‘…..खूब रिसाउनेछिन्
आमा
जब उनले थाहा पाउनेछिन्
मैले उनको नाममा
केही अक्षर खिपिरहेको छु
ममताको प्रचार
आमालाई मन पर्ने छैन
झर्को मान्नेछिन् त्यागको लेखाजोखा देखेर
र आमाले भन्नेछिन् –
तेरो साँघुरो शब्दको तराजुले मलाई नतौली छोरा
मलाई तौलिन सक्दैनस्
जसरी पानीको उत्ताप छाम्न सक्दैनस्
जसरी धर्तीको आँसु देख्न सक्दैनस्
जसरी आकाशको खुइय्य सुन्न सक्दैनस् …’
युवा कवि राजा पुनियानीले ‘आमाको नाममा’ लेखेको कविताको यी हरफहरुमा आमाको त्यागको बारेमा अक्षरले लेखाजोखा गरेको स्वयं आमालाई नै मन पर्दैन । आँशु नदेखाएर, थकानले नगलेर सन्ततिका लागि सदा समर्पित आमाहरु आकाश, धर्ती र पानी जस्तै हुन् । यी महान आमाको त्यागलाई बिर्सेर सन्तानले नै आमा त्यागेपछि सन्तति विरुद्धकै अक्षर खिपाउन आमाहरु बाध्य हुन्छन् ।
पहिले ‘मर्लान् कि ?’ भनेर डराउने आमाहरु अहिले ‘मार्लान् कि ?’ भनेर रुँदै हिँड्नुपर्ने अवस्था छ । वृद्धावस्थाको सहारा भनेकै सन्तान र सम्पति हुन् । यी दुवै वैरी बनेपछि बृद्धाश्रममा आश्रय लिएर काल कुर्नु बाहेक अरु के रह्यो र ? जब बुढाबुढी हुँदै जान्छन् तब आफ्नै रगतबाट पराई बन्दै जाने तीतो यथार्थताको साक्षी बन्दै आएका छौं । सम्पतिकै निहुँमा सन्तानको बैरी बनेपछि अर्मला ६ कास्कीकी सुमित्रा खत्रीलाई बृद्धाश्रम बाहेक जाने ठाउँ कतै रहेन । ‘छोरीहरुले पाल्छु त भन्छन् नि । मर्ने बेला छोरीको परिवारलाई किन दुःख दिउँ ?’– उनले दुःखेसो पोखिन् । ७९ वर्षीया सुमित्रा बल्ल आएर मुख खोल्न बाध्य बनिन् । वात्स्यायन वृद्धाश्रममा जान तयार भएपछि मात्रै सार्वजनिक भएकी सुमित्रा घर र छोरोबुहारीको व्यवहारबारे धेरै खुल्न चाहिनन् ।
सुमित्रालाई छोराबुहारी, नातिनीको व्यवहार सम्झँदा निधारमा भन्दा बढि गाँठो मुटुमा पर्छ । घरमा सम्पतिको किचलो भएको चार वर्ष अघि नै हो । पटक–पटक घरेलु हिंसाको शिकार बनेकी उनलाई दुई वर्षअघि परिवारमै बोक्सीको आरोप लगाईयो । त्यसपछि पनि छोरोले निधार सुन्निने गरी पिटे, नातिनीले गाला चड्काईन् । जन्मेको एउटै छोरो सुखसाथ पाल्छन् होला भन्ने आश उनलाई थियो । ‘जेठी छोरीपछि तीनतीन जना खेर गए, छोरो पाईयो । ओहो ! अब के चाहियो ? भनेर कत्ति खुशी भएम् नि ।’– सुमित्रा त्यसपछि बोल्न सकिनन् । तर, नेपाली सेनाबाट अवकाशपछि विभिन्न देशमा रोजगारी गरेर फर्केका रामबहादुर केसीले सधैं टोकिरहने श्रीमती, छोरीहरुलाई सम्झाउनुको सट्टा आफै कुट्न अघि सरे । ५३ वर्षका रामबहादुर अहिले पोखराकै एक विद्यालयमा सुरक्षा गार्ड छन् । प्रशस्त सम्पति छ । छोरो भारतीय सैनिकमा कार्यरत छन् ।
‘जेठी छोरी पोखरा अमरसिंहमै छिन् । कान्छीको घर घार्मीखोला हो । छोरो यही हो उसको बारे के भनम् ? बुहारीको बारेमा त के भनेर साध्य ?’ सुमित्राले आफूलाई सम्हाल्दै थपिन् । १३ वर्ष अघि श्रीमान् नरबहादुरको शेषपछि छोरो रामबहादुरलाई सारा सम्पति नामसारी भयो तर आमासँग संयुक्त नाममा रहेको डेढ रोपनी जग्गा अहिले नै हत्याउन पाईएन भनेर रामबहादुर र बुहारी बसन्ती आमासँग यसरी चिढिएका रहेछन् ।
‘बाँचुन्जेल बचन नलगाई राम्रो गरिदिए त उनीहरुकै हो नि त्यो सम्पति । म लिएर जान्छु र ?’ –सुमित्राले रुँदै भनिन्– ‘अहिल्यै छोरोलाई नामसारी गर्नुपर्ने रे । मलाई कुन हालत बनाएको छ देख्नु भयो नै होला ।’ अहिले नै सम्पति हत्याउन नपाएपछि छोरो, बुहारी, नातिनी सबैको घृणाको पात्र मात्र उनी बनिनन् । घरै छाडेर वृद्धाश्रम पुग्नुपर्ने अवस्था आयो ।
७९ वर्षीया बृद्धाले व्यहोरेको पीडा अब सहनै नसकेपछि मात्र यसरी सार्वजनिक भएको हो । तैपनि उनी छोराबुहारीको नराम्रो होस् भन्दिनन् । ‘श्रीमानको निधनपछि डेढ रोपनी बाहेक सबै १७/१८ रोपनी छोरोलाई नामसारी भएको रहेछ ।’ अधिवक्ता शोभा पौडेल पराजुलीले भनिन्– ‘कानुनी उपचार खोज्न पहिलो पटक २०६९ चैत १४ मा हामीकहाँ आउनुभएपछि मिलाउन चार वर्ष प्रयास ग¥यौं । तर त्यही आमा र छोरा दुवैको नाममा रहेको डेढ रोपनी जग्गाकै कारण आमा वृद्धाश्रम जानुपर्नेसम्मको अवस्था आयो ।’
अधिवक्ता पराजुलीका अनुसार छोराबुहारीको हेला भएका कारण डेढ रोपनी जग्गा आफू बाँचुन्जेल छोरालाई एकलौटी हुन नदिने अडामा आमा छिन् । छोरो रामबहादुर भने त्यो जग्गा कि आफ्नो नाममा बनाउनुपर्ने कि त बेच्नुपर्ने दबाब दिन्छन् । जग्गा बेचेको रकम बैंकमा राख्ने र साँवा नचलाई ब्याज मात्र आमालाई दिने छोरोबुहारीको मनशाय छ । तर आमा सशंकित छिन् । मुद्धा फिर्तीपछि पनि दुई तीन पटकसम्म परिवारमा पुनस्र्थापित गरिएपनि आमालाई घर बस्ने वातावरण भएन । गाह्रोसाह्रो पर्दा नजिकैको जोगीमढिमा रहेको माईती, छोरीहरुको घर, छिमेकमा शरण पर्दै आएकी सुमित्रालाई भएको एउटै नाति कृष्ण पनि छुट्टी सकेर भारत फर्केपछि घर बस्ने वातावरण नै भएन । ‘नातिले त हजुरआमा म पाल्छु भन्थ्यो । आमा बेईमानी छिन् । जानेबेलामा पनि मुख नहेरी जा साईत पर्दैन भनेछन्’ – उनले थपिन्– ‘आमाबाउ जाति नभएर हो । तर पाप बोल्नु हुन्न, नबोलेपनि, बचन लाएपनि खान चाहिँ दिन्थे है ।’
यसबारे छोरा रामबहादुरसँग प्रतिक्रिया लिँदा नेपालीको घरमा सबैलाई यो पारिवारिक समस्या हुने बताए । ‘पुराना कुराहरु छाडिदिनुस् । हामीले सधैं राम्रो गरेका छा,ैं छरछिमेकलाई सोध्नुस् । समस्या धनी गरीब सबैको घरमा हुन्छ । तपाईंको पनि घरमा हुन्छ । आमाले जे भनिन् लेखिदिनुस्, मलाई केहि फरक पार्दैन ।’ – रामबहादुरले कुरा टुंगाए ।
यसैबीच, रेडियो जननी ९०.६ को माध्यमबाट अधिवक्ता शोभा पौडेल पराजुलीले वृद्धा खत्रीलाई पोखरा १८ स्थित वात्स्यायन वृद्धाश्रम पठाएकी छिन् । सो अवसरमा वृद्धाश्रमका अध्यक्ष बोधराज कार्कीले अर्को आमा थपिएको जनाउँदै आमालाई खुशी बनाएर राख्ने बताए । रेडियो जननीका प्रबन्ध निर्देशक लक्की कार्कीले डोकोको कथा स्मरण गर्दै आज आमा मिल्क्याउने छोरोलाई भोलि उसको छोरोले पनि त्यस्तै व्यवहार गर्नेतर्फ सचेत तुल्याईन् । स्टेशन म्यानेजर विमला भण्डारीले जन्म दिने आमा र कर्म दिने आमाप्रतिको दायित्व छोराछोरीले भुल्न नहुने बताईन् । आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नविन सिग्देलले प्रहरी चौकी, वृद्धाश्रम नै आवश्यक नपर्ने सु-सभ्य समाजको निर्माण होस् भनेर सोच्नुपर्ने बेला यस्ता घटनाक्रमको साक्षी बस्दा पीडा हुने बताए । बृद्धाश्रममा हाल १४ जना बृद्धबृद्धा आश्रित छन् । कार्यक्रममा वृद्धाश्रम सचिव ललित बानियाँ, सदस्य बसन्त कार्की लगायतको उपस्थिति थियो ।
सम्बन्धित खबर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
पूर्व सहकारी रजिस्ट्रार पराजुली १ करोड ५ लाख घुस खाएको खुलेपछि फरार
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी