जो आफ्नो जीवनदेखि सधैँ हारे, उसैले मागेको जुत्ता लगाएर गण्डकी प्रदेशलाई स्वर्ण पदक जिताए

जो आफ्नो जीवनदेखि सधैँ हारे, उसैले मागेको जुत्ता लगाएर गण्डकी प्रदेशलाई स्वर्ण पदक जिताए

tamang

अश्विन दानी, पोखरा । ‘बाबाले पहिल्यैदेखि अच्काली रक्सी खानुहुन्थ्यो, अहिले पनि खानुहुन्छ । बाले रक्सी खाएकै कारण झगडा गरेर म एक बर्षको हुँदै आमाले छाडेर माईत जानुभयो’ गत फागुन ६ गते आठौँ राष्ट्रिय खेलकुद-२०७५ को प्रदेश खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशलाई हाफ म्याराथन (२१.१ किलो मिटर) मा स्वर्ण पदक जिताउने राजेन्द्र तामाङले बिगत सम्झँदै भने, ‘आमाले घर छाडेर जानु भएदेखि म सधैँ आफैँसँग हारिरहेको छु । आजसम्म चाहेर पनि कहिल्यै खुलेर हाँस्न सकेको छैन् । म आफ्नै जिन्दगीसँग हारेको मान्छेले गण्डकी प्रदेशलाई हाफ म्याराथनमा जिताएर स्वर्ण पदक दिन सफल भएँ । यो नै मेरो जीवनको अहिलेसम्मकै महत्वपूर्ण उपलब्धी हो ।’

आगामि बैशाख ५ गतेदेखि सुरु हुन लागेको आठौँ राष्ट्रिय खेलकुद अन्तरगत ४२ किलोमिटर दुरीको म्याराथनमा तामाङ गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी हुँदैछन् ।

‘कुखुरा बेचेर काठमाण्डौँ प्रवेश, ११ बर्षकै उमेरदेखि भाँडा माझेर पढाई’

‘आमाले छाडेर जानु भएपछि घरमा दिदि, म र बाबा मात्रै भयौँ । दिदिले काम गरेर मलाई गाउँकै स्कूलमा कक्षा पाँचसम्म पढाउनु भयो । घरमा समस्या नै समस्या थियो । जहिल्यै काम गर्नुपर्ने । अनि म पाँच कक्षामा पढ्दा पढ्दै कुखुरा बेचेको पैसा लिएर गाउँकै दाईसँग काठमाण्डौँ हिँडे ।’ तामाङले भने । घरको समस्या देखेर काठमाण्डौँ पुगेका तामाङ ११ बर्षकै उमेरदेखि होटलमा भाँडा माझेर पढाईलाई निरन्तरता दिएको बताउँछन् ।

‘काठमाण्डौँमा पुगेर दाईको कोठामा बसेको दुई दिन मात्रै भएको थियो । म एक्लै बाहिर घुम्न निस्किँदा अचानक चिन्दै नचिनेको मान्छेले एक्कासी ‘बाबु, मेरो होटलमा भाँडा माझ्ने काम गछौँ ? पैसा पनि दिन्छु अनि पढ्न पनि दिन्छु भने’ तामाङले त्यो पल सम्झँदै भने, ‘मैले पढाई र पैसा पनि पाउने भनेपछि हुन्छ भने ।’

हाल कक्षा १२ मा अध्ययन गरिरहेका तामाङ निरन्तर होटलमै काम गरेर आफ्नो जीवीन गुजारा गरिरहेकोे बताउँछन् । ११ बर्षको उमेरदेखि काठमाण्डौँको होटलमा भाँडा माझ्ने काम सुरु गरेका तामाङ २०७४ सालसम्म होटलमा नै निरन्तर काम गरिरहे । तामाङ काठमाण्डौँबाट पोखरा आएका करीब ७ महिना मात्रै भयो ।

‘मागेको जुत्ता लगाएर प्रदेशलाई स्वर्ण पदक दिलाए’

तामाङले गत फागुन ६ गते आठौँ राष्ट्रिय खेलकुद—२०७५ को प्रदेश खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशलाई हाफ म्याराथन (२१.१ किलो मिटर) मा स्वर्ण पदक दिलाउँदा आफ्नो आर्थिक स्थिति कमजोर भएकै कारण अरुसँग मागेको जुत्ता लगाएर दौडेको बताउँछन् ।

‘मेरो आर्थिक स्थिति एकदमै कमजोर छ । मेरो परिवारबाट पनि मैले सहयोग पाउँदिन अनि सरकारले पनि केही दिएको छैन’ उनले भने, ‘अस्ती भर्खरै मैले गण्डकी प्रदेशलाइ स्वर्ण पदक जिताउँदा पनि मलाई एकजना चिनेको दाईले जुत्ता दिनु भएको हो । मैले दाईसँग मागेको जुत्ता लाएर नै दौडिएको थिएँ ।’

म्याराथनमा भाग लिने खेलाडीहरुले लागि न्यूनतम १० हजारदेखि माथिको जुत्ता अनिवार्य लगाउनु पर्ने उनको भनाई छ । तर, उनीसँग त्यती महङ्गो जुत्ता किन्न सकने क्षमता छैन । ‘स्वर्ण पदक जित्दा पनि मैले मागेको जुत्ता लगाएको हुँ’ उनले भने, ‘म आफूले महङ्गो जुत्ता किन्न सक्दिँन अनि सस्तो लगाएर दौडदा खुट्टामा समस्या आउँछ ।’ आगामी बैशाख ५ गतेदेखि सुरु हुन लागेको आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत ४२ किलो मिटर दुरीको म्याराथनमा सहभागी हुँदा लगाउनका लागि पोखराकै एक जनाले आफुलाई जुत्ता किनिदिएको उनले बताए ।

‘साथीको कुराले दियो धावक बन्ने प्रेरणा’

‘२०७१ साल तिरको कुरा हो । एक दिन मलाई मेरो साथीले बैकुण्ठ मानन्धरको बारेमा नालीबेली लगाए । त्यसपछि मलाई पनि दौडन मन लाग्यो’ उनले भने, ‘साथीले बैकुण्ठ मानन्धर सरको बारेमा भनेको दिनदेखि अहिलेसम्म स्वास्थ्यले साथ दिएसम्म नदौडिएको कुनै दिन छैन ।’

साथीले बैकुण्ठ मानन्धरको बारेमा गरेको कुराबाट प्रेरणा पाएर दौडन सुरु गरेको बताउने उनीे अहिलेसम्म साना ठूला गरी करीब एक सय भन्दा बढि दौड प्रतियोगितामा भाग लिईसकेका छन् भने दर्जनौँ खेलमा बिजेता पनि । तर, गत फागुन ६ गते हाफ म्याराथन (२१.१ किलो मिटर) को दौडमा गण्डकी प्रदेशलाई स्वर्ण पदक जिताउनु नै उनको अहिलेसम्मकै सबैभन्दा ठूलो जीत हो ।

‘खेलाडीको लक्ष्य एक, समस्या अनेक’

नेपाललाई खेलकुद मार्फत विश्व सामु चिनाउन सम्भव भएपनि सरकारले खेल क्षेत्रमा पर्याप्त लगानी नगर्दा खेलाडीहरुलाई समस्या हुने गरेको तामाङको भनाई छ । ‘हाम्रो देशमा खेलाडीहरुका लागि सरकारले पर्याप्त लगानी गर्न सकेको छैन्’ उनले भने, ‘खेलाडीहरु देशका लागि काम गर्छन् । तर सरकारले खेलाडीहरुका लागि खेल जित्दा मेडल, दुई चार हजार पुरस्कार अनि प्रमाण पत्र मात्रै हैन र ?’ खेलाडीहरुलाई सरकारले आर्थिक सहयोग वा तलबको ब्यबस्था नगर्दा सबै क्षेत्रका खेलाडीहरुलाई समस्या पर्ने गरेको उनी बताउँछन् ।

‘मलाई लाग्छ म जस्तै हरेक खेलाडीको लक्ष्य एउटै हुन्छ कि खेल क्षेत्रबाट नै आफ्नो देशलाई विश्व सामु चिनाउन सकुँ’ उनले भने, ‘तर, समस्या अनेकौँ हुन्छ । मुख्य समस्या आर्थिक समस्या नै हो । हामीसँग कहिले खान पैसा हुँदैन । बिरामी हुँदा उपचार गर्ने पैसा पनि हुँदैन । खेलकुद सामाग्री पनि आफैँ किन्नु पर्छ । आफन्तहरुले पनि यसको काम छैन, जागिर खाँदैन, हल्लिन्छ, हिँड्छ भन्छन् ।’ खेलाडीहरुलाई समाजले पनि नकारात्मक दृष्टिले हेर्ने गरेको भन्दै उनले दु:ख व्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds