चीनको सहयोगमा पोखरादेखि काठमाण्डौ एक घन्टामै, रेलमा सरर

चीनको सहयोगमा पोखरादेखि काठमाण्डौ एक घन्टामै, रेलमा सरर

China rail

पोखरा– काठमाडौं रेलवे स्थलगत अध्ययनका लागि आएको टोली बुधबार बिहान घारीपाटनमा नक्सा हेर्दै । फोटोः समाधान पत्रिकाबाट 

पोखरा, २३ कार्तिक / दलहरुले विकासे नारा लगाइँरहँदा चीनबाट आएको उच्चस्तरीय टोली केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको स्थलगत अध्ययनमा जुटेको छ । चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा बुधबार बिहानै पोखरा आएको टोलीले बुधबार काठमाडौंदेखि पोखरासम्म रेल निर्माणका लागि स्थलगत अध्ययन गरेको छ । समाधान दैनिकले खबर छापेको छ ।

यो अध्ययनपछि रेलमार्ग बनेका पोखराबाट काठमाडौं १ घन्टामै पुग्न सकिन्छ । पोखरा–काठमाडौं रेलमार्ग १ सय ८७ किमी हुनेछ । दु्रतगतिको रेल प्रति घन्टा २ सय किमीको गतिमा कुद्छ । टोलीमा सहभागी टोलीमा सहभागी नेपालको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त शर्माले भने,‘रेगमार्ग बनेपछि १ घन्टामै पोखराबाट काठमाडौं पुग्न सकिन्छ ।’ अहिले गाडीमा पोखराबाट काठमाडौं पुग्न कम्तीमा पनि छ घन्टा लाग्छ ।

शर्माले टोलीले पोखरामा स्टेशन रहने स्थानको बारेमा अध्ययन गरेको बताए । उनले भने,‘चिनिया प्राविधिकले एक किसिमको खाका बनाइसकेका छन् । त्यही खाकाको आधारमा उनीहरुले स्थलगत अध्ययन गरिरहेका छन् ।’स्टेशन राख्नका लागि पोखराको घारीपाटनस्थित सांग्रिला रिसोर्टको छेउ र हेम्जा गरी २ ठाउँमा पुगेर टोलीले अध्ययन गरेको थियो । पोखराको अध्ययन सकेर टोली बुधबारै काठमाडौं फर्केको छ । इन्जिनियर शर्माले भने,‘यहाँको भौगोलिक अवस्थिति देखेर उनीहरु उत्साही भएका छन्, पोखरा काठमाडौं रेल मार्ग बनाउन उनीहरु सकारात्मक छन् ।’

२३ सदस्यीय टोलीमा चीनको परराष्ट्र र यातायात मन्त्रालयका प्रतिनिधि, सरकारी कर्मचारी, नेशनल डेभलपमेन्ट कमिसनका अधिकारी, नेपालस्थित चिनिया राजदूतावासका अधिकारी, परामर्शदाता, निर्माण व्यवसायी, बैंकका प्रतिनिधिसमेत छन् । नेपालको भौगोलिक अवस्था र रेलमार्गका लागि चीनले गर्नुपर्ने सहयोगका विषयमा अध्ययन तथा छलफल गर्न टोलीले जिम्मेवारी पाएको छ ।

यस अघि लगानी बोर्डले १६ खर्ब २१ अर्ब लगानी प्रस्तावमा पोखरा–काठमाडौं रेल मार्गसहित महत्वपूर्ण ८ वटा आयोजनाको निर्माण अघि बढाउने निर्णय गरेको छ । पोखरा –काठमाडौं रेलसेवा परियोजानमा २ अर्ब ८३ करोड अमेरिकी डलर लागत अनुमान गरिएको छ ।

केरुङ–काठमाडौं रेलमार्ग निर्माण धेरै गाह्रो भएको र यसको लागि ठूलो लगानीका साथै प्राविधि आवश्यक पर्ने चिनियाँ टोलीले जानकारी छ । उनीहरुका अनुसार उक्त क्षेत्रमा ठूला पहाड भएकाले धेरै सुरुङ र पुल निर्माण गर्नु पर्ने हुन्छ । पोखरा–काठमाडौं रेलमार्ग निर्माणका लागि भने केरुङको भन्दा सहज देखिएको छ । सम्पूर्ण प्राविधिक विशेषता हेरेपछि मात्र लगानी र २ देशबीचको सम्झौताको विषय अघि बढ्ने चिनियाँ टोलीले बताएको छ ।

तिब्बती पठारको सिगात्सेसम्म निर्माण भइसकेको रेलमार्ग रसुवाको केरुङ हुँदै काठमाडौंसम्म जोड्ने योजना सरकारले बनाएको छ । नेपालले हस्ताक्षर गरिसकेको ‘वान बेल्ट, वान रोड’को अवधारणाभित्र उक्त रेलमार्ग पर्छ । उक्त रेलमार्ग काठमाडौंबाट लुम्बिनीसम्म जोड्ने सरकारी योजना छ । नेपाल सरकारले काठमाडौं–पोखरा लुम्बिनिको योजना अघि सारिरहेका बेले चिनिया प्राविधिकहरु भने मुगलिनबाटै तराई जोडेर रेलमार्ग लुम्बिनी पु¥याउन सहज हुने बताइरहेका छन् । पोखरा–लुम्बिनी बीचमा धेरै पहाड भएका कारण खर्चिलो हुने देखिएको छ ।

चिनियाँ पक्षले चीन–नेपाल अन्तरदेशीय रेलमार्ग बनाउन इच्छा देखाइरहेको बेला अब उक्त रेलमार्ग निर्माण गर्ने÷नगर्ने विषय नेपाल सरकारको इच्छाशक्तिमा भर पर्ने विश्लेषकहरूले बताएका छन् । दक्षिणी छिमेकीले अन्तरदेशीय रेलमार्ग बनाउने नीति अनुसार सहयोग गर्ने चाहना राखिरहेको बेला उत्तरतर्फको रेलमार्ग नेपाल सरकार र यहाँका राजनीतिक नेताको इच्छाशक्तिमा भर पर्ने उनीहरूले बताउँदै आएका छन् ।

चीनले ११ सय किलोमिटर रेलमार्ग मार्फत चीन स्वशासित तिब्बतको राजधानी ल्हासामा सन् २००६ मै रेल पु¥याएको छ । त्यसपछि २ सय ५० किलोमिटर विस्तार गरेर सिगात्सेसम्म ल्याइपु¥याएको छ । सन् २०२० सम्ममा चीनले केरुङ नाकासम्म रेल सेवा सञ्चालन गरिसक्ने प्रतिबद्धता जनाइसकेको छ ।

पोखरा– काठमाडौं रेलवे स्थलगत अध्ययनका लागि आएको टोली बुधबार बिहान घारीपाटनमा नक्सा हेर्दै । फोटोः समाधान पत्रिकाबाट

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ