पोखरा, ६ पुस । पोखराको बागबजारमा जन्मेका बुद्धिबहादुर श्रेष्ठले चार दशक अघि परिवारको जिविकाका लागि मिठाई पसल थालेका थिए ।
२०३० पुस ५ गते थालेको त्यो व्यवसाय अहिले विस्तारित हुँदै नेपालकै एक स्थापित औद्योगिक घरानाको रुपमा स्थापित भएको छ । बुद्धिबहादुर आफै त अहिले व्यवसायमा छैनन् तर उनका भाइ, छोरा र भतिजहरुले व्यसासायलाई सफलताको चुलीमा लैजाँदैछन् ।
त्यही व्यवसायिक घराना लक्ष्मी ग्रुपले शनिबार पोखरामा स्थापनाको ४१ औं वर्ष मनाएको छ । स्थापना दिवसको अवसरमा उक्त ग्रुपले झण्डै दुई करोड रुपैयाँ सामाजिक सेवामा सहयाेग गर्ने प्रतिबद्धता समेत जनाएको छ । यसका लागि ग्रुपका कार्यकारी अध्यक्ष गणेशबहादुर श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेका छन् ।
शनिबार पोखरामा आयोजित कार्यक्रममा लक्ष्मी ग्रुपका कार्यकारी अध्यक्ष गणेशबहादुर श्रेष्ठले नेपाल पत्रकार महासंघ कास्कीमा बहुउद्धेश्यिय सभाहल निर्माणका लागि १६ लाख र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई ३० लाख रुपैयाँ पर्ने एम्बुलेन्स प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरे । महासंघको तर्फबाट अध्यक्ष रामकृष्ण ज्ञवाली र समितिको तर्फबाट उपाध्यक्ष योगेन्द्र प्रधानले हस्ताक्षर गरेका थिए ।
२०३० पुस ५ मा लक्ष्मी मिठाईं भण्डारबाट व्यवसाय थालेको ग्रुपमा हाल सुजल डेरी, सुजल फुड्स, लक्ष्मी कन्सफेन्सनरी, जया कन्फेक्सनरी, जया प्याकेजिङ जस्ता उद्योग संचालित छन् । नेपालमा हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल पनि यसै ग्रुपको हो । यो वर्ष मात्रै ग्रुपले सामाजिक सेवामा दुई करोड रुपैयाँका हाराहारीमा खर्च गरेको अध्यक्ष श्रेष्ठले बताए । लक्ष्मी ग्रुपपले पर्यटन क्षेत्रमा समेत लगानी गर्ने योजना बनाएको छ ।
शनिबार नै लेखनाथको लामेआहालमा रहेको वृद्धाश्रममा फलफुल तथा ५० थान ब्लाकेंट वितरण गरिएको छ भने पोखराको बागबजारस्थित ग्रुपको केन्द्रिय कार्यालयमा रक्तदान समेत सम्पन्न भएको छ ।
श्रेष्ठका अनुसार, शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल अपांग महासंघलाई ५० थान ह्विल चेयर, बाल मस्तिष्क पक्षघात केन्द्रले संचालन गर्ने शैक्षिक संस्थाका लागि २० लाख रुपैयाँ र ब्रिटिस काउन्सिलसँग मिलेर शैक्षिक विकासका लागि १२ रुपैयाँ प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यसैगरी, तराईमा शितलहरबाट प्रभावितहरुको सहयोगको लागि न्यानो संसार नामक संस्थासँग मिलेर पाँचसयवटा ब्लांकेट पनि प्रदान गर्न लागेको अध्यक्ष श्रेष्ठले सुनाए ।
धर्मशास्त्रहरुमा कमाइको केही अंश दान गर्नुपर्छ भन्ने उल्लेख गरेको र आफू पनि धार्मिक स्वभावको भएकाले यो सानो सहयोग गरेको उनले उल्लेख गरे । आफूहरुले प्रदान गरेको सहयोगको सही सदुपयोग भए आफूलाई सन्तुष्टि मिल्ने उनले बताए । चार दशकअघि थालेको सानो प्रयासबाट अहिले यो अवस्थामा पुग्नुको पछाडि मेहनत र इमान्दारिता प्रमुख कारक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले पोखराको पत्रकारिताको विकासमा लक्ष्मी ग्रुपको योगदान अतुलनीय रहेको बताए । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष योगेन्द्र प्रधानले ग्रुपले प्रदान गरेको एम्बुलेन्सको सदुपयोग गरी खासगरी दीनदुःखीहरुको सेवामा लगाउने प्रतिबद्धता जनाए ।
लक्ष्मी ग्रुपले नेपालको खेलकुदको विकासका लागि मनाङ मर्स्याङ्दी क्लबकाे फुटबल टीमलाई प्रायोजन गर्दै आएको छ । तीन वर्षसम्म पोखरामा जारी सफल कपको मुख्य प्रायोजन पनि यही ग्रुपले गरेको थियो ।
यसैगरी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मिर्गाैला उपचारको लागि डायलासिस सेन्टर र बिरामी कुरुवा कक्ष निर्माणको लागि लक्ष्मी हासउले आर्थिक सहयोग गरेको छ ।
पोखराको पृथ्वीनारायण क्याम्पस र पोखरा विश्वविद्यालयबाट व्यवस्थापन संकायमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई लक्ष्मी विद्या पदक र लक्ष्मी स्वर्णपदक पनि प्रदान गर्दै आएको छ ।
अर्काइभः २०७१ पुस ५ गते
सम्बन्धित खबर
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
आगलागीबाट हजारौंको क्षति
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी