अमृत सुवेदी/पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण धेरै चोटी धेरै दलका चुनावी एजेन्डा बन्यो । यतिबेला पनि देश चुनावमय भइरहेको छ र यसपटकको निर्वाचनमा पनि कास्कीका कुनै उम्मेदवारको घोषणापत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको एजेन्डा छुटेको छैन ।
राजनीतिक दलले विमानस्थल निर्माण सम्पन्न गर्ने र पोखरालाई अन्तर्राष्ट्रिय शहर बनाउने नारा शहरमा घन्काइरहेका बेला विमानस्थल निर्माणको काम भने चुपचाप सुरु भएको छ । नेपाल चुनावी रन्कोले तातिरहेका बेला चिनियाँ निर्माण कम्पनी सीएएमसीले आफ्नै संस्कृतिअनुसार पूजा गरेर आइतबारदेखि निर्माणको काम थालेको हो ।
सधैं विमानस्थल सम्बन्धी केही कुरा भइहाले पनि चर्चा सुरु भइहाल्ने र नेताले जस लिन तछाडमछाड हुने अवस्थामा यसपटक डोजर, लोडर, टि्रपल लगायतका निर्माण उपकरण विमानस्थल निर्माणमा खटिँदा कसैले सुइँको पाएनन् ।
चिनियाँ संस्कृतिअनुसारको पूजा गरी निर्माण उपकरण र मजदुरलाई जमीन सम्याउन काममा खटाएको ठेकेदार कम्पनीका पोखरा विमानस्थल परियोजनाका प्रमुख जेरी याङले जानकारी दिए । चिनियाँ निर्माण कम्पनीका तर्फबाट चिनियाँ परम्पराअनुसार नै पूजा गरिएपछि विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रदीप अधिकारीले निर्माणको काम उदघाटन गरेका थिए ।
शिलान्यासको झन्डै २ वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु भएको हो । अहिले हिउँदसम्ममा विमानस्थलको जमीन सम्याउने काम सक्ने गरी मजदुर खटिएका छन् ।
राष्ट्रिय गौरवको यो विमानस्थलको निर्माण चीनको एक्जिम बैंकको करिब २२ अर्ब रुपैयाँ ऋणमा हुन लागेको हो । विमानस्थल परियोजनाका प्रमुख जेरी याङका अहिले १ दर्जनभन्दा बढी उपकरण र एक सय मजदुर फिल्डमा खटिएका छन् । ५० भन्दा बढी उपकरण र मजदुरीमा अधिकांश नेपाली कामदार खटिएको चिनियाँ कम्पनीका परियोजनाका प्रमुख याङले जानकारी दिए ।

विमानस्थल निर्माणको काम थाल्न याङ नेतृत्वको चिनियाँ टोली साउनमै पोखरा आएर आवास र कार्यालय प्रयोजनको अस्थायी भवन निर्माणमा लागेको थियो । अहिले त्यो काम पूरा भएसँगै निर्माणको काम थालिएको हो । चिनियाँ कम्पनीले काम थाले पनि नेपाल सरकारले पूरा गर्नुपर्ने प्रक्रिया भने अझै नसकेको बताउँदै याङले प्रक्रिया पनि हुँदै जाने र काम पनि अघि बढाउँदै गर्दा समयमै काम सकिने विश्वास व्यक्त गरे ।
दुई देशबीच सबै कानुनी जटिलता टुंगिएर निर्माण प्रक्रियामा गएको र अबको एक वर्ष डिजाइनिङ चरण रहने कम्पनीले जनाएको छ । १० जुलाई २०२१ भित्र निर्माण सकेर नेपाललाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा छ ।
‘सम्झौताअनुसार समयभित्रै विमानस्थल निर्माण पूरा हुने गरी काम थाल्दैछौं,’ याङले भने, ‘वर्षायाम भएकाले पहिला आफूहरू बस्ने शिविर बनाइएको र हिउँद लाग्नासाथ हेबी इक्विपमेन्टमार्फत काम थालिएको हो ।’
एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको निब्र्याजी ऋणमा विमानस्थल निर्माण हुन लागेको हो । इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्डअनुसार ‘४डी’ विमानस्थल बन्न लागेको छ । यसमा बोइङ ७५७ र एयरबस ३२० जहाज अवतरण र उड्न सक्छन् । विमानस्थलको धावनमार्ग २ हजार ५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको हुनेछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय टर्मिनल भवन, ४ वटा बोर्डिङ कक्ष, ट्याक्सी वेलगायतका पूर्वाधार पनि बन्नेछन् । सीएएमसीले ०७१ वैशाख २९ मा ठेक्का पाएको र निर्धारित समयमा निर्माण पूरा नगरे नेपाल सरकारलाई क्षतिपूर्ति दिने सर्त छ ।
विमानस्थलका लागि सरकारले ०३२ मा ३ हजार १ सय ६ रोपनी जग्गा लिएको थियो । त्यतिले नपुगेपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो । जग्गा अधिग्रहण, मुआब्जा वितरणलगायत स्थानीयस्तरमा सबै समस्या समाधान भइसकेका छन् ।
पूर्वप्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला दुई देशबीच ऋण सम्झौता भएर निर्माण प्रक्रिया अघि बढाउने निर्णय भएको थियो ।विमानस्थलको ०७३ वैशाख १ मा तत्कालीन प्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, तत्कालीन उपप्रधानमन्त्रीद्वय कमल थापा र विजयकुमार गच्छदार, तत्कालीन पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल र कांग्रेस महामन्त्री शशांक कोइरालाले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।
सरकारले ०३२ मा जग्गा अधिग्रहण गरे पनि सरकारसँग बजेट अभाव भएको, दातृ निकाय फेला नपरेको र पछि नागरिक उड्डयन प्राधिकरणले ठेकेदार कम्पनी छनोट गर्न ढिलाइ गरेकोले विमानस्थल निर्माण अलपत्र थियो । पछिल्लो समय पोखरेलीको निरन्तर दबाव, सरकारको तदारुकता, राजीतिक दलको एकता र चीनको सहयोगले काम गरेको छ ।
०२६ मा जापानको इकावा नामक संस्थाले विस्तृत अध्ययन गरेर पोखरामा विमानस्थलको ठाउँ छनोट भएको थियो । ०२९ मा प्यासिफिक एसोसिएसन अफ ट्राभल्स एजेन्सी (पाटा) ले पनि विमानस्थल बनाउन भनेको थियो । ०३२ चैत २ मा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।
अनलाइनखवर डट कमबाट साभार
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो