पोखरा, २२ कार्तिक / वन विज्ञान अध्ययन संस्थान पोखरामा विएस्सी पहिलो सेमेस्टरको परीक्षा चल्दै थियो । कैलालीका भीष्मराज जोशी क्याम्पस नजिकैको जंगल जानेक्रममा सेती नदीमा खसे । उनी अहिलेसम्म पनि बेपत्ता छन् । यो २०७२ सालको कुरा हो ।समाधान दैनिकका लागि अमृत सुवेदीले लेखेका छन् ।
पहिलो सेमेस्टरको सबै विषयका परीक्षा दिइ नसक्दै बेपत्ता भएका जोशी चौथो सेमेस्टरको परीक्षाको नतिजा आउँदा उत्तीर्णको सूचीमा परे । उनी बेपत्ता भएको २ वर्षपछि प्रकाशित चौथो समेस्टरको नतिजामा कसरी उत्तीर्ण भए ? सबै विद्यार्थी चकित परे ।
कास्कीका विनय भण्डारी पहिलो सेमेस्टरको परीक्षा दिएर २०७३ सालमा अमेरिका गए । उनले दोस्रो र तेस्रो समेस्टरको परीक्षा दिएकै छैनन् तर उनको नाम पनि तेस्रो समेस्टर पास हुने विद्यार्थीको सूचीमा प¥यो । वन विज्ञान अध्ययन संस्थान डिन कार्यालय अन्तर्गतको परीक्षा महाशाखाबाट प्रकाशित विभिन्न तहको नतिजामा यस्तै गम्भीर लापरवाही भेटिएको छ । बेपत्ता, विदेश गएका विद्यार्थी नतिजा सार्वनजिक हुँदा पास तर मार्कसिटमा फेल आउने लगायतका त्रुटि परीक्षा महाशाखाले गरेको छ ।
अध्ययन संस्थानको डिन कार्यालय र परीक्षा महाशाखाको चरम लापरवाही देखिएको भन्दै विभिन्न विद्यार्थी संगठनले विरोध जनाएका छन् । समयमै परीक्षाफल प्रकाशित नगर्ने, हास्यास्पद र आधारहीन परीक्षा नतिजा सार्वजनिक गर्ने कामले संस्थानको डिन कार्यालय र परीक्षा महाशाखामाथि विश्वास घट्दै गएको विद्यार्थीले गुनासो गरेका छन् ।
‘सामान्य त्रुटि हुनु स्वभाविक हो तर डिन कार्यालय र परीक्षा महाशाखाको गम्भीर लापरवाहीले दिग्भ्रमित बनाएको छ,’ संस्थानका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका इकाई अध्यक्ष जीवन पौडेलले भने, ‘यस्ता गल्ती एकपटक होइन पटकपटक भएका कारण गम्भीर आशंका पैदा गरेको छ ।’
विद्यार्थीहरुले तत्काल छानबिन गरी यथार्थ सार्वजनिक गर्न माग गरेका छन् । ‘निस्पक्ष नतिजा प्रकाशन गर्न र विद्यार्थीको भविष्यमाथि खेलवाड नगरी कार्यसम्पादन गर्न माग गर्दछौं,’ विद्यार्थी संगठनहरुले विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन् । दशैं अगाडि नै वा दशैं र तिहारको बीचमै आउनु पर्ने परीक्षाको नतिजा ढिला गरी सार्वजनिक हुँदा पनि विद्यार्थीमाथि गम्भीर असर पर्ने गरी आउनु ठूलो लापरवाही भएको अखिल छैठौंका अध्यक्ष विमल पाण्डेले बताए ।
‘ढिला गरी सार्वजनिक भएका विभिन्न तहको नतिजामात्रै त्रुटिपूर्ण छैनन्, स्नातक तह र स्नातकोत्तर तहको भर्ना आवेदन फारम सम्बन्धी सूचना डिन कार्यालयबाट आधिकारिक रुपमा नआउँदै विभिन्न समूहका नाममा आएको छ । यो खेदपूर्ण छ,’ पाण्डेले भने ।
स्वतन्त्र विद्यार्थी युनियन, नेवि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र अखिल छैटौंले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै संस्थानको ध्यानाकर्षण गराउँदै छानबिन गरी यथार्थ सार्वजनिक गर्न माग गरेका छन् ।
टाइप गर्दा गल्ती भयो : परीक्षा महाशाखा प्रमुख
किन यसरी लापरवाही गरियो त ? वन विज्ञान अध्ययन संस्थानका परीक्षा महाशाखा प्रमुख अवधेश सिंहले भने, ‘यो कुनै षडयन्त्रपूर्वक गरिएको होइन । नतिजा कम्युटरमा टाइप गर्ने बेला गल्ती भएको हो ।’
बेपत्ता भएको र परीक्षा नै नदिएको विद्यार्थी पनि उत्तीर्णको सूचीमा आउनु त्रुटि भएको उनले स्वीकारे । ‘संस्थानका डिनदेखि हामी सबै सँगै थियौं तर टाइप गर्ने क्रममा गलत टाइप भएछ,’ उनले भने । बीचमा चुनाव र विभिन्न चाडवाडका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको सिंहले बताए ।
सम्बन्धित खबर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
पूर्व सहकारी रजिस्ट्रार पराजुली १ करोड ५ लाख घुस खाएको खुलेपछि फरार
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी