाट हामी कसरी चलेका छौं र हाम्रो प्रशासन संयन्त्र कसरी चलेको छ भन्ने बुझ्न धेरै सजिलो हुन्छ ।
मेरो सूचनामा उनीसँग अस्ट्रेलियाको पीआर थियो । नक्कली नामले भारतको रासनकार्ड लिएका थिए । त्यही रासनकार्डबाट अस्ट्रेलियाको पीआर लिएका हुन् । नेपालबाट नलिएको हुनाले ‘मसँग पीआर छैन’ भन्न उनलाई सजिलो भयो ।
सामान्य प्रशासन मन्त्रालयले सुवेदीको नागरिकताको विषयमा छानबिन गर्न तीन सदस्यीय टोली बनायो । उनको जन्ममिति किटान गर्नु थियो । उनको रेकर्डमा र नागरिकतामा बेग्लाबेग्लै जन्ममिति थियो । त्यो टिमले छानबिन गरेपछि उनको जन्ममिति १४ असोज २०१४ कायम भयो । १४ असोज २०७२ बाट उनी निवृत्त भए । नेपालबाट पीआर लिएको देखिएन । उनले लिएको स्वीकार गरेको भए पनि कानुनी प्रावधानअनुसार अघि बढ्दा सेवाबाट निवृत्त भइसक्ने हुनाले त्यता प्रवेश गरेनौं ।
मलाई प्रभावित गर्न उनले हरसम्भव प्रयास गरेका हुन् । एमालेका नेता भेटे । मेरा इष्टमित्र, आफन्त सबैकहाँ पुगे । उनको विषयमा एमालेका साना–ठूला गरी करिब २५ जनाभन्दा बढी नेताले सिफारिस गरे । पार्टी अध्यक्षबाहेक अधिकांश नेतासँग आफ्नो कुरा पुर्याएर भन्न लगाए । केही त मेरो टोलछिमेक मोरङका मानिस पनि थिए । सांसदहरू पनि सुवेदीकै सिफारिस बोकेर आउनुभयो ।
सुवेदीकै विषयले मैले थ्रेट महसुस पनि गरेँ । पार्टीका नेताहरूले पनि मलाई सुनाउनुभयो ।
‘म कुनै पनि दबाबसँग झुक्दिनँ,’ सार्वजनिक रूपमा बोल्न थालेँ ।
झलनाथ खनाल, माधव नेपालसम्मले ‘सुवेदीलाई अन्याय भयो, न्याय दिलाइदिनुस्’ भन्नुभयो ।
‘अन्याय हुन दिएकै छैन,’ म भन्थेँ ।
मेरो ज्यानको सुरक्षा खतरा छ भन्ने कुरा पार्टी नेतृत्वसम्म जानकारी भएछ । नेताहरूले सतर्क गराउनुभयो । सरकारी सेक्युरिटीमा ख्याल गर्न थालेँ । सरकारले आफ्नै तरिकाले सुरक्षाको बन्दोबस्ती गर्यो ।
जे भन्यो त्यही मैले गरेको भए मेरो पहिचान स्थापित हुने थिएन । एउटै मानिसका लागि धेरै दबाब आएपछि मैले सार्वजनिक रूपमै खराब मान्छेका पनि धेरै मानिस हुँदा रहेछन् भनेर बोलेँ ।
सम्बन्धित खबर
कहाँ हराएको छ हाम्रो खुसी ?
मगर समुदायको माघेसंक्रान्ति र पुतली नाँच: योमाखार र पेल्माखारसंग सम्बन्ध
‘मैले देखेको पोखरामा हाम्रो भूमिका’
मर्दी बेस क्याम्प यात्रा संस्मरण: झरीको कष्टकर यात्रा बिर्साउने त्यो घुम्टो उघारेको हिमाल
पोखरामा अवस्था खराब बन्दा मेरो ‘कोरोना अनुभव’
मानुङ्गले दिएको सन्देश र व्यासको पर्यटन सम्भाव्यता
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी