पोखरा । होली खेल्ने क्रममा पोखराको लेकसाइडमा अचानक बिरामी भई ढलेकी किशोरीलाई रक्सी खाएर हंगामा भन्दै दुष्प्रचार गर्ने सुजन पौडेललाई प्रहरीकोमा बुझाइएको छ । तनहुँ शुक्लागण्डकी घर भई पोखरा लेकसाईड बस्ने पौडेल पोखराको एक टेलिभिजनमा समेत कार्यरत छन् । उनले बुधबार आफ्नै युट्युब च्यानल ‘ईनसाइड नेपाल न्यूज टिभी (२ लाख ९ हजार सब्स्क्राइब)’ मार्फत ‘पोखरामा होलिसंगै युवतीलाई रक्सी लागेपछि बीच बाटोमा लडीबुडी खेलेर गरिन हंगामा’ शीर्षक राखेर १० मिनेट ८ सेकेण्डको भिडियो अपलोड गरेका थिए ।

पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटन निवासी १७ वर्षीया सञ्चिता क्षेत्री आफ्नी दिदीबहिनीसँगै लेकसाइडमा होली मनाउन गएकी थिईन् । आफन्तका अनुसार सडकमा हिँडिरहँदा एक्कासी घाँटीको नशा सड्केर उनी हिँड्न सकिनन् । छारे रोग लक्षण जस्तो देखियो (पछि रिपोर्ट: हेड स्टिफिनिङ, लिम्ब विकनेश) ।

गोपनियताका कारण ब्लर गरिएको
सञ्चिता काम्न थालिन्, धान्न सकिएन । दिदीबहिनीको सहायतामा ट्याक्सीसम्म लगी फेवा सिटी हस्पिटल पु¥याइएको थियो । यसैबीचमा, पौडेलले आफ्नो क्यामेरामार्फत भिडियो रेकर्ड गरिसकेका रहेछन् । आफ्नो युट्युब च्यानलबाट उनले मनगढन्ते शीर्षक राखेर भिडियो सार्वजनिक गरे ।
तत्काल किशोरीका दाजु सन्देश क्षेत्रीले युट्युब च्यानल र सबैभन्दा पहिले समाचार भन्दै प्रकाशित गर्ने नालापानी डटकम फेक न्यूज ब्लग विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी गरेका थिए । विहीबार मध्यान्हदेखि उनी कास्की प्रहरी नियन्त्रणमा छन् । बुधबार साँझ नै ३४ हजार भ्यूज गइसकेको भिडियो उनले डिलिट गरेका छन् । त्यसभन्दा अघि शीर्षक परिवर्तन गरेका थिए । पौडेल मार्फत नै धेरै वेबसाईटमा पुगिसकेकाले उनको नियन्त्रणमा रहेन र केही छिनमै भाइरल बन्न पुगेको थियो ।
प्रहरीसामु सुजनले आफूले अक्षम्य गल्ती गरेको महसुस गर्दै यस्तो गल्ती नदोहो¥याउने बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ समेत जिल्ला प्रहरी कार्यालयमा बुझ्न पुगेका थिए । आधिकारिक मिडिया नभएको र पत्रकार महासंघमा आबद्धता समेत नरहेकाले यस विषयमा आफू बोल्न नमिल्ने भएकाले पीडित र युट्युब सञ्चालकबीच मिलेर जाँदा राम्रो भन्दै उनी बाहिरिए । तर पीडित पक्षसँग सहमति नजुटेपछि पौडेल प्रहरी हिरासतमै छन् ।
सबैभन्दा पहिले फेक न्युज प्रकाशित गर्ने नालापानी डटकम विरुद्ध पनि उजुरी परेको छ । अनाधिकृत रुपमा लुकेर चलाइएको सो साईटका सम्पूर्ण जानकारी कास्की प्रहरीले लिएको छ । सो वेबसाइट सञ्चालकका दुई फेसबुक पेज पोखरा अनलाइन र पोखरा दैनिक पनि निगरानीमा रहेको प्रहरीले जनाएको छ । उसको पोखरा डटकम नामको २ लाख बढी फेसबुक पेज र नमुना थापा फेक फेसबुक आइडी समेत पत्ता लगाइसकेको छ । सम्पर्कमा नआएको खण्डमा केन्द्रिय तबरबाट अनुसन्धान हुने जनाइएको छ ।

अब चरित्र हत्याको क्षतिपूर्ति कसरी हुन्छ ?
पीडित किशोरी विहीबार फेवा सिटी हस्पिटलबाट डिस्चार्ज भएकी छिन् । उनले आफू शारीरिक रुपमा भन्दा मानसिक रुपमा विक्षिप्त भएको सुनाउँदै आफन्तहरुबाट नराम्रो प्रतिक्रिया आइरहेको गुनासो गरिन् ।

‘म दिदीहरुसँग गएको हुँ । एक्कासी घाँटीमा नशा बाउँडियो । म खुट्टा टेक्न सकिनँ । दिदीहरुले नै टाढा ट्याक्सीसम्म पु¥याउनुभयो ।’ उनले भनिन् – ‘म हस्पिटलमा थिएँ । साथीहरुले भिडियो र समाचारहरु पठाए, एकपछि अर्को गरी सोधीखोजी भयो । मेरो चरित्र हत्या भएको छ । मेरो बेईज्जतिको क्षतिपूर्ति कसरी हुन्छ ?’
सञ्चिताका दाजु सन्देशले कानुनी दायरामा आउन नसकेका अनाधिकृत युट्युबहरुले भ्रम छरेर यसरी बेईज्जती गर्ने काम गरेको सुनाए । अरुलाई पाठ सिकाउन र आफूहरुलाई जस्तो अरुलाई नपरोस् भन्नका लागि पनि कानुनी दायरामा ल्याउनुको विकल्प नभएको बताए ।
विभिन्न वेबसाइट र फेसबुक पेज निगरानीमा
पौडेलले भिडियो अपलोड गरेपछि अतिरञ्जित तबरले शीर्षक राखेर अफवाह फैलाउने लाखौं लाइक भएका फेसबुक पेज सञ्चालकको ईमेलमा समेत फरवार्ड गरेका थिए ।
ताजाखबर (३१ लाख ६५ हजार), साझा पेज (३४ लाख ५३ हजार), ओएस नेपाल (५३ लाख ५४ हजार) बाट कुनै पुष्टि विना नै जस्ताको तस्तै भिडियो सहित समाचारहरु पोष्ट भएका थिए । शेयर भएका अहिले सबै पेजहरु प्रहरीको निगरानीमा छन् । यद्यपी, पौडेलकै अनुरोधमा पेजहरु २४ घण्टाभित्र नै समाचार डिलिट गरेका छन् ।


दुवै पक्षलाई फाईदा हुने भएकाले युट्युब सञ्चालक र मनलाग्दी ब्लग लिन्क पोष्ट हुने ठूला पेजका सञ्चालकहरुबीच मिलेमतो हुने गर्दछ । फेसबुक इन्स्टान्टबाट पेज सञ्चालकले डलर कमाउँछन् भने सोहि न्यूजमा भिडियो इम्बेडिङ हुने भएकाले भिडियोमा भ्यूज बढ्छ र युट्युबरलाई पनि फाईदा पुग्दछ । त्यसैकारण, युट्युबेहरु र लाखौं लाईक बटुलेका पेजका एडमिनहरु यसरी मिलेमतोमा शेयर गर्दै आएका छन् ।
‘आपसी सहमति नभए कानुनी प्रक्रिया अनुसार अघि बढ्छ’: प्रहरी
प्रहरीले भने आपसी सहमति नजुटे कानुनी प्रक्रिया अनुसार अघि बढ्ने बताएको छ । कार्यालयका मुद्धा फाँटका प्रहरी निरीक्षक गणेश सुवेदीले भने – ‘ठाडो उजुरी परेको छ । पीडित पक्षले माफी दिएर केस अघि नबढाउने भन्न पनि सक्छन् नत्र प्रमाण पुगेको खण्डमा कानुनी व्यवस्था अनुसार कारबाही प्रक्रिया अघि बढ्छ ।’
यसअघि पनि पोखराका केही युट्युबे प्रहरी खोरमा जाक्किसकेका छन् । सोहि हर्कत दोहोरिएमा पत्रकारहरुले अब माफ नगर्ने बताइसकेका छन् । उनीहरुले गरेको हर्कतको निन्दा गर्ने क्रममा पाठक सर्वसाधारणले भने पत्रकारको नाममा गाली गर्ने गर्छन् । वास्तविक पत्रकारहरुको मानमर्दन गर्ने अनाधिकृत चलेका युट्युबेहरु नै हुन् भन्छन् पोखरा न्यूज डटकमका सम्पादक ढाकामोहन बराल (गणेश) । नालापानी डटकमले यसअघि पोखरा न्यूजकै नाममा फेसबुक इन्स्टान्ट बनाएर दुष्प्रचार गरी डलर कमाइरहेको थियो । विधिवत् दर्ता भएर चलेका पोखरा न्यूज डटकम जस्ता वेबसाइटहरु फेक साइटको शिकार बनिरहेका छन् ।

सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते