गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित नौ मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक भएको छ । ११ सदस्यीय मन्त्रीमण्डलमा नौ जनाले दुई महिनापछि सार्वजनिक गर्दा दुई जनाले अझै सार्वजनिक गरेका छैनन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफिसियल वेबसाइटमार्फत मंगलबार नौ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । युवा तथा खेलकुदमन्त्री दीपक मनाङे र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर बुढाले सम्पत्ति विवरण बुझाएका छैनन् ।
मन्त्रीको सम्पति सार्वजनिक भएपछि मुख्यमन्त्रीको २५ लाख ऋण, अर्थमन्त्रीको निफ्राको ६० कित्ता शेयरदेखि शिक्षामन्त्री मेखलाल श्रेष्ठको १ किलो १९ तोला सुनको चर्चा व्यापक छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सम्पत्ति
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सम्पत्ति विवरणमा कृषि विकास बैंकबाट २५ लाख रुपैयाँ ऋण देखाएका छन् । तलबबाट आएको पाँच लाख नगद एभरेष्ट बैंकमा रहेको पनि उल्लेख गरेका छन् ।
सुनचाँदी÷जग्गाजमिनको हकमा पाँच तोला सुन र श्रीमती लता पोखरेलको नाममा गैँडाकोटमा २० लाख रुपैयाँको एउटा घर देखाएका छन् । मुख्यमन्त्री पोखरेलको नाममा काठमाडौं र तनहुँमा पनि जग्गा रहेको छ ।
अर्थमन्त्री रामजीप्रसाद बरालको सम्पत्ति
कास्की घर भएका अर्थमन्त्री रामजीप्रसाद बरालले गत वर्ष मात्रै एक करोड रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् । एनआईसी एसिया बैंकबाट लिएको ऋण किन ? भन्ने खुलेको छैन ।
निफ्राको ६० कित्ते शेयरवालाका रुपमा पनि देखाएका छन् । गाई किन्दा ६० हजार, सवारीसाधनको नाममा छोरा बुहारीका २ मोटरसाइकल र १ स्कुटर उल्लेख गरेका छन ।
पोखरामा श्रीमतीको संयुक्त नाममा जग्गा रहेको छ । मन्त्रीले चार तोला सुन रहेको विवरणमा खुलाएका छन् । एभरेष्ट बैंकमा तीन लाख नगद मौज्दात उनले आम्दानी देखाएका छन् ।
कानुन तथा सञ्चार मन्त्री विन्दुकुमार थापाको सम्पत्ति
कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा देखिएका छन् । उनको नाममा पोखराका विभिन्न ६ ठाउँमा घर, ८ ठाउँमा जग्गा रहेको उल्लेख गरिएको छ । पोखराका विभिन्न ठाउँमा दुई श्रीमती, छोराको नाममा जग्गाहरु देखाएका छन् ।
झण्डै दर्जन बैंकहरुमा १० करोड जति बैंक मौज्दात, परिवारको साढे सात लाख कित्ता सेयर सम्पत्ति, १५ तोला हिरा, ९० तोला सुन, ५० तोला चाँदी । पोखराका परिचित व्यवसायी रहेका उनीसँग दुईवटा गाडी, होटेल, ट्रेड हाउस, मल, रिसोर्टलगायतमा लगानी रहेको स्पष्ट पारेका छन् ।
पाँच वित्तीय संस्थामा ऋण पनि देखाएका छन् भने घरमा नगद ५५ हजार रुपैयाँ रहेको उल्लेख गरेका छन् ।
शिक्षामन्त्री मेखलाल श्रेष्ठको सम्पति
गण्डकीका शिक्षा तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठसँग एक किलो १९ तोला सुन छ । सात किलो दुई तोला चाँदी र एकथान हीराको औँठी मन्त्री श्रेष्ठले सम्पत्ति विवरणमा देखाएका छन् ।
१५ लाख नगद रहेका मन्त्री श्रेष्ठले आफ्नो सम्पतिको स्रोत पैतृक तथा पेवा उल्लेख गरेका छन् ।
स्याङ्जाको भिरकोट र काठमाडौंको नागार्जुनमा पक्की घर, स्याङ्जा, काठमाडौं र कास्कीको छिनेडाँडामा जग्गा रहेको उल्लेख गरेका छन् ।
ऊर्जामन्त्री हरिशरण आचार्यको सम्पत्ति
ऊर्जामन्त्री हरिशरण आचार्यले कृषि विकास र प्रभु बैंकबाट लिएको ५० लाख ऋणमा अझै ४० लाख तिर्न बाँकी उल्लेख गरेका छन् । जुन ऋणमध्ये २० लाखमा फर्निचर उद्योग सञ्चालन गरेको प्रष्टाएका छन् ।
थाँतथलो गोरखाको पालुङटार–२ मा बुवा र श्रीमतीको नाममा घरजग्गा रहेको भनेका छन् । मन्त्री आचार्यले आठ तोला सुन र पाँच तोला चाँदी सार्वजनिक गरेका छन् ।
पर्यटनमन्त्री मणिभद्र शर्माको सम्पत्ति
पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलसँग आफ्नो जन्मठाउँ बागलुङको काठेखोलास्थित लेखानीमा ६ ठाउँमा जग्गा रहेको उल्लेख गरेका छन् । यस्तै, चितवनमा पाँच ठाउँ, रुपन्देहीमा नौ तथा इन्द्रकली कँडेलको नाममा चितवनमा नै तीन ठाउँमा जग्गा देखाएका छन् ।
मन्त्री कँडेलसँग बागलुङ नगरपालिकामा ४८ लाख ५० हजारमा किनेको घर छ । २५ तोला सुन तथा एक किलो चाँदी, आफ्नो नाममा ६ लाख नगद तथा इन्द्रकली कँडेलको नाममा झन्डै दुई लाख रुपैयाँ नगद मौज्दात देखाएका छन् ।
झन्डै ८७ हजार कित्ता सेयर देखाएका उनले दुई करोड ६७ लाख ऋण रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काको सम्पत्ति
भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काको नाममा पोखरा महानगरपालिका १६ मा घर छ । यो पैत्रिक सम्पतिमा स्वआर्जन जोडेका छन् ।
विभिन्न वित्तीय संस्थामा एक करोड बढी नगद मौज्दात, ९५ तोला सुन, ५६ लाखको सेयर तथा ८५ लाख ऋणमा लगाएको पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
बनमन्त्री दीपक थापाको सम्पत्ति
बनमन्त्री दीपक थापा चर्ती मगरले स्याङ्जाको बिरुवा गाउँपालिका–२ मा ५० हजार रुपैयाँमा घर किनेको उल्लेख गरेका छन् । उनले पोखरा महानगरपालिका १४ मा ४० लाखको जग्गा पनि किनेको विवरण सार्वजनिक गरेका छन् । सांसद हुँदाको तलब, छोराको आर्जन र विदेशमा रहेका छोराछोरीले पठाएको भनेर खुलाएका छन् ।
मन्त्री थापासँग ३० तोला सुन र २० तोला चाँदी पैतृक सम्पत्ति छ । ६१ लाख ५० हजार ऋण देखाएका उनले चर्ती नर्सरी उद्योग खोलेर चियाका बिरुवा उत्पादन गर्दै आएको पनि उल्लेख गरेका छन् ।
स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङको सम्पत्ति
स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङको नाममा लमजुङको दूधपोखरीमा घर छ । यस्तै, लमजुङ, चितवन र हेटौँडामा गरी चार ठाउँमा जग्गा रहेको पनि उल्लेख गरेकी छन् । तीन तोला सुन तथा आठ लाख ६० हजार नगद मौज्दात रहेको पनि उल्लेख गरेकी छन् । उनी ११ सदस्यीय मन्त्रीपरिषद्मा एक्लो महिला मन्त्री हुन् ।
सम्बन्धित खबर
गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
नागीधार महोत्सव एक दिन थप
अध्यादेश ल्याउनु अहिलेको आवश्यकता हो : सञ्चारमन्त्री गुरुङ
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
तेस्रो वडा अध्यक्ष कपको उपाधि बौदीकालीलाई
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर