पोखरा, १ मंसीर । कास्की २ मा उपनिर्वाचन जितेर प्रतिनिधिसभा सदस्य बनेकी विद्या भट्टराईले आफ्नो साढे दुई वर्षको कार्यकाल सक्रियतापूर्वक बिताइन् । बीचमा कोरोना महामारीमा पनि उनी स्वास्थ्य सरोकारका विषयलाई लिएर सरकारको ध्यानाकर्षण गराइरहिन् ।
संसदमा जनताका आवाज र सरोकारका विषय राख्न उनी सक्रिय भएर लागिन् । उनको चासोको क्षेत्र स्वास्थ्य पनि रह्यो । उनीसँग संसदको शिक्षा तथा स्वास्थ्य समितिमा बसेर पनि काम गरेको अनुभव छ । भट्टराई पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुनुपर्ने बताउँछिन् । उनले संसदमा पनि महिला र गुणस्तरीय स्वास्थ्यबारे सरकारको ध्यानाकर्षण गराइरहिन् ।
स्वास्थ्यबारे विद्या भट्टराईको दृष्टिकोण के ? उनको भनाइ जस्ताको तस्तै पढौँः
सबैको पहुँच र गुणस्तरीय सार्वजनिक स्वास्थ्य सेवाको विस्तार आजको प्रमुख चुनौती हो । प्रजनन् स्वास्थ्य सेवा विस्तार गरी नागरिकको मौलिक हकको प्रत्याभूत हुने गरी स्वास्थ्य सेवा प्रदान गर्ने सवाल प्राथमिकतामा परेको छैन ।
दुर्गम भेगका महिला सुत्केरी र गर्भवती भएर ज्यान गुमाउनुपर्ने अवस्थामा हुनुहुन्छ । यो अवस्था र विद्यमान समस्यालाई कसरी निराकरण गर्ने भन्ने विषयमा अझै पनि ध्यान पुगेको देखिँदैन । स्वास्थ्य सेवा प्राप्त गर्नुपर्ने अधिकारलाई सरकारले अधिकारमुखी अवधारणाको आधारमा प्राथमिकतामा नराख्ने र त्यो मान्यतालाई स्वीकार गर्न नसक्ने हो भने हामी लोकतन्त्रलाई कसरी संस्थागत गर्न सक्छौँ ।
खास गरी जलवायु परिवर्तनका कारण विभिन्न खाले महामारीबाट ग्रस्त हुनुपरेको अवस्था छ । हाम्रो संविधानले स्वास्थ्य जनताको मौलिक हक हो भनेको छ । हामी लोक कल्याणकारी राज्यको अवधारणाबाट अघि बढ्न खोजेका छौँ र साँच्चै समाजवाद उन्मुख राज्यको परिकल्पना गरेका छौँ भने त्यसमा स्वास्थ्य एउटा महत्वपूर्ण पक्ष हो । किनकि संविधानले नै यसलाई मौलिक हकको रुपमा परिभाषित गरिसकेको छ ।
सार्वजनिक स्वास्थ्यमा आम नागरिकको पहुँच कसरी वृद्धि गर्ने भन्ने चुनौती हामीसँग छ । म कास्की क्षेत्र नम्बर २ को कुरा गर्छु । यहाँ अहिले पनि ठूला सार्वजनिक अस्पताल छैनन् । जसका कारण कोभिड १९ महामारीमा यस क्षेत्रका जनताले असाध्यै धेरै पीडा भोग्नुपरेको पीडा मैले देखेको छु । हामीसँग निजी अस्पताल त छन् र तिनका आफ्नै नीतिगत व्यवस्था छन् । त्यो व्यवस्थालाई सरकारले अहिलेसम्म अनुगमन र नियमन गर्न सकेको छैन ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हाम्रो गण्डकी प्रदेशकै महत्वपूर्ण अस्पताल हो । सेवा प्रवाह गरिरहेको भए पनि व्यवस्थित ढंगले पहुँचयोग्य बन्न सकेको छैन । त्यहाँको स्वास्थ्य प्रवाहको गुणस्तरीयता अझै पनि छलफलको विषय हो ।
कोभिड, डेंगुजस्ता महामारीमा कसरी स्वास्थ्य सेवा प्रवाह गर्ने भन्ने विषयमा अझै पनि राज्यको ध्यान जान सकेको छैन । जलवायु परिवर्तनले जलवायुमात्रै होइन स्वास्थ्य संकट पनि निम्त्याइरहेको छ । स्वास्थ्य संकट अन्त्य गर्न अब राज्यले ध्यान दिनु जरुरी छ ।
महानगरपालिकाभित्र रहेका स्वास्थ्य केन्द्रलाई सबलीकरण गर्न जरुरी छ । कति स्वास्थ्यचौकी आज पनि आफ्नो भवन निर्माण गर्न नसकेर बसिरहेका छन् । पोखरा २१ को स्वास्थ्य केन्द्रलाई डेडिकेटेड सेन्टर बनाउनुपर्छ भनेर सुरु गरेका छौँ । अर्मलामा रहेको स्वास्थ्य केन्द्रमा पूर्वाधार छैन जसले गर्दा २४ घण्टा स्वास्थ्य सेवा दिन सकेका छैनौँ ।
बाटुलेचौरको मातृशिशु मितेरी अस्पतालमा पनि जति जनशक्ति हुनुपर्ने हो त्यसको अभाव छ । हरेक व्यक्ति शारीरिक, मानसिक रुपमा स्वस्थ हुनुपर्ने कुरा र विश्व स्वास्थ्य संगठनले भनेको बहुआयमिक स्वास्थ्यको कुरा गर्दा यो क्षेत्रलाई मजबुत बनाएर अघि बढ्न सक्नुपर्छ । मैले स्वास्थ्य क्षेत्रमा काम गर्ने सरोकारवालासँग छलफल गरेर कास्कीको स्वास्थ्य सेवालाई कसरी चुस्त बनाउने भन्नेमा म निरन्तर लागिरहने छु ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)