गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

prithbi-subba

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । भोलि उनीविरुद्ध परेको अविश्वास प्रस्तावमाथि मतदान हुँदैछ । प्रदेशसभामा अल्पमतमा परेपछि उनले राजीनामा दिएका हुन् ।

कोरोना संक्रमण भएर आइसोलेटेड भएका मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सीता कुमारी पौडेलसमक्ष आइतबार अपरान्ह ३ बजे राजीनामा पत्र बुझाएका हुन् ।

एमाले र माओवादी एकीकृत भएर नेकपा बन्दा दुई तिहाई बहुमतका साथ सरकार चलाएका गुरुङ पार्टी विभाजनपछि अल्पमतमा परेका थिए । पृथ्वीसुब्बा सरकार विरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ सांसदले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । गुरुङलाई साथ दिँदै आएको राष्ट्रिय जनमोर्चाका ३ सांसदले पनि समर्थन फिर्ता लिएपछि सरकार ढल्ने पक्का भएको थियो । विपक्षमा ३१ सांसद भएपछि टुप्लुक्क बहुमत पुग्छ ।

एक त अल्पमतमा परेपछि सरकार नरहने, अर्को त अविश्वासको प्रस्ताव दर्ज हुँदा आफू विरुद्ध लगाइएका अभियोगको जवाफ कोरोना संक्रमण भएकाले दिन नपाउने भएपछि अघिल्लो दिन नै राजीनामा दिने मनसायमा गुरुङ पुगेको उनी निकटस्थ श्रोतले बतायो ।

यसबीचमा उनले आफ्नो सरकारलाई बहुमतमा टिकाइराख्न विभिन्न प्रयास पनि गरे । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सल्लाहका लागि काठमाण्डौ पनि पटक पटक पुगे । आफूले साथ पाइरहेको राष्ट्रिय जनमोर्चा पार्टीको केन्द्रकै कारण ३ सांसद प्रदेशमा पनि आफ्नो समर्थनमा नरहने भएपछि एमाले स्वतन्त्र सांसद राजीव गुरुङसहित २८ सांसदमा सीमित हुन पुगेको थियो । एमालेका २७ सांसदमा पनि १ सांसद माधव नेपाल पक्षका हुन् । त्यसकारण पनि कर्णालीमा झैं फ्लोर क्रसको डर यसै थियो । विरोध खेप्नै तयार भएर पनि स्वतन्त्रण जितेका राजिव गुरुङ उर्फ दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्ती नै बताए ।

वैशाख १५ गते नै मुख्यमन्त्री गुरुङ विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको छिनोफानो हुने थियो । तर निर्णयार्थ पेश हुने दिन नै राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेखबर बेपत्ता भएपछि पिएस सरकार ११ दिन लम्बिन पुगेको हो । सोहि दिन शाही भने चरक हस्पिटलमा भर्ना भएका थिए । उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । जुन अहिलेसम्म विवादित रहेको छ । यद्यपी, शाहीले अविश्वासकै पक्षमा मत हाल्ने जिकिर गरेका छन् । यो राजीनामाले सबैभन्दा बढी राहत त उनै शाहीलाई मिलेको छ । प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको सत्तारोहण सपना नजिकिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ