जग्गा कस्को, भाडा कस्लाई ?

जग्गा कस्को, भाडा कस्लाई ?

pasal hataudai nagarpalika

केही महिना अघि बिसौनी मोडकै अव्यवस्थित पसल विस्थापित गर्न बल प्रयोग गर्दै नगरपालिका

अश्विन दानी, गोरखा । गोरखाको बिसौनी मोडका रहेका अधिकांश घुम्ती पसलहरु बिचौलियाको कब्जामा रहेको पाइएको छ । नगरपालिकाको मापदण्ड उल्लंघन गरी सञ्चालित घुम्तीपसल बिचौलियाहरुले कब्जामा लिई ब्यापारीहरुसँग भाडा उठाउने गरेका हुन् ।

बिचौलियाका कारण घुम्तीमा पसल गर्ने ब्यापारीहरु आफू बसेको जग्गा कस्को हो भन्ने समेत थाहा नभएको बताउने गर्छन् । ‘म बसेको जग्गा कसको हो थाहा छैन’ नाम नबताउन अनुरोध गर्दै एक ब्यापारीले भने, ‘म यहाँ आएर बसेको धन्नै बर्षदिन भयो । मैले रामजी दाईसँग दुई लाख रुपैँयामा यो घुम्ती किनेको हुँ । त्यसैले मैलेचाँहि मासिक भाडा तिर्नु पर्दैन ।’

उनले बिचौलियासंग दुई लाख रुपैँयामा घुम्ती किनेपनि आफूसँग त्यसको कुनै प्रमाण नभएको बताउँछन् । ‘मसँग पसल किनेको कुनै प्रमाण छैन’ उनले भने, ‘मौखिक रुपमै बिश्वास गरेर पसल किनेको हुँ ।’ घुम्तीमा रहेका ब्यापारीहरुले न्यूनतम पाँच हजारदेखि १६ हजारसम्म मासिक भाडा बुझाउने गरेको उनले बताए ।

घुम्तीमा पसल राख्ने ब्यापारीहरुले आफुहरुले भाडा मात्रै हैन चन्दा पनि दिई राख्नुपर्ने बाध्यता रहेको बताउँछन् । ‘भाडा मात्रै दिएर हुने भए त भइहाल्थ्यो नि’ नाम नबताउने शर्तमा अर्की ब्यापारीले भनिन्, ‘पसलको भाडा पाँच हजार तिर्नुपर्छ । अनि कहिलेकाँही चिन्दै नचिनेको मान्छे आएर थर्काउँदै चन्दा माग्ने गर्छन् । पहिले सस्तो खोज्दै यहाँ आएँ तर अहिले सारै समस्या परेको छ ।’

एउटै टहराको दुई जनासँग बैना

घुम्तीमा रहेको एउटै पसल सञ्चालन गर्नका बिचौलियाले दुई जनासँग बैना लिएको भेटिएको छ । ताप्ले निवासी हुुसेन मियाले बिसौनीमोडको टहरो एकैचोटी दुईजनालाई भाडामा दिएको पीडित भगवती नेपालीले बताइन् । आफूसंग ५० हजार रुपैँया बैना लिएपछि अरु कसैलाई पसल दिएको नेपालीले बताइन् ।

‘मलाई गत साउन १५ गतेदेखि पसलमा बस भनेर हुसेनले साउन ११ गते नै ५० हजार रुपैँया लियो’ उनले भनिन््, ‘साउनको १४ गते भोली सर्छु भन्नलाई हुसेनलाई फोन गर्दा फेरी भदौ १५ बाट सर भन्यो ।’ पसलको सबै सामान किनेर राखिसकेपछि हुसेनले पसल अरु कसैलाई दिइसकेको थाहा पाएको उनले बताईन् ।

‘मैले गत शुक्रबार बिहान पसल राख्नलाई सबै सामानहरु ठिक्क पारेर हुसेनलाई फोन गरेँ । उनले बेलुका सामान सार्न भनेपछि म त्यही सुरमा बसेँ’, उनले भनिन्, ‘बेलुकातिर फोन गर्दा एकै चोटी पसल अर्कैलाई बेचेँ तँलाई दिन्न । हामीले गरेको कागज च्यात अनि तेरो पैसा फिर्ता दिन्छु । नत्र एक रुपैँया पनि दिन्न भन्दै थर्कायो ।’

हुसेन मियाँले पाँच लाख रुपैँयामा आशिष बानियाँलाई टहरो बेचेको बताए । ‘मैले पहिले भगवती दिदीलाई भाडामा दिन्छु भनेर ५० हजार रुपियाँ लिएको हो’ हुसेनले भने, ‘पछि मलाई पैसाको सारै समस्या परेर बानियाँलाई बेचेको हो ।’

बानियाँले भने हुसेनलाई पाँच लाख रुपैँयाँ सापटी मात्रै दिएको बताएका छन् । ‘मैले हुसेन दाईलाई पाँच लाख रुपैँया सापटी मात्रै दिएको हो’ बानियाँले भने, ‘मैले यो पसल किनेको छैन । यहाँ त मैले मासिक भाडा तिर्नुपर्छ ।’

अहिलेसम्म यथावतै रहेको बिसौनी मोडकै अव्यवस्थित पसलहरु

जग्गा एउटाको दाबी अर्काको

हुसेन मियाँले आफ्नो स्वामित्वमा राखेको जग्गा अरु कसैको नाउँमा रहेको आफैँले स्वीकार गरे । ‘त्यो जग्गा जयराम मास्केको भाईको नाउँमा छ’ उनले भने, ‘मैले त्यो जग्गा नै बेचेको हैन । त्यहाँको ट्रस मैले बनाएको हुँ अनि ट्रस बेच्ने नबेच्ने त मेरो अधिकार हो नि ।’

टहरो बिस्थापित गर्ने नगरपालिकाको योजना

गोरखा नगरपालिकाले लामोसमयदेखि बिसौनीमोडको मापदण्ड बिपरीत बनेका टहराहरु बिस्थापित गर्ने जनाएपछि टहराहरु यथावत छन् । केही समयअघि केही टहराहरु हटाए पनि बिचौलियाको खेलोफड्को रहेका त्यहाँका अन्य टहरो हटाउने काममा नगरपालिकाले आलटाल गरिरहेको छ ।

नगरपालिकाका मेयर राजनराज पन्त भने त्यहाँका टहराहरु हटाउने दाबी गर्छन् । ‘हामीले त्यहाँको सबै पसलहरु बिस्थापित गछौँ’ मेयर पन्तले भने, ‘सबै पसलेहरुलाई त्यहाँबाट हट्न पत्र पठाइसकेका छौँ । छिट्टै नै त्यो ठाउँ खाली हुनेछ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ