रञ्जन अधिकारी पोखरा, २८ असोज / बिहान बिहानै पोखराका विभिन्न ठाउँ पुगेर पत्रिका बेचेर जिवन गुजारा गर्दै आएका कृष्ण थापाको दैनिकीलाई बृत्तचित्रमा उतारिएको छ । अपांगता भएका व्यक्ति भएपनि कृष्ण आत्मनिर्भर छन् । आत्मनिर्भर उनै कृष्णको जिवनकथालाई सञ्चारकर्मी सुरज बस्याल ‘सन्जोक’ ले वृत्तचित्रमा उतारेका हुन् ।
‘कृष्ण, अ स्टोरी अफ सेल्फ डिपेन्डेन्स’ नामक उक्त वृत्तचित्र शनिबार पोखरामा सार्वजनिक गरियो । निर्माता निर्देशक बस्यालकै जन्मदिनको अवसर पारी पोखराका पत्रकार सहित विभिन्न क्षेत्रका व्यक्तित्वको जमघटबीच उक्त डकुमेन्ट्री सार्वजनिक गरिएको हो । वृत्तचित्र हेरेपछि सम्बन्धित क्षेत्रका विज्ञ तथा पत्रकारहरुले वृत्तचित्र निकै सकारात्मक सन्देशमूलक र उत्प्रेरक रहेको प्रतिक्रिया दिए ।
डकुमेन्ट्री मेकर सरोज सापकोटाले समाज चित्रणको दस्तावेजको रुपमा यो डकुमेन्ट्री रहने भन्दै कालान्तरमा समाज परिवर्तनको आधार बन्न सक्ने बताए । ह्युमन राइट्स इन्टरनेशनल फिल्म फेस्टिवलका फिल्म सेलेक्सन कमिटि मेम्बर समेत रहेका सापकोटाले आसन्न फिल्म फेस्टिभलमा प्रदर्शनका लागि अनुमति प्रदान गरे ।

कलाकार, निर्देशक, निर्माता एवं जीफानका संस्थापक अध्यक्ष माओत्से गुरुङले यो १३ मिनेटको डकुमेन्ट्री सिनेमा भन्दा पावरफुल बनेको बताए । अग्रज कलाकार प्रकाश घिमिरेले साङ्ग हुनुमात्रै जीवनको द्योतक होईन भन्दै रियल हिरोलाई टपक्क टिपेर समाजमा प्रदर्शन गरेकोमा प्रशंसा गरे ।
अग्रज पत्रकारद्वय नारायण कार्की र पुण्य पौडेलले पोखराका झण्डै चार लाख पात्रमा सधैं पत्रकार र सञ्चारकर्मीमाझ रहेर पनि देख्न नसकिएका कृष्णलाई मुख्य पात्र बनाएर यसरी प्रस्तुत गरेकोमा खुशी व्यक्त गरे ।
सो अवसरमा सञ्जोकका बुबा देवीप्रसादले विस्तारै र लगातार कुनै काम गरे विजय बन्ने बताए । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका पोखरा ३ का वडा अध्यक्ष रविन्द्रबहादुर प्रजु, संघका कोषाध्यक्ष पवन प्रजापति, गायक बिनोद बानियाँ, सोवित पौडेल लगायतले डकुमेन्ट्री सम्बन्धमा बोलेका थिए ।
निर्माता/निर्देशक सन्जोक बस्यालले आत्मसन्तुष्टि नै सबैभन्दा ठूलो भएको बताउँदै समाजमा कृष्णको जिवनबाट केहि सकारात्मक सन्देश पुग्ने ठानेर नै यो वृत्तचित्र तयार पारिएको बताए । विगत आठ वर्षदेखि सञ्चार क्षेत्रमा आबद्ध बस्यालले झण्डै आधा दर्जन म्युजिक भिडियो निर्देशन समेत गरिसकेका छन् । उनी बिग एफएमका कार्यक्रम संयोजक समेत हुन् ।

सो अवसरमा सन्जोकका बुबा देवीप्रसाद बस्याल सहितले कृष्ण र उनकी आमा विष्णुमायालाई जन्मदिनकै उपलक्ष्यमा नगद पाँच हजार पाँच रुपैंया सहयोग हस्तान्तरण पनि गरे । डकुमेन्ट्री हेरेपश्चात् माओत्से गुरुङ, शिव सुवेदी र सफल आचार्यले जनही एक हजार सहयोग प्रदान गरे । कार्यक्रमको सञ्चालन पत्रकार रञ्जन अधिकारीले गरेका थिए ।
वृत्तचित्रको सम्पादक जितेश प्रधान, क्यामेरा प्रकाश गुरुङ काश, भाषा दीपक थापा र गनेस पौडेल कोओर्डिनेटरहरु अर्पण तिवारी, शंकर तिवारी, कमल थापा र सुशन घिमिरे छन् । यो वृत्तचित्रलाई विभिन्न सर्ट फिल्म फेस्टिभलहरुमा प्रदर्शन गर्ने तयारी छ ।
सम्बन्धित खबर
चलचित्र ‘लाज शरणम’को प्रचारप्रसार रोक्न अदालतको आदेश
गीतकार डा. शिव सुवेदी भन्दै आए ‘फेरियौ मायालु’ [भिडियो]
नयाँ धुन र शब्दको संगम: मनमाया सार्वजनिक [भिडियो]
सन्दीप लामिछानेको नयाँ गीत ‘आउ फर्केर’ सार्वजनिक [भिडियो]
‘बुकी फुलेछ’ को फिमेल भर्सन बजारमा [भिडियो]
इन्द्रधारा बिष्टको ‘आमा तिम्रो’ सार्वजनिक [भिडियो]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो