‘२६ वर्षदेखि एचआइभी शरीरमा, नजर छ सगरमाथामा’

‘२६ वर्षदेखि एचआइभी शरीरमा, नजर छ सगरमाथामा’

Gopal Shrestha

पोखरा । विगत २६ बर्षदेखि एचआईभी पोजेटिभ संक्रमित पोखरा महानगरपालिका वडा नं. ७ का ५६ वर्षीय गोपाल श्रेष्ठ शुक्रबार सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि काठमाण्डौबाट प्रस्थान गर्दैछन् । उनी विश्वकै पहिलो पटक सगरमाथा सफल आरोहण गर्ने एचआईभी संक्रमित व्यक्तिका रुपमा रेकर्ड राख्ने आकांक्षाका साथ वर्षौंदेखि यस अभियानमा समर्पित छन् ।

‘को हुन् गोपाल ?, कसरी भए एचआईभी संक्रमित ?’

पोखराका हुन् गोपाल श्रेष्ठ । ५६ वर्षका भए, शरीरमा २६ वर्षदेखि रगतमा एचाइभी पोजिटिभ छ । जिन्दगीदेखि उनी निराश छैनन् । युवा जोश, जाँगर र उस्तै सकारात्मक सोच । उनी आज एचआइभी संक्रमित गोपाल श्रेष्ठ कसरी बने ? संगतकै गुनाकै फल ।

उनको जन्मपछि बाआमाले छोरालाई राम्रो पढाएर ठूलो मान्छे बनाउने सपना देखे । गोपालको स्कूल पढ्ने उमेर हुने बित्तिकै उनको परिवारले पोखराकै महङ्गो बोर्डिङमा भर्ना पनि गरे । तर, गोपालले भने पढाईमा कहिल्यै सोचेजस्तो प्रगति गर्न सकेनन् । छोराले राम्रो गर्ला भन्ने आशमा बाआमाले स्कूल पनि परिवर्तन गर्न थाले । तर, जति स्कूल बोर्डिङ परिवर्तन गरेपनि श्रेष्ठका परिवारका लागि ‘हातमा लाग्यो शुन्य’ भनेजस्तै भयो ।

गोपालले पढाईबाट बाआमालाई सन्तोष दिन नसक्नुको कारण एउटै थियो, गोपाल सानैदेखि लागुऔषधको दुव्र्यशनको दलदलमा फसे ।  जब परिवारका सदस्यले उनी दुव्र्यशनमा फसेको कुरा थाहा पाए, त्यो लतबाट छोरालाई उन्मुक्ति गराउन धेरै संघर्ष गरे तर गोपाल कहिल्यै लागुऔषधबाट अछुत हुन सकेनन् ।  पढाईमा कहिल्यै प्रगति गर्न नसकेका गोपालले लागुऔषधको कुलतसँगै आफुलाई फुटबल खेलाडीको रुपमा भने स्थापित गरिसकेका थिए । सेनाको सिंहनाथ गणदेखि काठमाडौंकै चर्चित फ्रेण्डस् क्लवसँग आबद्ध भएर बिभिन्न फुटबल प्रतियोगितामा सहभागी पनि भए । तरपनि कुलतबाट कहिल्यै टाढा हुन सकेनन् ।

गोपालको जन्म हुने बित्तिकै छोरालाई उच्च शिक्षा दिलाएर ठूलो मान्छे बनाउने सपना बोकेका श्रेष्ठको परिवार छोरा लागुऔषधको लतबाट टाढा हुने आशैआशमा २०४२ सालमा साउदी अरब समेत पठाए । लागुपदार्थ सेवन गर्न प्रतिबन्धित देश साउदी पुगेपछि केहि कुलतको दलदलबाट टाढा पुगेका गोपालले नियमित घरमा पैसा समेत पठाउन थाले । साउदीमा पनि आफ्नो फुटबलमा भएको क्षमतालाई देखाएर उनले सबैलाई चकित पार्ने गर्थे । तर, उनलाई लामो समय साउदीमा बस्न मन नलागेपछि साउदीसँगै लागुऔषध सेवन छाडेर उनी नेपाल फर्किए ।

नेपाल आएर २०४८ सालमा मीनाकुमारीसँग बिवाह गरे । विवाह गरेको केहि बर्षमै एउटा छोरालाई जन्म दिए । अनि फेरी वैदेशिक रोजगारीका लागि ताइवान र जापान समेत पुगेर केहि बर्ष काम गरेर फर्के । साउदीबाट लागुऔषधलाई चटक्कै छाडेर नेपाल फर्केका गोपाल जापानबाट फर्किएपछि त्यही पुराना साथीहरुसँग भेटघाट बाक्लो गर्न थाले जोसँगको सँगतमा उनी लागुऔषधको दलदलमा फसेका थिए ।

अन्ततः फेरि उनी पहिला कै जसरी लागुऔषधको दुव्र्यशनमा रमाउन थाले । लागुऔषधमै रमाउन थालेपछि गोपालले बिदेशमा कमाएको सम्पति पनि सके । त्यसपछि उनी परिवारलाई धम्क्याउने, घरको समान चोर्दै बेच्ने र त्यो पैसाबाट लागुऔषध किनेर खाने गर्न थाले । उनी दुव्र्यशनमा यतिसम्म फसिसकेका थिए कि लागुऔषधको खान पाएको दिन बाहेक अरुदिन जस्तोसुकै स्तिथिमा पनि उनको अनुहारमा निरशाका कालो बादलले छाडेनन् ।

फेरि उनी पारिवारिक सल्लाहमा २०५४ सालमा जापान जानका लागि सबै प्रक्रिया पूरा गरे । जापान जानका लागि काठमाण्डौको शिक्षण अस्पतालमा पुगेर रगत जचाउँदा एचआइभी पोजिटिभ देखियो । उनको होसहवास् उड्यो । तर आफू सम्हालिए । त्यसपछि उनको जीवनले नयाँ मोड लियो । गोपाल आफूलाई एचआइभी पोजेटिभ भएको थाहा पाएपछि सामाजिक रुपमा उपेक्षाको शिकार समेत बने । समाजमा तिरस्कार र अपमानित पात्रको रुपमा चिनिन थाले । तर सबै खराब अवस्थाबाट पार गर्दै आफूलाई आजको स्थितिमा उभ्याए ।

श्रेष्ठ ४ वर्ष अघि नै सगरमाथा आरोहणमा निस्किसकेका थिए । सबैको साथ सहयोगमा टोली सहित निस्केका उनलाई प्रकृतिको साथ मिलेन ।२०७२ सालमासगरमाथा आरोहणको प्रयास गरेका गोपाल आरोहणकै क्रममो महाभूकम्प गयो । उनीसँगै आरोहणमा गएका ५ जना साथीहरु हिमपहिरोमा परेर मरे तर उनी बाँच्न सफल भए ।

महाविनाशकारी भूकम्पले धेरै आरोहण टोलीको ज्यान गुम्दा भाग्यले भने साथ दिएको भान हुन्छ उनलाई । ‘एचआईभीले नढालेको ज्यान, भूकम्पले पनि ढालेन, अब सगरमाथाको टुप्पोमै पुग्नकै लागि हो ।’ उनलाई यस्तै लाग्छ । ‘हिम्मत, आत्मविश्वास ठूलो छ । त्यसैले साना कुराहरुले ढाल्दैन पनि ।’ त्यतिबेला नेपालमा आएको विनाशकारी भूकम्पका कारण सगरमाथामा हिम पहिरो जाँदा उनको यात्रा बीचमै रोकियो । यसपटक उनी सगरमाथाको सफल आरोही फूर्बा तेञ्जिङ शेर्पाको नेतृत्वमा निजी शेर्पा दाकिपा शेर्पाका साथ सगरमाथा आरोहणको तयारीमा मज्जैले लागे ।

यसबीच, दोस्रो चरणको ‘स्टेप अप क्याम्पेन’ अभियान पनि सञ्चालन भयो । सगरमाथा चढ्ने पूर्वतयारीका लागि उनले केही हिमालको सफल आरोहण गरिसकेका छन् । उनले २०१३ मा थोरोङ्ल्ला पास (५,४१७ मिटर), आइल्याण्ड पिक (६,१८९ मिटर) र सन् २०१६ मा भर्जिन पिक (६,६४६ मिटर) चढेर कीर्तिमानी कायम गरिसकेका छन् ।

http://gandaknews.com/gopal-stha/

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ