पार्टी फुट्दैन, लकडाउनपछि एकताको बाँकी काम पूरा गर्छौं : राजेन्द्र महतो

पार्टी फुट्दैन, लकडाउनपछि एकताको बाँकी काम पूरा गर्छौं : राजेन्द्र महतो

Rajendra-Mahato

काठमाडौं । ‘जनता समाजवादी पार्टी’का नेता राजेन्द्र महतोले लकडाउन सकिएपछि एकताको बाँकी प्रक्रिया पूरा गर्ने बताएका छन् ।

बिहीबार बिहान दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका महतोले पत्रकारहरुसँग कुरा गर्दै अहिले कोरोना भाइरसबाट जीवन रक्षा गर्ने काम प्राथमिकतामा परेकाले एकताको बाँकी काम पछि गर्ने बताए । उनले भने, ‘पहिले जनताको जीवन रक्षा गर्नुपर्‍यो । लकडाउनपछि एकताको बाँकी प्रक्रिया पूरा गर्छौं ।’

उनले समाजवादी र राजपाबीच सम्मानजनक एकता भएको दाबी गरे ।

बुधबार राति समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो । नेताहरुको पद बाँडफाँट गरिएको छैन । एकतापछि पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ भने झण्डा समाजवादीको र चुनावचिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ ।

यो एकताबाट पार्टीका कतिपय नेताहरु असन्तुष्ट रहेको र उनीहरुले पार्टी फुटाउने चर्चा चलिरहेको बेला नेता महतोले भने पार्टी नफुट्ने दाबी गरे ।

महतोले पत्रकारहरुसँग भने, ‘राजपा र समाजवादीमा फुट हुने कुनै सम्भावना छैन । सबै सम्मानजनक एकता गरेका छौं ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds