पोखरामा सुन पसलबाट दिनदहाडै चोरी गरी महिला फरार [भिडियो]

पोखरामा सुन पसलबाट दिनदहाडै चोरी गरी महिला फरार [भिडियो]

Pame chapakot

पोखराको जिरो किमिस्थित पामे चापाकोट सुनचाँदी दुकानमा गत शुक्रबार (पुस १६ गते) सिक्री चोरी गरी फरार महिला अझै पक्राउ पर्न सकेकी छैनन् । सिसीटिभी फुटेजमा स्पष्ट देखिएकी महिला चार दिन बित्दा समेत प्रहरीले पक्राउ गर्न नसकेको हो ।

१ लाख जति पर्ने एउटा सिक्री किन्ने बहानामा महिलाले गोजीमा हालेर फरार भएकी थिइन् । यसबारेमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीलाई सोध्दा घटनाबारे आफूलाई थाहा नभएको बताए । कन्ट्रोलमा समेत बुझ्दै डिएसपी तिवारीले भने– ‘यस सम्बन्धमा हामीलाई कुनै पनि खबर छैन । कन्ट्रोलमा पनि खबर रहेनछ । सम्बन्धितले यदि खबर नगर्नुभएको हो भने गर्नुहोला ।’

तर, दुकानका सञ्चालक केशव घतानेले भने आफूले प्रहरीलाई तत्काल जानकारी गराएको बताए । यस विषयमा उक्त क्षेत्र हेर्ने वडा प्रहरी कार्यालय बैदाममा बुझ्दा कार्यालय प्रमुख डिएसपी चिनिमाया तामाङले वडामा निवेदन आएको बताइन् । ‘हजुर, चोरी भएको निवेदन परेको छ । हामीले सिसिटिभी फुटेजको आधारमा महिलाले प्रयोग गरेको ट्याक्सी चालकसँग समेत बुझ्यौँ । ट्याक्सीले झारेको ठाउँमा पनि २ जनासँग बुझ्यौँ । खोजी कार्य जारी छ । अनुसन्धान हुँदैछ ।’

घटना भएको ४ दिनसम्म भएको प्रगति विवरण भने यति नै हो । अहिलेसम्म ति महिला को हुन् ? चोरेर कहाँ फरार भईन् ? केही पत्तो लागेको छैन । सिसीटिभी फुटेज भिडियो नै सार्वजनिक गरी सञ्चालक आफै खोजीकार्यमा जुटेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

घटना विवरणः

पुस १६ गते, शुक्रबार दिउँसो ४ः३४ बजे पहेँलो टिसर्ट, कालो ज्याकेट, खैरो सुरुवाल र साइडबाट लेडिज ब्याग भिरेकी, मास्की लगाएकी मोटीघाटी शरीरकी युवती पोखराको जिरो किमिस्थित पामे चापाकोट सुनचाँदी दुकानमा पसिन् ।

पसलमा संचालक केशव घताने र उनका बुबा थिए । महिलाले सिक्रीहरु हेरिन्, आफ्नो डिजाईन अनुसार नभएको भनेपछि महिलाले भने बमोजिमको सिक्री लिन केशव पृथ्वीचोकस्थित मामाको पसल हिँडे । पसलमा केशवका बुवा मात्रै रहे । त्यसपछि महिलाले बुवासँग फेरि सिक्रीको बाकस मागेर हेर्न थालिन् । बक्समा ५ वटा सिक्री भएकोमा छानेर ठूलो सिक्री गोजीमा हालिन् । त्यसपछि ‘सिक्री ल्याउन ढिला हुने होला, हतार भयो’ भनेर १ मिनेटभित्रैमा पसलबाट निस्किन् । दौडँदै ट्याक्सीमा पुगिन् ।

महिलाले अर्डर गरे बमोजिमको सिक्री लिन गएका केशव फर्कँदा महिला थिइनन् । सिक्री राखिएको बाकसमा ठूलो सिक्री पनि गायब थियो । बुवालाई सोध्दा आफूले नबेचेको र थाहा नभएको बताए । त्यसपछि महिलाले नै सिक्री लगेको शंका लागेपछि सिसीटिभी फुटेज हेर्दा चोरेको पुष्टि भयो ।

केशवले प्रहरीलाई खबर गरे । सिसिटिभी फुटेजको आधारमा प्रहरीले अनुसन्धान गर्दा महिला ग१ज १४६० नम्बरको ट्याक्सीमा चढेर गएको पत्तो लाग्यो । ट्याक्सी चालकलाई सम्पर्क गरी बुझ्दा आफूले भाटभटेनीबाट लेकसाईड जाने भनेर लगेको, जिरो किमिमा आइपुग्दा रोकेर सुन किनेर आउँछु भनेर वेटिङमा राखेको, १५ मिनेटपछि फर्किएको र लेकसाईडमा लगेर छाडेको भन्ने बयान दिए ।

महिला झरेको ठाउँमा २ घरका मानिसहरुसँग बुझ्दा नचिनेको बताएको प्रहरीलाई उदृत गर्दै सञ्चालक केशवले बताए । ‘ति महिला पहिले आ’को जस्तो त लागेन । म नहुँदा वृद्ध बुवा देखेपछि उहाँलाई झुक्काउन सक्ने लागेर फेरि सिक्री मागेको जस्तो लाग्छ । बुवा पछाडि जानुभएको बेला चोरी गर्न पनि सहज भयो ।’ केशवले भने – ‘त्यो दिन मौखिक जानकारी भयो, भोलिपल्ट शनिबार वडा प्रहरी कार्यालय पुगेर निवेदन पनि दिएको छु । प्रहरीले पनि सर्च गरिरहेको भन्नुहुन्छ । सिसीटिभी फुटेजमा सबै स्पष्ट देखिएको छ । अझै पत्ता लगाउन सक्नुभएको छैन ।’

पोखरा २३ पामेका केशवले १० वर्ष अघि देखि जिरो किमिमा सुनचाँदी दुकान सञ्चालन गर्दै आएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ